काठमाडौं– सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रमेशकुमार पोखरेललाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले पोखरेललाई निर्देशकमा नियुक्त गरेको हो।
नवनियुक्त निर्देशक पोखरेलको नाम स्वास्थ्य क्षेत्रमा कार्यरतहरुले कमै सुनेको नाम हो। स्वास्थ्य क्षेत्रमा नसुनेको नाम बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्त भएपछि स्वास्थ्यका कर्मचारीहरुले समेत उनको विषयमा चासो व्यक्त गरिरहेका छन्।
यतिबेला स्वास्थ्यका अधिकांस कर्मचारीले को हुन् त पोखरेल भन्ने प्रश्न गरिरहेका छन्।
स्वास्थ्य क्षेत्रमा अपरिचित नाम भए पनि उनी बैंकिङ क्षेत्रमा भने निकै परिचित व्यक्ति हुन्। उनीसँग वित्तिय क्षेत्रमा ३० वर्षभन्दा बढी काम गरेको अनुभव छ।
पोखरेल नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएका व्यक्ति हुन्। राष्ट्र बैंकमा रहँदा उनले अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)को कार्यकारी निर्देशकको सल्लाहकारको जिम्मेवारी समेत निर्वाह गरेका थिए।