राजविराज– स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकमवाट राजविराजमा नर्सिङ कलेज स्थापना हुने भएको छ।
सप्तरी निर्वाचन क्षेत्र नं. २ का निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहेका उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको संयोजकत्वमा बुधवार वसेको बजेट बाँडफाँट निर्देशक समिति वैठकले यस्तो निर्णय गरेको हो।
राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल वा आसपासमा कलेज स्थापना गर्ने गरी बजेट विनियोजन भएको यादवले जानकारी दिए । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षको ४ करोड रुपैयाँ कलेज स्थापनाका लागि विनियोजन गरिएको प्रदेश २ को भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले बताए।
कार्तिक मसान्त भित्रै सम्पन्न गर्नुपर्ने प्राबधान भएपनि मन्त्री यादवकै व्यवस्तताका कारण योजना छनोटको काम रोकिएको थियो । उनी योजना छनौटकै लागि सप्तरी आएका हुन्। १६ सदस्यीय समितिको वैठकमा फोरम नेपालवाट समानुपाति सांसद उपमा देव (प्रदेश उपसभामुख) र नेकपाका मनोनित प्रदेश सांसद डा. मनोजकुमार सिंह भने अनुपस्थित थिए।
प्रत्यक्षतर्फ प्रतिनिधि सभामा निर्वाचित सांसदको संयोजकत्वमा रहने समितिमा संघीय सांसद, प्रदेश सांसद र स्थानीय तहका प्रमुख सदस्य र जिल्ला समन्वय समितिका संयोजक सदस्य सचिव रहने ब्यवस्था छ।
सरकारले निर्वाचन क्षेत्र विकास कार्यक्रमको विकल्पका रुपमा ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ ल्याएको हो। सांसदले जथाभावी योजना छानेर खर्च गर्दा रकम दुरुपयोग भएको भन्दै निर्वाचन क्षेत्र विवादित वनेको थियो।