काठमाडौं– चाकडी र घुस दिन नसकेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राजीनामा पत्र बुझाएका डा ध्रुबराज अधिकारीले कानुनी प्रक्रिया र प्रशासनिक विषयवस्तुको अज्ञानताका कारण स्वास्थ्य सेवा ऐन अनुसार काम गर्न नसकेको स्विकार गरेका छन्।
वीर अस्पतालका न्यूरो सर्जन डा अधिकारीले प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य ऐन अनुसार काम गर्न नसकेको भन्दै गल्ती स्विकार गरेका हुन्। उनले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा भएको पदस्थापनामा त्यसै बेला रमाना लिई हाजिर हुनु पर्नेमा कानुनी प्रक्रिया र प्रशासनिक विषयवस्तुको अज्ञानताबस उक्त अस्पतालमा हाजिर हुन नगएका कारण समस्या सिर्जना भएको जनाएका छन्।
उनले आफूले बुझाएको राजीनामा पत्रमा उल्लेख गरेको चाकडी र घुसको विषयमा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई लक्षित नभएको पनि विज्ञप्तिमा प्रष्ट पारेका छन्। मन्त्रीले चाकडी र घुस नमागेको स्पष्ट पारेका डा अधिकारीले बिचौलियाले भने घुस र चाकडीको माग गरेको कुरा भने उल्लेख गरेका छन्। यद्यपी विज्ञप्तिमा ती व्यक्तिको नाम भने उल्लेख गरेका छैनन्।
‘त्यस राजीनामा पत्रमा को व्यक्तिबाट चाकडी र घुसको माग भएको भन्ने उल्लेख गरेको छैन। अन्य मसँग सिधा सम्पर्क गर्ने पत्रकार मित्रहरुलाई बिचौलियाले माग गरेको प्रष्ट बनाएको छु। जसको खोजिनिति तथा स्पष्ट पहिचान हुन बँकी नै छ’ उनले विज्ञप्तीमा लेखेको छन्, ‘त्यसैले मैले उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्रीले नै घुस मागेको भन्यो भन्ने भ्रमलाई चिर्दै यो मिस अन्डरस्ट्यान्डिङलाई क्लियर गरी यो प्रस्तुतीबाट उहाँको छवि तथा गरिमामय राजनीतिक क्यारियरमा पर्न गएको असर प्रति अत्यन्त दु:खी तथा क्षमताप्राथी छु।’
उनले स्वास्थ्य क्षेत्रमा मौलाएको बिचौलियालाई समयमा नै पहिचान गरि संस्थालाई बचाउन अपील समेत गरेका छन्।
डा अधिकारीले राजीनामामा चाकडी र घुसको कुरा उल्लेख गरेपछि मन्त्री यादवले त्यसलाई प्रमाणित गर्न चुनौती दिएका थिए। मन्त्रालयमा नै बोलाएर मन्त्री यादवले घुस माग्ने व्यक्तिको नाम उपलब्ध गराउन समेत भनेका थिए। तर, उनले ती व्यक्तिको नाम भने अझै खुलाएका छैनन्।
वीर अस्पतालका न्यूरो सर्जन डा अधिकारीलाई सरकारले वीर अस्पतालबाट पोखरामा सरुवा गरेको थियो। ८ औं तहमा कार्यरत डा अधिकारी नवौं तहमा बढुवा भएपछि गत चैत १८ गते पोखरामा पदस्थापना गरिएको थियो।
स्वास्थ्य सेवा ऐन अनुसार बढुवा भएर पदस्थापना भएको कर्मचारी खटाएको स्थानमा पुगेर हाजिर गर्नुपर्ने हुन्छ। डा अधिकारी बढुवा भएको समयमा वीर अस्पतालमा नवौँ तहको दरबन्दी खाली थिएन। दरबन्दी खाली नभएपछि स्वास्थ्य मन्त्रालयले उनलाई पोखराको क्षेत्रिय अस्पतालमा पठाएको थियो।
तर, डा अधिकारी वीर अस्पतालमा नै हाजिर गर्ने अडानमा रहँदै आएका थिए।
डा अधिकारीको बढुवा हुँदा दरवन्दी खाली नभए पनि केही समयअघि अस्पतालका अर्का न्यूरो सर्जन डा गोपालरमण शर्माले राजीनामा दिएपछि वीरमा दरवन्दी खाली भएको थियो। वीरमा दरवन्दी खाली भएपछि डा अधिकारीले पुन उक्त पदमा आफूलाई पदपूर्ती गर्न आग्रह गरेका थिए।
मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले डा अधिकारीले पहिला पोखरामा गएर हाजिर गर्नुपर्ने र त्यसपछि मात्र आवश्यकताका आधारमा अन्य स्थानमा सरकारले ल्याउन सक्ने नियम रहेको बताए।
‘उहाँले पोखरामा गएर हाजिर मात्र गरेर फेरी यता आउन आवश्यक पहल गरेको भयो ऐन अनुसार काम गर्न सजिलो हुन्थ्यो,’ उनले भने, ‘तर उहाँले ऐन विपरित दरवन्दी नै नभएको स्थानमा नै बस्छु। पदस्थापन गरिएको स्थानमा जान्न भन्नु भएको रहेछ।’
डा अधिकारीले चाकडी र घुसको आरोप लगाएपछि मन्त्रालयले यो विषयमा खण्डन गर्दै प्रेस विज्ञप्ति नै जारी गरेको थियो।
विज्ञप्तिमा पनि ‘पदस्थापन भएको कार्यालयमा १ पटक हाजिर भै आए पश्चात मात्र वीर अस्पतालमा सरुवा गर्न नियमानुसार प्रक्रिया पुग्नेहुँदा सो विषयमा मौखिक जानकारी बारम्बार दिइएकोमा उक्त कुराको अवज्ञा गरि राजीनामा बुझाएको व्यहोरा सर्वसाधरणको जानकारी लागि विज्ञप्ति जारी गरिएको’ उल्लेख छ।
