प्यूठान– प्यूठानको नौवहिनी गाउँपालिका ८ फोप्लीका १६ बर्षिय दिल बहादुर पुनको उपचार सुरु गरिएको छ। ६५ वर्षका बुवाले दुबै आँखा देख्दैनन्, आमा गएको असार ४ गते सदाका लागि गुमाउनुपर्यो। १२ बर्षीय ताजिमा, ८ बर्षीया खेमसरी र ४ वर्षीय भाइ र आफू सहित ५ जनाको परिवारलाई भारी बोकेर साँझ बिहान हातमुख जोर्ने जिम्मा उनकै थियो। बेला–बेला बेहोस हुने दिल बहादुर हिड्न नमिल्ने, हात सिधा नहुने, जिब्रो लरबराउने समस्याले ढलेपछि परिवारको बिचल्ली भएको थियो।
आर्थिक अभावले उपचार गराउन नसकेका दिलबहादुरको स्वास्थ्यखबर डटकममा समाचार प्रकाशन भएपछि सहयोग संकलन अभियान सञ्चालन गर्दै अहिले चितवनमा उनको उपचार सुरु भएको छ।
कसरी सुरु भयो उपचार
स्वास्थ्यखबरमा उनको पिडादायी अबस्थाको समाचार प्रकाशनमा आएपछि जिल्ला अस्पताल बिजुवारका प्रमुख डा. अच्यूतराज कार्कीले समाचार पढेर हामीलाइए सम्पर्क गरेका थिए। उनले तत्कालै जिल्ला अस्पतालमा ल्याउन सुझाव दिए। त्यसपछि हामीले उनको परिवारलाई खबर गरेर जिल्ला अस्पताल ल्यायौं। जिल्ला अस्पताल बिजुवारमा डा. कार्कीकै नेतृत्वमा निःशुल्क प्रारम्भिक जाँच सुरु गरियो। उनको सम्पूर्ण ल्याब रिपोर्ट पछि कार्कीले टाउकाको सिटिस्क्यान गर्नुपर्ने भन्दै उक्त सुविधा भएको ठाउँमा लैजना सुझाए। दिलबहादुरको परिवारको अवस्थालाई देखेर डा. कार्कीले आफूले ५ हजार रुपैयाँ सहयोगको घोषणा गरे।
जनप्रतिनिधिकै नेतृत्वमा दिलबहादुर बचाउ समिति गठन
कलिलो १६ वर्षको बालक, परिवारमा भएको बिचल्लीको बिषयमा वडा कार्यालयले जानकारी पाएपछि उनको उपचारको लागि बैठक नै राखेर नौबहिनी गाउपालिका वडा नम्बर ८ का वडा सदस्य भिमकुमार पुनको नेतृत्वमा सहयोग समिति गठन गरेको छ। सहयोग समितिले गाउँमा सहयोग माग्दै उनलाई बचाउन अभियान नै सञ्चालन गर्यो। गाउँलेहरुले सहयोग गरेको पन्ध्र हजार सहित उनलाई चितवन पठाइयो।
डा. समीरले लगे अस्पताल
दिल बहादुरको बिषयमा स्वास्थ्य खबरमा प्रकाशित समाचार पढेपछि चितवनमा रहेका डा. समीर लामाले हामीलाई सम्पर्क गरि दिलबहादुरकोे उपचारको बिषयमा चासो ब्यक्त गरे। जिल्ला अस्पताल बिजुवारमा लामो समय काम गरिसकेका डा. समीरले चितवन पठाउन आग्रह गरे। जिल्ला अस्पताल बिजुवारका प्रमुख डा कार्की, दिलबहादुरका अभिभावक, सहयोग समितिका संयोजक, डा लामा र हाम्रो संयुक्त सल्लाह पछि उनलाई थप उपचारका लागि चितवन लगियो।
उनको चितवनमा सिटिस्क्यान पछि उनलाई ब्रेन ट्युमर भएको डाक्टरहरुले बताए। उनको उपचारको लागि कम्तिमा एक लाख रुपैयाँ लाग्न सक्ने डा. लामाले बताए। उनको टाउँकामा रहेको ट्युमरलाई अप्रेसन गरि निकाल्ने उनले बताए। उनको सोमबार अप्रेशन हुँदैछ। आर्थिक अभावका कारण सहयोग समितिले उठाएको १५ हजार बोकेर चितवन पुगेका दिलबहादुरलाई डा लामाले भेट गरी अस्पताल र डाक्टरहरुलाई निःशुल्क अप्रेशन गर्न सहयोग माग्दै आफैं अस्पताल लगेर भर्ना समेत गरेका छन् भने व्यक्तिगत रुपमा पाँच हजार सहयोग समेत गरेका छन् । उनलाई बचाउनका लागि सहयोग समितिले सक्दो सहयोग गर्न आग्रह समेत गरेको छ। उनको उपचारको लागि सहयोग गर्न फोन नं.९८५७८३६६७२ र ९८४४९५४७६६ सम्पर्क गर्न सकिनेछ।