मुख्य समाचार

बाजुराका गाउँका स्वास्थ्य संस्थाबाट पनि निःशुल्क सुरक्षित गर्भपतन सेवा

प्रकाश सिंह

बाजुरा– बुढीगंगा नगरपालिका बस्ने उमा थापा (नाम परिवर्तन)ले दुईपटक स्थानीय मेडिकलबाट असुरक्षित गर्भपन गराइन्। एकपटक त असुरक्षित गर्भपतन गराएकै कारणले अछामको बयलपाटा अस्पतालमा उपचार गरिन्। तर चैत महिनामा देबलसैन स्वास्थ्य सेवामा सुरक्षित गर्भपतन सेवा सञ्चालन भएपछि स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन गराइन्। 

उमा जस्तै धेरै महिलाहरु लाज मान्ने र अर्को गाउँमा रहेको स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा नहुँदा असुरक्षित गर्भपतन गर्ने र बच्चा जन्माउन बाध्य हुने गरेका थिए। तर गाउँमै रहेको स्वास्थ्य संस्थामा व्यक्ति र संस्था सरकारले सुचिकृत गरेपछि सुरक्षित गर्भपतन गर्नेको संख्या बढेको देवलसैन स्वास्थ्य चौकीका अनमी दुर्गा गिरिले बताएकी छन्।

देबलसैन स्वास्थ्य चौकीमा चैतदेखि अहिलेसम्म ६० जनाले सुरक्षित गर्भपतन सेवा लिइसकेको छन्। आफूहरुले नौ हप्तासम्मको गर्भपतन सेवा दिने गरेको उनले बताइन्। स्वास्थ्य चौकीमा सेवा सुचारु नहुँदा निजी अस्पतालबाट असुरिक्षत गर्भपतन गराएर अप्ठयारो भएपछि उपचारका लागि आउने गरेका थिए। 'धेरै महिलालाई अछामको बयलपाटा अस्पतालमा रिफर गर्ने गरेका थियौ, अहिले स्वास्थ्य संस्थाबाट सेवा दिँदा महिलालाई पनि निकै सहज भएको छ,' गिरीले भनिन्।

जिल्ला स्वास्थ्य कार्यलय बाजुरा र प्राथमिक स्वास्थ्य केन्द्रमा कोल्टीमा मात्र सुरक्षित गर्भपतन सेवा रहेको थियो। गएको चैत महिनादेखि गाउँमा रहेका १३ वटा स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा सञ्चालनमा आएको स्टाफ नर्स सुशिला सिंहले बताइन्। १३ वटा गाउँका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी र जिल्ला अस्पताल बाजुरामा निःशुल्क सुरक्षित गर्भपतन सेवा सञ्चालनमा रहेको सिंहले बताइन्।

पहिला गर्भपतनको एक हजार लिने गरिएको थियोे तर अहिले त्यो सबै निःशुल्क रहेको उनले जानकारी दिइन्। उल्टै सरकारले सेवा दिए बापत स्वास्थ्य संस्थालाई प्रतिव्यक्ति ८ सय दिने गरेको छ, उक्त रकम स्वास्थ्य संस्थाले कर्मचारी र अन्य व्यवस्थापनमा खर्च गर्ने रहेको उनले बताइन्।
 
७ प्रतिशत आमा असुरक्षित गर्भपतनका कारणले मुत्यु हुने गरेको राष्ट्रिय तथ्याङ्क रहेको छ। यसरी गाउँमा रहेका स्वास्थ्य सेवा सञ्चालनमा हुदा मातृ मृत्युदर र असुरक्षित गर्भपतनबाट हुने र जोखिम पनि कम भएको स्वास्थ्यकर्मीले बताएका छन्। पहिला सेवा लिन एक–दुई दिन लगाएर सदरमुकाम रहेको अस्पतालमा जानुपर्ने बाध्यता समेत टरेको महिला अधिकार मञ्च बाजुराकि अध्यक्ष  रुक्मणि थापाले बताइन्।

 गाउँका स्वास्थ्य संस्थामा सेवा सञ्चालन भइसकेपछि ३ सय ७६ जना महिलाले सुरक्षित गर्भपतन सेवा लिएको आइपास नेपालका बाजुराका कार्यक्रम संयोजक महेश जोशीले बताए। 

सरकार, आइपास र पिसवीन नामक गैर संस्थाको सहकार्यमा सुरक्षित गर्भपतन सेवा सञ्चालनपछि गाउँका स्वास्थ्य संस्थामा सेवा सञ्चालनमा आएको संयोजक जोशीले बताए।

स्वास्थ्य संस्थामा सेवासँगै सुरक्षित गर्भपतन सेवाको बारेमा जानकारी दिने गरेको छ। गाउँमा घर–घर पुगेर भेट गर्ने बिद्यालयमा किशोर किशोरीलाई, स्वयंसेविका, युवा युवतीलाई शुरक्षित गर्भपतनका बारेमा चेतना दिने काम समेत भइरहेको जिल्ला स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ।
 

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live