चितवन - उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वदेशी औषधि उद्योगको प्रबर्द्धन गर्न आफू प्रतिबद्ध रहेको बताएका छन्।
चितवनमा शुक्रबार भएको नेपाल औषधि उत्पादक संघ (एपोन)को २४औं वार्षिक वार्षिक साधारणसभामा मन्त्री यादवले सरकारले स्वदेशमा नै औषधि उत्पादन गरी आत्मनिर्भर हुने नीति लिएको जानकारी दिए।
‘गुणस्तरमा सरकारले कुनै पनि सम्झौता गर्दैन,’ कार्यक्रममा उनले भने, ‘त्यसकारण गुणस्तरीय स्वदेशी औषधिको प्रबर्द्धन गर्न भने म प्रतिबद्ध छु।’ उनले नेपालमा नै प्रशस्त मात्रामा उपलब्ध हुने औषधिहरुको विवरण उपलब्ध गराउन पनि आग्रह गरेका छन्।
‘कुन कुन औषधिमा नेपाल आत्मनिर्भर भएको छ भन्ने विवरण मलाई उपलब्ध गराउनुहोला,’ उनले भने, ‘हामी गुणस्तर, उपलब्धता र वितरणको अवस्था हेरेर विदेशबाट आउने त्यस्तै औषधिको आयात कडाई गर्न तयार छौं।’
औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले स्वदेशी उद्योगीहरुसँग सहकार्य गरेर विभाग काम गर्न तयार रहेको बताए। उनले नेपाली औषधिको प्रबद्र्धनका लागि विभागले पनि आवश्यक काम अगाडि बढाएको जानकारी दिए।

नेपाल औषधि उत्पादक संघका अध्यक्ष दीपकप्रसाद दाहालले सरकारले नेपाली उद्योगलाई प्रोत्साहन गर्दै आत्मनिर्भर औषधिको आयातमा कडाई गर्ने हो भने दुई तीन वर्षमा नै नेपाली औषधिको बजार हिस्सा ७० प्रतिशतभन्दा माथि पुग्ने बताए।
‘हामी हरेक कुरामा सक्षम छौं । त्यस कारण यही समयलाई सदुपयोग गरेर नेपाली उद्योगलाई अगाडि बढाउने नीति कार्यानवयन गर्न सके औषधिमा सहजै आत्मनिर्भर हुन सकिन्छ’ उनले भने, ‘औषधि उद्योग प्राविधि क्षेत्र भएकाले कम्पनीहरुमा प्रयोग हुने प्राविधिक उपकरण तथा सामाग्री आयातमा भन्सार छुट दिनुपर्छ ।’ उनले सरकारको प्राथमिकता बढ्दै जाने हो भने कम्पनीले पनि ढुक्कसँग लगानी र उत्पादन बढाउँदै लैजाने बताए।

एपोनको तथ्यांक अनुसार लामो समयदेखि नेपालको कुल औषधि बजारमा नेपाली उत्पादनको हिस्सा ४५ प्रतिशतको हाराहारीमा सीमित छ। विदेशी औषधिको हिस्सा बढी हुनुको पछाडि सरकारी नीति नै प्रमुख कारण भएको एपोनको ठहर छ। गुणस्तरका हिसाबमा नेपाली उत्पादन विश्वका कुनै पनि कम्पनीको उत्पादनसँग कम नभएको नेपाली उत्पादक बताउँछन्।
विभिन्न ७७ प्रकारको औषधिमा नेपाल आत्मनिर्भर भइसकेको एपोनका सदस्य विप्लव अधिकारी बताउँछन् । उनका अनुसार नेपालमा हाल ५३ वटा नेपाली औषधि कम्पनी सञ्चालित छन्। ती सबै कम्पनीमा कुल २२ अर्बको लगानी रहेको छ।
