काठमाडौं– संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिले चिकित्सा शिक्षा विधेयकमाथिको दफावार छलफल सकेको छ। उपसमितिमा आइतबार र सोमबार भएको छलफलले सबै दफाका विषयमा सहमति जुटाएको हो।
विधेयकमा एकल र सामुहिक गरी २२ वटा संशोधन परेका थिए। संशोधन दर्ता गराउने सांसदहरुसँग छलफल भएको हो।
विधेयकमाथि परेका संशोधनका विषयमा छलफल सकिएको सांसद खगराज अधिकारीले जानकारी दिए। उनका अनुसार उपसमितिले छलफलमा जुटेको सहमतिका आधारमा प्रतिवेदन तयार पारेर समितिलाई बुझाउने जानकारी दिए।
उपसमितिले छलफलमा जुटेको सहमतिका आधारमा तयार पारेको प्रतिवेदन समितिमा बुझाएपछि समितिले त्यसलाई संसदमा दर्ता गर्नेछ। संसदको हिउदे अधिवेशनको पहिलो बैठकमा नै विधेयक पेश गर्ने तयारी भएको अधिकारीले बताए।
उपसमितिमा भएको छलफलमा सरकार र डा केसीबीच भएको सहमति अनुसार नै प्रतिवेदन बनाउने निष्कर्षमा उपसमिति पुगेको बताइएको छ।
सरकारले विधेयक पास गर्न आलटाल गरिरहेको भन्दै डा केसीले सोमबार नै पत्रकार सम्मेलन गरेर अनसनको चेतावनी दिएका छन्। डा केसीले सरकारलाई पुस २ गतेसम्मको समयसिमा दिएका छन्।