काठमाडौं – देशको एकमात्र कान्ति बाल अस्पतालमा प्याथोलोजिस्टको दरबन्दी नहुँदा बिरामीले सास्ती खेप्नु परेको छ।
अस्पतालमा ११ औँ तहको १ जना र नवौँ तहको २ जना गरेर ३ जना प्याथोलोजिस्टको दरबन्दी भएपनि विगत ५–६ वर्ष देखि दरबन्दी खाली भएको अस्पतालले जनाएको छ।
यो बिचमा एक जना करारमा प्याथोलोजिस्ट आएको भएपनि विगत एक वर्षदेखि उक्त पद खाली रहेको छ।
प्याथोलोजी ल्याबमा अन्य ल्याब टेक्नीसियन र ल्याब असिस्टेन्ट भएपनि प्याथोलोजिस्ट नभएका कारण अरु सामान्य तथा क्यान्सर जस्तो जटिल रोगको पनि टेष्ट गराउन बाहिर पठाउन बाध्य भएको अस्पतालका पेडियाट्रिक अंकोलोजिस्ट डा विष्णुरथ गिरीले बताए।
उनले भने ‘अस्पतालमा प्याथोलोजिस्ट नहुँदा सामान्य भन्दा सामान्य जाँचको लागि पनि बाहिर पठाउनु पर्ने बाध्य छ, अस्पतालमानै प्याथोलोजिस्ट भएको भए बिरामीहरुले सहुलियतमा ल्याब टेष्ट सेवा बिना झन्जट लिन सक्थे।’
गिरीका अनुसार ३ सय २० बेडको अस्पतालमा प्याथोलोजी सेवा कमजोर हुनु दुःखद कुरा भएको बताए।
गिरीले दैनिक ५–६ जना क्यान्सरका बिरामी र अन्य रोगको २० जना भन्दा बढी बिरामीहरुलाई जाँच गर्न बाहिर पठाउनु परेको दुःखेसो पोखे।