फाइल तस्बिर
काठमाडौं– नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गैर स्वास्थ्यकर्मीलाई सचिवको जिम्मेवारी दिएकोमा विरोध जनाएको छ। संघले तत्कालै उक्त निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ।
संघले विज्ञप्ति जारी गर्दै निर्णय फिर्ता लिन माग गरेको हो। संघले उक्त निर्णयको विरोध गर्न देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आग्रह समेत गरेको छ।
‘स्वास्थ्य सेवा ऐनको दफा १९ अनुसार वरिष्ठ स्वास्थ्यकर्मी स्वास्थ्य सचिवमा नियुक्त हुँदै आएकोमा हाल उक्त ऐनको भावना र मर्म विपरित गैर स्वास्थ्यकर्मीको स्वास्थ्य सचिवका रुपमा सरुवा गरिएको निर्णयबाट नेपाल चिकित्सक संघ स्तब्ध भएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘ सरकार आफैले निर्माण गरेको ऐन विपरित सम्पूर्ण स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको भावनामा चोट पुग्ने गरी गरिएको यसप्रकारको निर्णयले नेपालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई गम्भिर आघात पुर्याएको छ । यस्तो बिषयपूर्ण परिस्थितिमा निर्वाध रुपमा पुर्याउँदै आएको स्वास्थ्य सेवा प्रवाहमा तत्काल असर पर्ने भएको हुँदा उक्त निर्णय यथासिघ्र फिर्ता लिन नेपाल चिकित्सक संघ नेपाल सरकारसमक्ष जोडदार माग गर्दछ।’
संघले संघसँग ०७१ भदौ ८ गते विपरित गैर स्वास्थ्यकर्मीलाई सचिवको रुपमा स्वास्थ्य मन्त्रालयमा ल्याइएको हुनाले उक्त कार्यको विरोधका लागि संघका सबै शाखा कार्यालयलाई तयारी अवस्थामा बस्न र देशभरका डाक्टर तथा स्वास्थ्यकर्मीलाई विरोध जनाउन पनि अपिल गरेको छ।
सरकारले स्वास्थ्य सचिवमा प्रशासन समूहका केदारबहादुर अधिकारीलाई ल्याएको छ। अधिकारीले आज स्वास्थ्य मन्त्रालयमा गएर हाजिर समेत गरिसकेका छन्।
