तीन तहका सरकार छन् । संघीयता कार्यान्वयनकै चरणमा छ । यसै पनि सधैं जनशक्तिको अभाव झेलिरहेको स्वास्थ्य मन्त्रालयअन्तर्गतका माथिल्ला तहदेखि तल्लो तहसम्मका कर्मचारीहरुलाई भ्याइनभ्याइ हुनुपर्ने हो । तर, अवस्था के छ भने सहसचिव सरहकै १३ जना कामविहीन छन् । उनीहरु आफैँ ‘हामी त बेरोजगार भयौँ’ भनिरहेका छन्।
डा रमेश खरेल, डा राधिका थपलिया, डा सुष्मिता भण्डारी, बद्री बहादुर खड्का, खिमबहादुर खड्का, दिनेश चापागाईं, रमेश प्रसाद अधिकारी, चन्द्रदेव मेहेता, हरिशचन्द्र साह र विनोद विन्दु शर्मा रहेका छन्।
फाजिलमा रहेकामध्ये एक डा रमेश खरेल आफू जिम्मेवारीविहीन रहेको बताउनुपर्दा अप्ठ्यारो लाग्ने बताउँछन् । उनी भन्छन्, ‘जनताको घरदैलोमा पुगेर सेवा दिने उद्देश्य लिएको बेलामा कर्मचारीहरु फाजिलमा राख्नु राम्रो भएन ।’ तर, सरकारले उनीहरुलाई कुनै जिम्मेवारी दिन सकेको छैन।
कति फाजिलका सहसचिव आफूलाई ‘करिडोर’ महाशाखाका प्रमुख भनेर आफैंमाथि क्रुर ठट्टा गर्छन् । अर्थात् जिम्मेवारी र बस्ने कोठासमेत नभएको ‘हाकिम’का रुपमा उनीहरु चिनाउँछन् । हरेक दिन मन्त्रालय आउने, हाजिर गर्ने र घर फर्किने उनीहरुको दिनचर्या छ । ११औँ तहका मात्रै होइन, १०औँ तहका ३१ जना, सातौँ तहका ४ सय १३ जना, मलेरिया इन्सपेक्टर चौथो, पाचौं र छैठौँ तहका ३६ र धेरै तथ्यांक अधिकृत यतिबेला बेरोजगार छन्।
एक महिनादेखि आफू मन्त्रालयमा हाजिर गर्न मात्रै आउनुपरेको ११औँ तहका अर्का कर्मचारी खिमबहादुर खड्का बताउँछन् । उनी भन्छन्, ‘म आफैं केही काममा सघाउन सक्छु कि भनेर महाशाखा धाउने गरेको छु।’
लामो समय जिम्मेवारी नपाएपछि ११औँ तहमा कार्यरत डा विकास लामिछानेले केही दिनअघि राजीनामाको बाटो रोजे । ‘कामको जिम्मेवारी र बस्ने कोठा केही भएन । यत्तिकै समय कटाउनुभन्दा सेवाबाटै बिदा लिनु उपयुक्त ठानेँ,’ राजीनामा दिनुको कारण डा लामिछानेले बताए।
जिल्ला जनस्वास्थ्य कार्यालय खारेज भएपछि त्यसअन्तर्गत काम गरिरहेका कर्मचारीहरु पनि अहिले क्षेत्रीय वा प्रदेशस्तरका कार्यालयमा हाजिर गरेर जागिर पकाइरहेका छन्।
स्वास्थ्य मन्त्रालयको नेतृत्वले उपयुक्त निर्णय लिन नसक्दा सहसचिव नै जिम्मेवारीविहीन हुनुपरेको फाजिलमा परेका एघारौं तहका एक कर्मचारीले बताए । उनले भने, ‘मन्त्रालय र विभागका महत्वपूर्ण ठाउँमा निकटस्थ व्यक्तिलाई जिम्मेवारी दिइयो । तर, पहिलेदेखि नै जिम्मेवारीमा रहेकाहरुलाई त्यहाँबाट हटाएर कहाँ पठाउने भन्ने योजना बनाइएन?’
