काठमाडौं— पछिल्लो समय युवाहरुमा ट्रेकिङ जाने चलन बढेको छ । विशेषगरी युवाहरु समूह बनाई देशभित्रका हिमाली र पहाडी क्षेत्रमा पदयात्रा गर्न जानेको फेसन नै सुरु भएको छ । यसरी घुम्न जानुका पनि आफ्नै फाइदाहरु छन्।
पदयात्रामा गएका व्यक्तिहरुको लेक लागेर वा अन्य स्वास्थ्य समस्या भएर मृत्यु भएको वा बीचबाटै फर्कनु परेको घटना पनि धेरै नै सुन्निछ । ट्रेकिङ जाँदा जति रमाइलो छ, लेक लागेर हुने समस्या पनि डर लाग्दो छ।
ट्रेकिङ मात्र होइन हाम्रो कतिपय तीर्थस्थल गोसाँइकुण्ड, मुक्तिनाथ उच्च भौगोलिक अवस्थामा रहेकोले दर्शनका लागि जाने भक्तालुहरु पनि हरेक समय स्वास्थ्य समस्या पर्छन् । एकैदिनमा बढी उकालो चढ्दा देखिएको समस्याले ज्यान जानेस्थिति आउँछ।
उकालो चढ्दा अपनाउनुपर्ने आधारभूत सावधानी थाहा नपाएर मानिसहरु एकै दिनमा उकालो चढ्ने र समस्यामा पर्ने गरेका छन्।
विदेशतिर बढी प्रचलित माउण्टेन मेडिसिन अर्थात उच्च हिमाली चिकित्सा नेपालमा भने निजिस्तरबाट फाट्टफुट्ट रुपमा विकास हुन थालेको छ।
अहिले पनि हिमाल हेर्न, आरोहण गर्न आउने पर्यटकहरु आफ्नै साथमा माउण्टेन मेडिसिनसम्बन्धीका जानेका चिकित्सक बोकेर आउनुपर्ने स्थिती छ।
नेपाल अहिले पनि उच्च हिमाली मेडिसिनसँग सम्बन्धित चिकित्सकको अभाव छ।
माउण्टेन मेडिसिनलाई विकास गर्न र यसको आवश्यकताबारे चिकित्सा विद्यार्थी, चिकित्सकलाई बुझाउन सन् २००३ मा माउण्टेन मेडिसिन सोसाइटी अफ नेपाल स्थापना भएको थियो । यो चिकित्सकहरुको समूहले सोसाइटी मार्फत उच्च हिमाली चिकित्सासम्बन्धी उपचार गर्न सक्ने चिकित्सक तयार पारिरहेको छ।
यसका संस्थापकमध्येका एक तथा सोसाइटीका अध्यक्ष डा बुद्ध बस्न्यात नेपाल भौगोलिक बनावट पहाड र हिमाली क्षेत्र बढी भएकाले विद्यालयस्तरबाटै माउण्टेन मेडिसिनबारे अध्ययन गराइनुपर्ने बताउँछन् ।
पर्यटनका क्षेत्रमा नेपालमा चिनाउन पनि नेपालमा माउण्टेन मेडिसिनलाई महत्व दिनुपर्ने र यससम्बन्धी नीतिनियम बन्नुपर्ने धारणा डा बस्न्यातको छ।
उनले युवा चिकित्सकहरु जसलाई उच्च हिमाली चिकित्सामा रुची भएका चिकित्सकहरुलाई यस विषयमा अभ्यस्त गराइरहेको बताए ।
उनका अनुसार हिमाल चढ्दा धेरैलाई देखिने मुख्य समस्या भनेको लेक लाग्ने, फोक्सो र दिमागमा पानी जम्ने जस्ता समस्या देखिन्छन्।
यसले कतिपयको ज्यान जाने गरेको छ । नेपालमा आउने विदेशीमा भने टाइफाइट, डाइरियाको समस्या बढी देखिन्छ।
उनले भने, ‘हामीले यसरी मृत्यु हुनेको संख्या जोड्न थाल्यौँ भने ठूलो हुन्छ तर यसप्रति हाम्रो ध्यान कम पुगेको छ।’
विदेशी, पर्यटकको मात्र होइन, भरिया, उच्च हिमाली क्षेत्रमा बस्ने बासिन्दा, लागि उच्च हिमाली क्षेत्रमा जाँदा अपनाउनुपर्ने जनचेतनाका लागि काम भएको छैन।
नेपालमा माउण्टेन मेडिसिनबारे युवा चिकित्सक, चिकित्सा अध्ययन गरिहरेका विद्यार्थी, उच्च हिमाली क्षेत्रमा उद्धारमा संलग्न हुने व्यक्तिहरुलाई विदेशमा भइरहेको अभ्यासबारे बुझाउन ‘आइएसएमएम वल्र्ड कङ्ग्रेस अन माउण्टेन मेसिसिन’ सम्मेलन आयोजना गरिएको छ।

गत बुधबारदेखि सुरु भएको उक्त सम्मलेन दक्षिण एसियामै पहिलो पटक नेपालमा भएको हो।
माउण्टेन मेडिसिन सोसाइटी अफ नेपालको सक्रियतामा इन्टनेशनल सोसाइटी फर माउण्टेन मेडिसिन, हिमालयन रेस्क्यू एशोसियसनको आयोजना भएको उक्त सम्मलेनमा विशेषगरी नेपालको भौगोलिक अवस्थाअनुसार ट्राभल मेसिसिनलाई प्राथमिकता दिइएको माउण्टेन मेडिसिन सोसाइटी अफ नेपालका सदस्य डा सुमन आचार्यले जानकारी दिए।
उनले भने, ‘उच्च हिमाली चिकित्सा, उच्चहिमाली क्षेत्रमा हुने उद्धार, हिमाल हुने आकस्मिक समस्याबारे छलफल गर्ने, विदेशमा भएका अनुसन्धानबारे छलफल भइरहेको छ।’
नेपालसहित विश्वका ३५ देशका सहभागी भएको सो विश्व सम्मेलन आज सम्पन्न हुनेछ।
डा आचार्य सोसाइटीमार्फत् अनुसार हरेकपटक आरोहण सिजनका बेला सेवाउपचार गर्ने, विभिन्न उच्चहिमाली भेगमा स्वास्थ्य शिविर गर्ने गरेको बताउँछन्।
डा सुमनका अनुसार एक दिनमा ५०० मिटर मात्र उकालो चढ्नुपर्छ भन्ने चिकित्सकीय मान्यता भएपनि मानिसहरु ३,४ हजार मिटर उकालो एकै दिनमा चढ्ने गरेकोले समस्यामा पर्ने गरेको बताउँछन्।
नेपाललाई पर्यटनमा पनि विकास गर्ने हो भने त्यसका लागि आधारभूत विषयमा ध्यान दिन जरुरी छ । ती आधारहरुमध्येकै एक सुविधा उच्च हिमाली चिकित्सा पनि हो । नेपालमै रहेका चिकित्सकले उपचार गर्न सक्ने वातावरण र विश्वास दिलाउनु आवश्यक छ।