काठमाडौं— एमबिबिएसको प्रवेश परीक्षामा छात्रवृत्तिमा नाम निकालेकी खजुरा गाउँपालिका वाड ४ की प्रतिमा शर्मालाई अध्ययनका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ।
करिब चार हजार पाँच विद्यार्थी सहभागी भएको परीक्षामा उनले १५८ औँ र महिला कोटामा एक नम्बरमा नाम निकालेकी थिइन्।
खजुराको ज्ञानोदय उच्च माध्यमिक विद्यालयबाट सी परीक्षा उर्तीण गरेकी उनले चिकित्सा विज्ञान अध्ययन संस्थान महाराजगञ्ज क्याम्पसबाट एमबिबिएस पढ्न चार लाख रुपैयाँ आवश्यक भएको बताइन्।
बुवा मानसिक रोगका बिरामी र आमा मजदुरी काम गर्ने भएकाले उनलाई चार लाख रुपैयाँ जुटाउन पनि हम्मे–हम्मे परेको हो । खजुरा गाउँपालिकाको वार्ड ४ ले अभियान नै चलाई आर्थिक संकलन गरिहरेको छ।
अहिलेसम्म एक लाख ९९ हजार रुपैँया प्रतिमालाई उपलब्ध गराइसकेको छ । उनको कक्षा सुरु भइसकेपनि क्याम्पसमा छात्रावासमा कोठा नपाएपछि उनी आफन्तको घरबाट कलेज आइरहेकी छिन्।
यसैबिच बाँकेकी प्रतिनिधिसभा सांसद पूर्णाकुमार सुवेदीले पनि उनलाई बीस हजार रुपैयाँ आर्थिक सहयोग गरेकी छिन् । काठमाडौंमा रकम हस्तान्तरण गर्दै सांसद सुवेदीले आर्थिक रुपमा विपन्न हुदैमा प्रतिभामा कमी नहुने भन्दै आवश्यक पर्ने अन्य सहयोगका लागि पनि पहल गर्ने बताइन्।
प्रतिमाले आफुलाई अन्य आवश्यक रकमका लागि आमाले ऋण सापटी र आफन्तको सहयोग लिइरहेको बताइन् । उनले आफूलाई सहयोग गर्ने सबैलाई कृतज्ञता व्यक्त गरेकी छिन् । उनले अहिलेसम्म क्याम्पसमा छात्रबासमा कोठा नपाएकोले पनि थप समस्या उत्पन्न भएको बताइन्।