काठमाडौं- काठमाडौं विश्वविद्यालय (केयू)को एमबिबिएस तर्फ मनाली भट्टले टप गरेकी छिन्। काठमाडौं नयाँ बानेश्वर निवासी भट्टले केयू अन्तर्गत रहेका सबै मेडिकल कलेजका विद्यार्थीलाई उछिन्दै टपर बनेकी हुन्।
केयू अन्तर्गतको नेपाल मेडिकल कलेजमा अध्ययनरत भट्टले एमबिबिएसमा सबैभन्दा बढी ८१ दशमलव ५७ प्रतिशत अंक ल्याएकी छिन्। उनलाई शुक्रबार केयूमा भएको २४ औं दीक्षान्त समारोहमा गोल्ड मेडल प्रदान गरिएको छ।
केयूका सहकुलपति समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले भट्टलाई भाइस चान्सलर स्वर्णपदक प्रदान गरेका हुन्।
सानैदेखि पढ्नमा अब्बल भट्टले सरकारी छात्रवृत्तिमा एमबिबिएस पढ्ने अवसर पाएकी हुन्। उनले धापासीस्थित त्रियोग स्कुलबाट एसएलसी र सेन्ट जेभियर्स कलेजबाट प्लस टु अध्ययन गरेकी हुन्।
गोल्डमेडल पाएकी उनले खुसी हुँदै भनिन्, ‘सानैदेखि डाक्टर बन्ने लक्ष्य पुरा भएको छ। अब सरकारी बोन्ड अनुसार सरकारले खटाएको अस्पतालमा गएर बिरामीको सेवा गर्छु।’
उनले सर्जरी विषयमा विशेषज्ञता हासिल गर्ने लक्ष्य लिएकी छिन्।
