काठमाडौँ—स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा स्नातक तहको मिडवाइफ्री कार्यक्रमको औपचारिक सुरुवात भएको छ। उपराष्ट्रपति नन्दबहादुर पुनले सो कार्यक्रमको आज जुम्लामा औपचारिक सुरुवात गरेका हुन्।
मंसिर १ गतेदेखि स्वास्थ्य विज्ञान प्रष्तिष्ठान जुम्लामा मिडवाइफ्रीको अध्यापन सुरु भएको थियो। उपराष्ट्रपति पुनले जुम्ला कर्णाली प्रदेशको मेडिकल हब बनिरहेको उल्लेख गरे।
उनले निकट भविष्यमा सुरु हुन लागेको एमबिबिएस र एमडिजीपी ( एमडि इन जनरल प्राक्ट्रिस) कार्यक्रमका लागि सरकारका तर्फबाट सम्पूर्ण सहयोगको पहल गर्ने प्रतिवद्धता जनाए।यसै वर्षदेखि ब्याचलर इन पब्लिक हेल्थ(विपीएच) कार्यक्रमका लागि सम्पूर्ण तयारी सकिएको प्रतिष्ठानले जनाएको छ।
स्वास्थ्य व्यवसायिक परिषद्को गत असोज ६ गते बसेको बैठकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विपीएच कार्यक्रम सञ्चालन गर्नका लागि स्वीकृति दिएको थियो। सो कार्यक्रमका लागि २० सीट निर्धारण गरेको छ। त्यसको लागि यही मंसीर २२ गते प्रवेश परीक्षा हुने छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले प्रतिष्ठानले एमडि इन जनरल प्राक्ट्रिस अध्यापनका लागि सम्पूर्ण तयारी पुरा गरेको जनाएको छन्।
रजिष्ट्रार काफ्लेले केही दिनअघि नेपाल मेडिकल काउन्सिलको एक टोली प्रारम्भिक निरीक्षण गरी फर्किएको बताए। उनले यो कार्यक्रम सुरु भएपछि दुर्गममा विशेषज्ञ चिकित्सा सेवा उपलब्ध गराउन ठूलो सहयोग हुने बताए।
उनले भने ‘यो वर्ष हामीले तीन विधाको कार्यक्रम कार्यक्रम सुरु गरिसक्छौँ, त्यसपछिको हाम्रो एउटै लक्ष्य अर्को वर्ष कर्णालीमा एमबिबिएस कार्यक्रम सुरु गर्नु हो।’ उनले त्यसका लागि केही तयारी सुरु भइसकेको पनि बताए।
एमबिबिएसका आधारभूत विज्ञानका शिक्षक पनि लिइसकेको र ल्याव बनाउने काम भइरहेको रजिष्ट्रार काफ्लेले जानकारी दिए।