विचार/ब्लग

नेपालमा पहिलो पटक एचआइभी/एड्सविरुद्धको औषधि 'एआरटी' सुरु गर्दाको क्षण

डा. शेरबहादुर पुन

नेपालमा पहिलो पटक एचआइभी/एड्सविरुद्ध औषधि सुरु गर्ने बहस भइरहेको थियो। म भर्खरै एक वर्षे इन्टर्नसिप पूरा गरेर जोश र जाँगरका साथ टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काम गरिरएको थिए। त्यसबेला आक्कलझुक्कल मात्र मानिसहरू एचआइभी परीक्षण गर्थे। नाम पनि अतिगोप्य वा परिवर्तन गरेर मात्र गर्ने चलन थियो।

त्यसबेला एचआइभी/एड्सको संक्रमित वा बिरामी नेपालमा छैनन् कि भन्ने भान पनि हुने गर्दथ्यो। एक पटक एकजना व्यक्तिले आफ्नो रिपोर्टमा एचआइभी पोजेटिभ देखेर हाम्रै अगाडि बिहोस भएको देखियो। अर्थात् त्यो समयमा एचआइभी पोजिटिभ हुनु भनेको समाजमा एकदमै ठूलो स्वास्थ्य समस्या हो वा 'मर्नु' मात्रै यसको विकल्प हो भनेर सोच्ने गरिन्थ्यो। 

त्यो बेला खासगरी वर्षातका समयमा हरेक घन्टामा २०-२५ जना झाडापखाला लागेर बिरामी भर्ना हुने गर्दथे। त्यति नै संख्यामा हामीले हरेक ४५ (पैतालिस) मिनेटको अन्तरमा डिस्चार्ज गर्नु पर्ने हुन्थ्यो। त्यस्तै जन्डिस् र जापानिज इन्सेफलाइटिसका बिरामी ठूलो संख्यामा भर्ना हुने गर्दथ्यो। कालाज्वरका असंख्य बिरामीहरु त पुरै गाँउ नै बस रिजर्भ गरेर आउँथे। एक दिन एकजना बिरामीलाई पखालाका कारण लामो समय भर्ना गरेर उपचार गर्दा एचआइभी पनि संक्रमण भएको देखियो। यो एक कान दुइ कान हुँदै अस्पतालका लगभग सबै  बिरामीका कुरुवाले थाहा पाएछन्। 

त्यो बिरामीलाई पुरै घेरेर हेरेका मलाई राम्रो सम्झना छ। त्यो बेला ती मानिसहरुले एकदम अचम्म, चाख मानेर र जिज्ञासु भएर हेरेको देखिन्थ्यो। 

बिरामीको विवरण वार्डको बोर्डमा नै एचआइभी भनेर लेखिने भएकाले धेरै मानिसहरुले त्यँही पढ्दै ती बिरामीहरुहरुलाई हेर्न जान्थे। पछि एचआइभी लाई पिएलडब्लुएचए भनेर छोटकरीमा लेख्न सुरु गरियो। 

मेरो पिएचडी पढाई सुरु हुनुपूर्व मैले सयौं एचआइभी/एड्सका बिरामीको परीक्षण गर्ने र उपचारमा संलग्न भई काम गरें। यो संक्रमणलाई त्यो बेला समाजमा मात्र नभई स्वास्थ्यकर्मीले पनि भ्रम, त्रास र भयको रुपमा हेर्ने गर्दथे। 

तर अहिले यो रोगबारे भ्रम र त्रास धेरै हदसम्म हटिसकेको देखिन्छ।

त्यो समयमा डाक्टरलाई दिने तालिममा पनि मैले धेरै पटक सहभागी हुने मौका पाएँ। हरेक दिन जस्तो ढाडको पछाडिबाट पानी (सियसएफ) निकालेर जाँचका लागि पठाउने काम पनि म आफैं गर्थें।

एक जना पुरुष संक्रमित क्षयरोग भएर हप्तौंसम्म थला परेको अवस्था थियो। जसको दिनरात उपचारमा खटिएँ। पछि त्यो बिरामी पूर्ण रुपमा स्वास्थ भई हँसिलो अनुहार लिएर घर फर्कियो। त्यो क्षण मलाई सबैभन्दा बढी खुशीको क्षण हो। वास्तवमा, त्यो बिरामी स्वस्थ हुनेमा हामीमा पनि झिनो आशा मात्र बाँकी थियो।       

ठ्याक्कै दिन याद त भएन तर एचआइभी/एड्सविरुद्ध दिइने ‌औषधि एआरटी शुभारम्भ गर्दा पत्रकार सम्मेलन पनि गरिएको थियो। एचआइभी विरुद्धको औषधी सुरुमा दाताले पच्चीस जनालाई मात्र उपलब्ध गराउने भनेको थियो। त्यसो भए छब्बिसौं व्यक्ति औषधीका लागि आएमा उपचार गर्दैनौं भन्न मिल्छ त? भनी एकजना पत्रकारले प्रश्न तेर्स्याएका थिए जुन अस्वभाविक भने थिएन। 

तर त्यसको उत्तर भने हामीसँग नभई दातासँग मात्र थियो होला। निःशुल्क औषधी वितरण गर्नु अघि परीक्षण वा उपचारको लागि सार्वजनिक हुनेको संख्या लगभग शून्य जस्तो देखिन्थ्यो। 

यो घोषणासँगै बिरामीहरू आफैं बिस्तारै खुल्दै चिकित्सकको सम्पर्कमा आउन थाले। हाल देशभरी हजारौंले यो औषधी निःशुल्क पाइरहेका छन् र उनीहरूले गुणस्तरीय जीवन पनि बिताइरहेका छन्।  

एआरटी विकास गर्नेमध्येको एक सदस्य भएको र नेपालमै शायद सुरुका दिनमा परामर्शदाता तथा चिकित्सक भई एचआइभी/एड्सका बिरामीको सेवा र उपचारमा दिनरात खटिएको विगतलाई फर्केर हेर्दा आज हामी आफैं एआरटी उत्पादन गर्न सक्षम भएका छौं। यो अवस्थामा भने मैले आफैंलाई ‍भाग्यशाली ठानेको छु।

(डा. पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्।)

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live