काठमाडौं– स्वास्थ्य मन्त्रालयले पाँच अस्पताललाई स्तरोन्नति गरी ५ सय बेड बनाउन गरेको प्रस्तावमा मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति जनाएको छ। कोशी अञ्चल अस्पताल, नारायणी अञ्चल अस्पताल, भरतपुर अस्पताल, भेरी अञ्चल अस्पताल र डडेलधुरा उपक्षेत्रीय अस्पताललाई स्तरोन्नति गर्ने प्रस्ताव गत मन्त्रिपरिषद्को बैठकमा लगिएको थियो।
उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राखेको उक्त प्रस्तावमाथि सैद्धान्तिक सहमति जनाउँदै छलफलका लागि सामाजिक समितिमा पठाइएको निमित्त स्वास्थ्य सचिव डा सुशील प्याकुरेलले जानकारी दिए।
प्रदेश अन्तर्गतका रिफरल अस्पतालका रुपमा विकास गर्नका लागि मन्त्री यादवले स्तरोन्नतिको प्रस्ताव गरेका हुन्। यीमध्ये कति अस्पतालले रिफर गरिएका बिरामी हेर्नुपर्ने भए पनि जनशक्ति सेवा–सुविधा नभएका कारण समस्या परेको थियो।
भेरी र भरतपुरले रिफरल अस्पताल बनाउँदै मेडिकल कलेजका रुपमा समेत विकास गर्नेगरी स्तरोन्नति गरिदिन माग यसअघि नै गरेका थिए। संघीय संरचनाअनुसार हरेक प्रदेशको रिफरल सेन्टरका रुपमा विकास गर्न यी अस्पताललाई स्तरोन्नति गर्ने योजना स्वास्थ्य मन्त्रालयले अघि सारेको हो।
सामाजिक समितिले अस्पतालको अवस्था र स्तरोन्नतिको सम्भाव्यता अध्ययन गरी निर्णयार्थ मन्त्रिपरिषद्लाई राय दिनेछ।