काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धेरै रोगको प्रमुख कारक अणुवांशिक विकार (जेनेटिक डिसअर्डर) रहेकाले समयमा नै जीन सम्बन्धि अनुसन्धान गर्नुपर्ने बताएका छन्।
नेपालमा पहिलो पटक राजधानीमा सुरु भएको जेनेटिक रोगसम्बन्धि सम्मेलनमा बोल्दै प्रचण्डले भविष्यमा स्वस्थ जनशक्ति उत्पादनका लागि जीन सम्बन्धि अनुसन्धान आवश्यक रहेको बताएका हुन्।
‘धेरै रोगहरुको उत्पती जेनेटिक डिसअर्डको कारणले गर्दा हुने भएकाले जीन सम्बन्धि अध्यान, अनुसन्धानबाट यस्ता समस्याको निदानको निमित्त गम्भिर पहल गर्नुपर्ने बेला आइसकेको छ,’ उनले भने, ‘यसका लागि सरकारमा र पार्टीमा मेरो तर्फबाट म पहल गर्नेनै छु। साथै अनुसन्धानका कार्यमा तपाईंहरु पनि अगाडि बढ्नु होला।’ उनले यसखालका सम्मेलनले पनि जेनेटिक रोगहरुको चेतना फैलाउन सहयोग पुग्ने बताए।
कार्यक्रममा प्रचण्डले जेनेटिक रोगको उपचारमा भन्दा पनि रोकथामका क्षेत्रमा बढी ध्यान दिन आवश्यक रहेको बताए। ‘जेनेटिक रोगको उपचार भन्दा पनि रोकथामका क्षेत्रमा चासो दिनुपर्छ। समयमा नै रोकथाम गरिएन भने यसले ठूलो क्षति गर्छ। त्यसकारण अब हाम्रो ध्यान रोकथामतर्फ केन्द्रित हुनुपर्छ,’ उनले भने।
सम्मेलनमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी अध्यक्ष अन्जनीकुरमा झाले जेनेटिक रोगको अनुसन्धानमा परिषदले आवश्यक काम अगाडि बढाउने बताए। उनले यो क्षेत्रको अनुसन्धानका लागि सरकारबाट थप सहयोग आवश्यक रहेको पनि बताए।
दुई दिनसम्म चल्ने सम्मेलन सोसाइटी अफ लाइफ साइन्सेस नेपाल र डिकोड जेनोमिक्स एन्ड रिसर्च सेन्टरले संयुक्त रुपमा आयोजना गरेका हुन्। नेपालमा जेनेटिक रोगका विषमा निकै कम मात्रामा अध्यनन, अनुसन्धान भएको र राज्यले पनि यो क्षेत्रमा आवश्यक पहल गर्न नसकेको भन्दै सरकारलाई सचेत गराउँदै जनचेतना फैलाउन सम्मेलनको आयोजना गरिएको आयोजकले जनाएको छ।