काठमाडौं— त्रिभुवन विश्वविद्यालय महाराजगञ्ज क्याम्पसको प्राध्यापक संघ मेडिकल क्याम्पस इकाई कमिटिको निर्वाचन तत्काल नहुने भएको छ। निर्वाचनका लागि आगामी २५ गते मिति तोकिएको थियो।
निर्वाचन गराउन गठित निर्वाचन समितिका संयोजक र सदस्यले निर्वाचन गराउन समय नभएको भन्दै राजीनामा दिएपछि निर्वाचनको समय पछाडी धकेलिएको हो।
निर्वाचन समितिका संयोजक अजय ठाकुरले आफुलाई समय नभएको र अन्य काममा व्यस्त हुनुपरेको निर्वाचन गराउन नसक्ने भन्दै राजिनामा दिएको बताए। संयोजक ठाकुरसँगै समितिमा निलम पोखरेल र डा निरजु रञ्जित सदस्य थिए ।
उनले भने, ‘तीन सदस्य समितिका अर्का सदस्य डा निरज रञ्जित पनि राजधानी बाहिर रहेकोले पनि निर्वाचन गराउन नसकिएको हो, हामीले सकेनौं, अर्को टिमले गराउँछ अन्य कुनै कारणले राजिनामा दिएको होइन।’
ठाकुरसँगै निलम पोखरेलले पनि क्याम्पस प्रमुख प्राडा प्रताप नारायण प्रसादसमक्ष राजिनामा बुझाएका हुन्।
क्याम्पस प्रमुख प्रसादलले भने,‘समितिमा बस्न गाह्रो भयो भन्दै राजिनामा बुझाउनुभयो, अरु केही भन्नुभएन।’
तीन वर्षे नयाँ कार्यकालका लागि प्रजातान्त्रिक समुह, स्वतन्त्र उम्मेद्वार र केही प्रगतिशील समुहकाले उम्मेदारी दिएका थिए। ११ सदस्यीय निर्वाचित समितिले अध्यक्ष, उपाध्यक्ष लगायतका पदाधिकारी चयन गर्नेछ।
मंगलबार निर्वाचन समितिमा बुझाएको उम्मेद्धारको सूचीमा प्रजातान्त्रिक समुहबाट डा अभिमन्यू झाको नेतृत्वमा डा सुरेश उप्रेती, डा रामेश्वरप्रसाद पोखरेल, डा मनिषा चापागाँई, डा महेशराज सिग्देल, डा सुभित मास्के मिथिलेश्वर राउत, डा साइतकुमार प्रधान, डा अञ्जन श्रेष्ठ, डा निरञ्जन प्रसाद शाह र डा लब श्रेष्ठले उम्मेद्वारी दिएका छन्।
यता अर्को समूहबाट भने डा सगुनराज जोशीले स्वतन्त्र रुपमा अध्यक्षमा उम्मेदवारी दिएका छन्। उनको समूहमा अधिकंस पदाधिकारी स्वतन्त्र रहेको बताइएको छ। तर, केही उम्मेदवारले आफूहरु प्रगतिशील समुहको र केहीले मधेशी तथा प्रजातन्त्रबादी प्राध्यापक संघको असन्तुष्ट खेमा रहेको समेत बताएका छन्।
डा जोशीको नेतृत्वमा डा खेमबहादुर कार्की, डा कृष्ण केसी, डा प्रकाश कायस्थ, डा प्रदीप ज्ञवाली, डा बालमुकुन्द रेग्मी, डा प्रशान्त त्रिपाठी, डा प्रशन्नबीर कंशाकार, डा रमेश सिग्देल, डा सञ्जीव भट्टराई र डा सतिशकुमार देवले उम्मेद्वारी दिएका छन्।