बैतडी - एक महीनादेखि नर्स नहुँदा जिल्ला अस्पतालमा सेवा प्रभावित हुँदै आएको छ। चार जना स्टाफ नर्सको दरबन्दी भएको जिल्ला अस्पताल अहिले नर्सविहीन छ। नर्स नहुँदा सबैभन्दा बढी प्रसूति सेवा प्रभावित भएको छ।
अस्पतालमा नर्स नहुँदा प्रसूति सेवा प्रभावित भएको अस्पतालका प्रमुख डा जगदीशचन्द्र विष्टले बताए। जटिल खालको प्रसूति सेवा दिन तालिमप्राप्त स्टाफ नर्सको आवश्यकता पर्छ।
जिल्ला अस्पतालमा जटिलतायुक्त प्रसूति सेवा नर्सको अभावमा प्रभावित भएको उनले बताए। 'शल्यक्रिया गर्न चिकित्सकलाई सहयोगीका रूपमा स्टाफ नर्सको आवश्यकता पर्छ,' उनले भने। यसका साथै गर्भवतीको अल्ट्रासाउण्ड सेवासमेत ठप्प भएको उनले बताए।
अल्ट्रासाउण्ड गर्ने तालीमप्राप्त नर्सको सरुवा भएपछि सेवा प्रभावित भएको हो। जिल्ला अस्पतालमा तीन चिकित्सकको दरबन्दी छ। हाल एक जना मात्र कार्यरत छन्। अस्पतालमा जटिलतायुक्त प्रसूति सेवा लिनका लागि छिमेकी जिल्ला दार्चुलाका विभिन्न ठाउँका सेवाग्राहीसमेत आउने गरेका छन्। प्राथमिक स्वास्थ्य केन्द्र पाटन र मेलौलीमा समेत स्टाफ नर्सको दरबन्दी रिक्त छ।
चिकित्सक र नर्सको अभावमा यहाँका बिरामी उपचारका लागि डडेल्धुरा, धनगढी तथा सीमावर्ती भारतीय शहर पिथौरागढ जानुपर्ने बाध्यता छ। स्वास्थ्य सेवालाई स्थानीय तहमा हस्तान्तरण गरेपछि झन् समस्या भएको छ। जताततै कर्मचारी अभाव छ।
'सामान्य बिरामीले पनि उपचार गर्न भारत जानु परिरहेको छ,' दोगडाकेदार–३ श्रीकोटका राम विष्टले भने, 'स्थानीस्तरमा भएका स्वास्थ्य चौकीको स्तरोन्नति गरी दरबन्दीअनुसारका चिकित्सक र नर्स पूर्ति गर्नुपर्छ।' रासस