काठमाडौं— तीन वर्षदेखि सरुवा नभएको स्वास्थ्यमा सरुवा हुँदैछ भन्ने हल्लाले कर्मचारीहरु उत्साहित बने।
यस पटक देश संघीयताको संरचनामा गएकाले धेरै कर्मचारी आफ्नो पायक पर्ने स्थानमा सरुवा मिलाउन लागिपरेको दृश्य पनि देखियो।
गएको कात्तिक अन्तिम साताको शुक्रबार बेलुका खबर फैलियो– विभागले दुई हजार पाँच सय हाराहारीमा कर्मचारीको सरुवा गर्यो।
तर, मंसिरको दोस्रो साता सुरु भइसक्दासम्म नर्सको मात्र सरुवा भएको सूची विभागले सार्वजनिक गरेको छ। उनीहरुको सुरुवा भएको चिठी हुलाकमार्फत पठाइसकिएको विभागको भनाइ छ। तर, सरुवा भएका कतिपय नर्सहरुले अहिलेसम्म पत्र नपाएको भन्दै स्वास्थ्यखबरमा गुनासो गरिरहेका छन्। अन्य समूहका कर्मचारीले पनि अहिलेसम्म सबै कर्मचारीको सरुवा भएको सूची किन नआएको भनेर जिज्ञासा राखिरहेका छन्।
नर्सको सूची सार्वजनिक भएसँगै स्वास्थ्यका अन्य समूह अनमी , एचएलगायतका कर्मचारी भने कहिले सरुवाको सूची प्रकाशित हुन्छ भन्दै कुरिरहेका छन्।
स्वास्थ्य सेवा ऐनअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागले मापदण्ड पुगेका कमर्चारीलाई हरेक आर्थिक वर्षको कात्तिक मसान्तसम्म सरुवा गरिसक्नुपर्ने व्यवस्था छ। अहिले पनि सोही व्यवस्थाअनुसार सरुवा हुन्छ भन्ने नै धेरैको विश्वास छ।
आखिर अहिलेसम्म किन अन्य समूहको सरुवा लिस्ट सार्वजनिक भएन? सबैको चासो यही प्रश्नमै छ।
सरुवाको सूची नआएपछि धेरै अड्कल लगाउन सुरु भयो। केहीले आर्थिक चलखेलको कारण ढिलाइ भएको अनुमान लगाए भने विभागका केही कर्मचारीले भने मन्त्री, राज्यमन्त्रीको एउटै दरबन्दीमा धेरै व्यक्तिको नाम आएकाले महानिर्देशकलाई व्यवस्थापन गर्न समस्या परेको हुनसक्ने अड्कल लगाए।
सरुवाका विषयमा विवाद र समस्या आउन थालेपछि विभागका निमित्त महानिर्देशक डा गुणराज लोहनी तर्किँदै हिँडिरहेका छन्। सम्पर्क बाहिर रहने प्रयास गरिरहेका डा लोहनीसँग स्वास्थ्यखबरले छोटो कुराकानी गरेको छ :
प्रश्न : कात्तिकसम्म गर्ने भनिएको कर्मचारी सरुवामा नर्सको सूची सार्वजनिक गरेपछि किन रोकियो?
कसले भन्यो कात्तिकमै गर्नुपर्छ भनेर, कहाँ लेखिएको छ? यो सरुवा पनि होइन। कामकाजको लागि कर्मचारीको व्यवस्थापन मात्र गरिएको हो। ससमायोजन ऐनमा कहीं पनि कात्तिकमै सरुवा हुनुपर्छ भनेर समयसीमा तोकिएको छैन। पहिलेको स्वास्थ्य सेवाअनुसार हुँदैन अब। सरुवा गर्नपर्छ भन्ने पनि छैन, विस्तारै हुन्छ, जसको सरुवा हुन्छ त्यो सार्वजनिक हुन्छ। अरुको सूची बनेको छैन। सञ्चारमाध्यममा चार हजारको सरुवा भयो भनेर पनि आयो। त्यो गलत हो।
प्रश्न : त्यसो भए नर्सको मात्र किन भयो? जिल्लामा नर्स नरहनेगरी व्यवस्थापन गर्नुभएछ, सरुवा पत्र नपाएको गुनासो पनि छ नि?
सबैको क्रमशः हुन्छ। हामीले कहाँ खाली छ, कहाँ जरुरी छ भन्ने सबै तयारी गरेर मात्र कामकाजको लागि कर्मचारी खटाउन लागेका छौँ। तीन वर्षसम्म सरुवा नभएकोले चाप र चुनौती बढी छ।
स्थानीय सरकार र केन्द्र सरकारबीच समन्वय नहुँदा बैतडीमा त्यस्तो समस्या भएको हो। त्यहाँ चार वटा दरबन्दीमा दुई वटा उनीहरुले र दुई जना हामीले गर्यौँ। त्यो कुराको समन्वय भएन।
जसको सरुवा भएको छ उहाँहरुको पत्र हुलाकमार्फत पठाइसकेका छौँ। नपुगेको ठाउँमा केही दुईचार दिनमा पाउनुहुन्छ।
प्रश्न : अघिल्लो पटकको सरुवामा पनि समस्या भएको थियो। यसपटक त जिल्ला नै खाली भयो। किन यस्तो समस्या?
अघिल्लो पटक तयारी नहुँदा समस्या भयो। अघिल्लो पटकको समस्या समाधान गर्दैछौँ। । मिलाउँदै व्यवस्थापन भइरहेको छ। उहाँहरुले हाजिर हुँदै तलब पाइरहनु भएकै छ। उहाँहरुलाई व्यवस्थापन गर्न लागिपरेका छौँ।