काठमाडौं– स्वास्थ्य राज्य मन्त्री डा सुुरेन्द्र यादवले स्वास्थ्य सेवा विभागमा छड्के गरेका छन् । छड्केका क्रममा विभागका विभिन्न महाशाखाका निर्देशक तहकै कर्मचारीहरुले मनोमानी गरेको पाइएको मन्त्री डा यादवले बताएका छन्।
मन्त्री डा यादवका अनुसार नियम अनुशरण नगरेको, हाजिर नगरेको र लापरबाही ढंगले काम गर्ने गरेको भेटिएको छ । उनले भने, ‘२० प्रतिशत निर्देशक तहकै कर्मचारीहरुले जथाभावी गरेको देखियो।’
कार्यालय समय अघि नै घर जाने, स्वास्थ्यकै अन्य कार्यक्रममा सहभागी हुन गएकाहरुले पनि उक्त कुरा उल्लेख नगरेको भेटिएको उनी बताउँछन् । त्यसबाहेक विभागका केही कर्मचारीले काम नगर्ने गरेको समेत उनले छड्केका क्रममा पाएका छन्।
त्यस्ता कर्मचारीलाई चेतावनी दिएर आएको बताउँछन् । तीमध्य केहीलाई सरुवा गएर दुर्गममा पठाउने समेत उनले संकेत गरे । उनले भने, ‘उहाँहरुले यहाँ बसेर काम गर्नुभएन । केही समयका लागि चिसो हावा खान पठाउनुपर्ला।’