काठमाडौं- बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तका बुबा यज्ञराजलाई त्रिवि शिक्षण अस्पताल ल्याइएको छ। उनको मानसिक अवस्था बिग्रिँदै गएपछि उपचारका लागि अस्पतालमा ल्याइएको हो।
साँझ ६:२० मा अस्पताल ल्याइएका यज्ञराजलाई अस्पतालको आकस्मिक कक्षमा राखेर उपचार प्रक्रिया अगाडि बढाइएको छ। उनको उपचारमा डा तीर्थमान श्रेष्ठ नेतृत्वको मेडिकल टिम खटिएको छ।
उनलाई सुरुमा विमानबाट काठमाडौं ल्याउने तयारी भएको थियो। तर, धनगढी विमानस्थल पुर्याइएका पन्तले एक्कासी रुने, हाँस्ने, बर्बराउने, गालीगलौज गर्न थालेपछि विमानबाट ल्याउन दिइएन।
त्यसपछि उनलाई सेती अञ्चल अस्पताल लगिएको थियो। अस्पातलले उनलाई काठमाडौं लैजान भनेको थियो।
यज्ञराजलाई शनिबार राति १० बजे सेती अञ्चल अस्पतालबाट निजी गाडीमा काठमाडौं ल्याइएको हो।
यज्ञराजको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै स्वास्थ्यकर्मी सुनिल विकलाई पनि साथमै आएका छन्।
छोरी निर्मलाको हत्या भएको ४ महिना पुग्दासमेत अपराधी पत्ता लगाउन नसकेको भन्दै उनले सरकारलाई अनुसन्धानमा दबाव दिन परिवारसहित धर्नामा बसेका थिए। धर्नामा बस्दा शारिरीक रुपमासमेत कमजोर भएका यज्ञराजको बिहीबारदेखि मानसिक अवस्थामासमेत खराबी आएको थियो।
सो क्रममा उनले धर्नास्थलमै फरक व्यवहार देखाउन थालेका थिए। सुरुवातमा समान्य अवस्था रहेपनि अवस्था समाल्न नसक्ने स्थितिमा पुगेपछि उनलाई काठमाडौं पठाइएको हो।
यज्ञराजलाई काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा राखिने बताइएको छ।
