कैलीली– कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईले गाडी किन्न छुट्याएको रकम अस्पतालमा खर्च गर्ने भएका छन् । देशैभर जनप्रतिनिधिहरुले विलासी गाडी किनेको भन्दै आलोचना भइरहका बेला उनले यस्तो निर्णय लिएका हुन्।
लम्कीचुहा नगरपालिकाको कार्यापालिकाको आइतबार बसेको बैठकले मेयरका लागि गाडी किन्न छुट्याएको ७५ लाख रुपैयाँ वडा नं. १० चुहामा निर्माण भइरहेको सामुदायिक अस्पताल निर्माणमा खर्च गर्ने निर्णय गरेको हो । मेयर बजगाईका स्वकीय सचिव विष्णु खनालका अनुसार मेयर बजगाईले पुरानै गाडी चढ्ने निर्णय गरेपछि कार्यपालिकाले त्यो रकम अस्पताल निर्माणमा खर्च गर्ने निर्णय गरेको छ।
सो अस्पताल निर्माणका लागि नगरपालिकाले म्याचिङ फन्डबाट १५ लाख रुपैयाँ यसअघि नै छुट्याइसकेको छ । ५० शैय्याको सो अस्पताल निर्माणका लागि कैलाली क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभाका सांसद् झपटबहादुर रावलले २१ लाख रुपैयाँ सांसद् विकास कोषबाट छुट्याएका छन् । प्रदेश सरकारबाट समेत १ करोड रकम विनियोजनको लागि पहल भइरहेको खनालले बताए।
सामुदायिक अस्पतालबाट अत्याधुनिक प्रविधि सहित सम्पूर्ण सेवा दिने गरी अस्पताल निर्माण भइरहेको छ । नगरपालिकाले नीति बनाएर दुर्इ वर्षभित्र सञ्चालनमा ल्याउने तयारी गरिरहेको खनालले बताए।