ठिनी (मुस्ताङ)- सदरमुकाम जोमसोमस्थित जिल्ला अस्पतालले औषधि बिक्रीकक्ष (फार्मेसी)सञ्चालन गरेको छ। सरकारी अस्पतालमा औषधि बिक्रीकक्ष नहुँदा बिरामी निजी औषधि पसलबाट महङ्गोमा औषधि खरिद गर्न बाध्य थिए।
उपचारका लागि आउने बिरामीलाई सहज र सुपथ मूल्यमा औषधि उपलब्ध गराउने उद्देश्यले बिक्रीकक्ष सञ्चालन गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर गुरुङले जानकारी दिए। ‘अब चौबिसै घण्टा औषधि बिक्रीकक्ष खुल्ला रहनेछ,’ उनले भने।
सो बिक्रीकक्षको सोमबार गण्डकी प्रदेशका सदस्य चन्द्रमोहन गौचनले उद्घाटन गरेका हुन्।
यसअघि मनाङ र मुस्ताङ जिल्ला अस्पतालमा औषधि बिक्रीकक्ष थिएन। मुस्ताङ भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई असुविधा हुने गरेको थियो। सरकारले निःशुल्क वितरण गर्ने बाहेकका औषधि तोकिएको मूल्यमै बिक्री गरिने जिल्ला अस्पतालका सिनियर अहेव कर्ण थकालीले बताए। औषधि बिक्रीकक्ष सञ्चालन गर्न गत वर्ष भवन निर्माण गरिएको हो। यस वर्ष औषधि खरिद गर्न चार लाख ९० हजार बजेट उपलब्ध भएको छ। रासस