खटेर काम गर्ने बेलामा जिम्मेवारीविहीन छौं
डा रमेश खरेल, ११औं तह (फाजिल)
हामी ११ तहका पनि केही कर्मचारी फाजिल छौं । अहिले हाम्रो काम मन्त्रालय आउने, हाजिर गर्ने, फर्कने भएको छ।
हुनत, मन्त्रालयका विभिन्न काममा केही जिम्मेवारी निर्वाह गरे पनि तोकिएको काम नहुँदा र बस्ने ठाउँ नहुँदा कार्यालय समयभरि बस्न पनि निकै अप्ठेरो हुने रहेछ । मलाई अहिले प्रदेशको समीक्षा गोष्ठीको जिम्मेवारीमा पनि पठाइएको छ । म केही दिनअघि दुई नम्बर प्रदेश गएर फर्किएको छु।
तर त्यहाँ जाँदा पनि अप्ठेरो हुने । आफ्नो मन्त्रालयमा कुनै जिम्मेवारी छैन भन्ने कुराले नरमाइलो लाग्ने रहेछ । जनताको घरदैलोमा पुगेर सेवा दिने उद्देश्य लिएको बेलामा कर्मचारीहरु फाजिलमा राख्नु राम्रो भएन । खटेर काम गर्ने बेलामा हाजिर गर्दैै घर फर्कनुपर्ने अवस्था असजिलो लाग्छ तर यो समस्या छिट्टै समाधान होला भन्ने आशा राखिएको छ।
स्थानीय तहमा पनि कर्मचारी नभएकोले काममा अप्ठेरो परेको देखियो । त्यहाँ पनि अन्योल छ । प्रदेश र स्थानीय तहमा खटाइएका कर्मचारीको विज्ञता एउटा, कामको जिम्मेवारी अर्को हुँदा समस्या छ।
पहिले नै यस्ता कुरामा ध्यान पुग्नुपथ्र्यो । नयाँ संरचनामा काम गर्ने भएकाले कमसेकम पनि त्यो कुरा विचार नपुग्दा असहज स्थिति बनेको छ ।
एउटाको कुर्सीमा अर्कोलाई ल्याएर राखेपछि फाजिल हुँदैन त ?
मोहम्मद दाउद
हामीले सविधानले भनेअनुसार स्थानीय तहबाट आधारभूत स्वास्थ्य सेवा दिने हो । तर, अहिलेसम्म आधारभूत स्वास्थ्य सेवा यो–यो हो भनेर स्पष्ट हुन सकेको छैन।
मेरो नेतृत्वमा स्वास्थ्य मन्त्रालयको नयाँ संरचना बनाउने जिम्मेवारी थियो । त्यो बेला हामीलाई सानो संरचना बनाउने, जनशक्ति कम राख्ने, सबै अधिकारी स्थानीय तहमा गएकाले स्वास्थ्यको ठूलो संरचना नबनाउने भनिएको थियो । सोहीअनुसारको मिहिनेत गरी १४ महिना लगाएर संरचना बनाइयो। कर्मचारीलाई प्रदेश र स्थानीय तहमा व्यवस्था गरियो।
तर, त्यो लागू त गर्नुप¥यो नि ! त्यसपछि न थाहा पाइन्छ अप्ठ्यारा । तोकिएको ठाउँमा, तोकिएको जिम्मेवारीमा कर्मचारी नपठाउने अनि फाजिल रहे भन्ने ? जसको जहाँ दरबन्दी छ, ती व्यक्तिलाई सो स्थानमा पठाउने हो भने कोही पनि फाजिल रहँदैन।
जनस्वास्थ्य प्रशासकको कुर्सीमा अर्को समूहको व्यक्तिलाई ल्याएर राख्ने, एउटाको ठाउँमा अर्काको समूहलाई ल्याएर राखेपछि फाजिल हुँदैन त ?
यो पनि पढ्नुहोस्