काठमाडौं– वैदेशिक रोजगारीमा जाने नेपालीको स्वास्थ्य परीक्षणका नाममा सिन्डिकेट लगाई आर्थिक भार थप्दै आएको संस्था गल्फ एप्रुभल मेडिकल सेन्टर (गाम्का) नेपालमा बन्द छ।
तर, गाम्काकै नाम भजाएर अहिले विभिन्न स्वास्थ्य संस्थाले कामदारले स्वास्थ्य परीक्षण गराएर दोब्बरभन्दा बढी रकम असुलिरहेका छन्।
नेपालमा औपचारिक रुपमा बन्द भए पनि साउदी, बहराइन र ओमान जाने कामदारसँग साउदीबाटै सिन्डिकेट लगाएर गाम्काले कामदारबाट पैसा असुल गरिरहेको हो। गाम्कामा नेपालका १२ स्वास्थ्य संस्था आबद्ध छन्। तिनैले सरकारलाई छलेर कामदारको स्वास्थ्य परीक्षण गरिरहेका हुन्।
सरकारले २०७४ फागुनमा गाम्का बन्द गरेको थियो। तर पुरानै प्रक्रियाबाट कामदारको स्वास्थ्य परीक्षण गर्ने काम भइरहेको छ। 'नेपालमा संस्था बन्द भए पनि गाम्कासँग समन्वय गरेर काम भइरहेको छ,' स्वास्थ्य व्यवसायी महासंघका पूर्वअध्क्षय खड्गप्रसाद श्रेष्ठले भने, 'गाम्कामा आबद्ध १२ वटा मेडिकल संस्थाले अहिले पनि कामदारबाट पैसा असुलिरहेका छन्।’
साउदी, बहराइन र ओमान जाने पुरुष कामदारका हकमा स्वास्थ्य परीक्षण गराउँदा २ हजार ९ सय र महिलाका हकमा ३ हजार १ सय रुपैयाँ लिनुपर्ने सरकारी व्यवस्थामा उल्लेख छ।
तर, ५ वर्षदेखि गाम्का अन्तर्गतका १२ वटा स्वास्थ्य संस्थाले सरकारले निर्धारण गरेभन्दा दोब्बर रकम रोजगारीमा जाने कामदारसँग लिदै आएका छन्। ती संस्थाले एक जनाबाट ६ हजार ५ सयसम्म उठाउने गरेका छन्।
गत सालबाट गल्फ कोअपरेसन काउन्सिल (जिसिसी) ले अनलाइनबाट आवेदन भर्दा उनीहरुले थप १० अमेरिकी डलर अनलाइन फारामका लागि तिर्नुपर्ने व्यवस्था सुरु गरेको थियो। हाल साउदी जाने कामदारले ६ हजार ५ सय तिर्दै आएका छन्।
जिसिसीका लागि भने म्यानपावर कम्पनीले बैंकमार्फत मुफा नम्बर लिएर काम गर्दै आएका छन्। यी तीन देश जाने कामदारलाई जिसिसीले बैंक खाता अनिवार्य गर्ने निर्णयलाई राष्ट्र बैंकले अस्वीकार गरेको थियो। तर, बैंकले मान्यता नदिए पनि जिसिसीले जबर्जस्ती यो नियम लादेको छ। यो विषयमा सरकार अहिलेसम्म मौन नै देखिन्छ।
गाम्काका १२ स्वास्थ्य संस्थामार्फत स्वास्थ्य परीक्षण गराई वार्षिक करिब २ लाख नेपाल रोजगारीमा जाने गरेका छन्।
के हो गाम्का?
गाम्का साउदी, कतार, बहराइन, ओमन, कुवेत र युएईको साझा संस्था हो। यो संस्थामा ती देशका स्वास्थ्य मन्त्रीहरुले प्रतिनिधित्व गर्दै आएका छन्। पछिल्लो समय यो संस्थामा युएई र कतारले खासै चासो देखाउन छाडेपछि साउदी, बहराइन, र ओमानले गाम्काको नेतृत्व गरिरहेका छन्।
गाम्का नेपालमा २०४९ सालबाट सञ्चालनमा रहेको थियो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गत जेठ २ गते मलेसिया रोजगारीमा जाने कामदारमाथि स्वास्थ्य लगायत अन्य शीर्षकमा सिन्डिकेट लगाएर आर्थिक ठगी गर्दै आएका ६ संस्था बन्द गराउने निर्णय गरेका थिए।
मलेसियापछि साउदी, बहराइन र ओमान जाने कामदारलाई आर्थिक भार थप्दै आएको गाम्कालाई पनि बन्द गराउने निर्णय गरेको थगियो। तर, मन्त्रालयले खारेज गर्ने घोषणा गर्नुअघि गाम्का आफैंले बन्द गरेको थियो।
गाम्का नेपालमा आबद्ध १२ स्वास्थ्य संस्था पनि अब केही दिनमै बन्द हुने मन्त्रालयको भनाइ छ। 'त्यसबारे साउदी, बहराइन र ओमान सरकारका प्रतिनिधिसँग पनि औपचारिक छलफल भइसकेको छ,' मन्त्रालयका सचिव महेशप्रसाद दाहालले भने।
