काठमाडौं – भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा अध्ययनरत विद्यार्थीको उपचारमा उक्त कलेजको शिक्षण अस्पतालमा लापरवाही भएको छानबिन समितिले ठहर गरेको छ।
उक्त मेडिकल कलेजमा बिडिएस तेस्रो वर्षमा अध्ययनरत २३ वर्षका महादेव साहको गत साउन २० गते उनी अध्ययनरत कलेजकै शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।
विद्यार्थीको मृत्युभएपछि विद्यार्थीहरुले आन्दोलन गरेका थिए। त्यसपछि उक्त विषयमा छानबिन गर्न समिति गठन भएको थियो। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले लुम्बिनी अञ्चल अस्पतालका डा विष्णु पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो।
समितिले झण्डै तीन महिना लगाएर बुझाएको प्रतिवेदनमा मेडिकल कलेजकै दोष देखाएको छ। समितिले बिडिएस अध्ययनरत विद्यार्थी शाहको उपचारका क्रममा अस्पतालबाट नै त्रुटी भएको औंल्याएको छ। समितिले उपचारका क्रममा मेडिकल कलेजको अस्पतालले हेलचेक्र्याई गरेको ठहर गर्दै पीडित परिवारलाई क्षतिपूर्ती दिन सुझाव दिएको थियो।
समितिले एक महिना अघि नै क्षतिपूर्तीको सुझाव सहितको प्रतिवेदन दिएको हो।
तर, पीडित परिवारले अझै पनि न्याय नपाएको भन्दै बुधबार न्याए पाउनु पर्ने माग गरेका छन्। समितिले दिएको सुझाव अनुसार मेडिकल कलेजले न्याए नदिएको भन्दै पीडित परिवारले आज बुधबार पत्रकार सम्मेलन गर्दै न्याएको माग गरेका हुन्।
मृतक महादेवका भाई अविनास साहले एक महिनादेखि न्याएको माग गर्दा पनि नपाएको भन्दै क्षतिपूर्तीका लडाइमा साथ दिन आग्रह गरे। ‘छानबिन समितिले दिएको सुझाब अनुसार हामीले न्याए माग गरेका हौँ,’ उनले भने, ‘तर पनि मेडिकल कलेजले हामीलाई न्याए दिएन।’
उनले दाजुको पढाईका लागि सम्पत्ति बेचिएको जानकारी दिए।
समितिले मेडिकल कलेजलाई आगामी दिनमा उपचारमा हुनसक्ने कमी कमजोरी सुधार गर्न र साहको परिवारमा हुन गएको अपुरणीय पारिवारिक क्षतिलाई मनन् गरी प्रचलित कानुनबमोजिम राहत उपलब्ध गराउन सुझावसमेत दिएको थियो।
छानविन समितिले प्रतिवेदन बुझाएको लामो समयसम्म पनि पिडित परिवारले न्याय नपाउनु दुःखद भएको छानविन समितिका सदस्य एवं इलाका प्रशासन कार्यालय बुटवलका शाखा अधिकृत विष्णु ज्ञवालीले बताए। उनले प्रशासनको तर्फबाट पहल भइरहेको तर अस्पताल प्रशासनले पीडित परिवारबाट कुनै माग नभएको भन्दै आलटाल गर्दा समस्या आएको पनि जानकारी दिए।
राष्ट्रिय मानव अधिकार आयोग प्रदेश ५ का प्रमुख पवन भट्टले तत्काल पीडित परिवारलाई राहात दिन माग गरे।
नेपाल मेडिकल काउन्सिलका सदस्य डा. कृष्ण खरेलले प्रतिवेदनअनुसार अस्पतालले पीडितलाई न्याय दिनुपर्ने बताउँदै चिकित्सकको लापरवाही भए कारवाही गर्न आफूहरु तयार रहेको बताए।