धरान– धरानमा कानुनी चिकित्सकलाई शव उत्खनन् तालिम दिइएको छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फरेन्सिक मेडिसिन विभागको आयोजना तथा आइसिआरसी र कानुनी चिकित्सक समाजको सहयोगमा भएको तालिममा देशभरका १६ मेडिकल कलेजका ३८ जना कानुनी चिकित्सकको सहभागिता रहेको थियो।
भारतको स्वास्थ्य संस्था एम्सका प्राध्यापक डा आदर्श कुमार र आइसिआर अफगानिस्तानका प्रतिनिधी डा राफेल डिबारियुले कानुनी चिकित्सकलाई शव उत्खनन बारे प्रशिक्षण दिएका थिए। प्रतिष्ठानको फरेन्सिक मेडिसिन विभागका प्रमुख डा शिवेन्द्र झाले तालिमले गाडिएका शवहरु निकालेर कतिपय प्रमाणहरु संकलन गर्न सहज हुने बताए। उनी भन्छन्, 'यसले १० वर्षभन्दा लामो द्वन्द्वकालमा बेपत्ता पारिएकाहरुको खोजी गर्न पनि सजिलो हुने छ।'
कानुनी चिकित्सक समाज नेपालका अध्यक्ष डा रिजन श्रेष्ठका अनुसार २ हप्ताअघि खाडल खनेर प्लाष्टिकका शव बनाइ सबै प्रमाणहरु टिपोट गरेर गाडिएका थिए। तिनै पलाष्टिकका कंकाल कसरी प्रमाण जोगाएर उत्खनन् गर्ने भनेर तालिम दिइएको थियो। ‘हामीले प्लाष्टिकको शव बनाएर त्यससँगै पासपोर्ट, कागजातदेखि विभिन्न कुरा राखेका छौं। उत्खनन् गर्दा कति भेटिन्छन्, कति नष्ट हुन्छन् भनेर हेर्छौं,’ उनी भने, 'सानो सानो प्रमाण कति महत्वपूर्ण हुन्छ भन्ने पनि यसैबाट बुझाउँछौं।'
डा श्रेष्ठका अनुसार यसअघि ९ वर्षअघि काठमाडौंमा यस्तै तालिम दिइएको थियो। काठमाडौंबाहिर पहिलोपटक तालिम दिइएको हो। प्रतिष्ठानका सहायक निर्देशक विकास साहले तालिमपछि काठमाडौं बाहिर पनि शव उत्खनन गर्नुपर्दा मोफसलकै जनशक्ति उपयोग गर्न सकिने बताए। उनले भने,'देशभर उत्खनन् गर्नु पर्ने शव धेरै हुन सक्छन्, यो तालिमले जनशक्ति वृद्धि गर्छ। भविष्यमा सहि अनुसन्धान गर्न सजिलो हुन्छ।'