काठमाडौं– प्रशासन समूहका कर्मचारीलार्इ स्वास्थ्य सचिवको जिम्मेवारी दिइएको प्रति सरकारी चिकित्सक संघले पनि विरोध जनाएको छ। संघले प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवा ऐनको मर्मलाई लत्याएको भन्दै विरोध जनाएको हो। सरकारले केही दिनअघि मात्रै प्रशासन समूहका केदार बहादुर अधिकारीलार्इ स्वास्थ्य सचिवको जिम्मेवारी दिएको हो।
भनिएको छ, 'सम्पूर्ण नेपाली नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जस्तो महत्वपूर्ण मन्त्रालयको सचिव जस्तो सर्वोच्च कार्यकारी जिम्मेवारी स्वास्थ्य सम्बन्धी ज्ञान र अनुभव नै नभएका व्यक्तिलाई दिएको प्रति यस संघको गम्भीर ध्यानाकर्षण भएको छ।'
स्वास्थ्य क्षेत्रमा लामो अनुभव भएका व्यक्ति सचिव हुन योग्य स्वास्थ्यकर्मीहरू रहँदा रहँदै पनि वहाँहरूको स्वास्थ्य क्षेत्रको योगदान, स्वास्थ्य सम्बन्धी ज्ञान, अनुभव र दूरदर्शितालाई पाखा लगाउँदै केवल राजनीतिक भाग-बन्डाका आधारमा सचिव नियुक्त गरिनुले स्वास्थ्यकर्मीहरूलाई निरुत्साहित गरेको र सिँगो देशको स्वास्थ्य क्षेत्र नै धरासायी बनाएको संघको ठहर छ।
पटक–पटकको यस संघलगायत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मी संघहरूले यस विषयमा आवाज उठाएता पनि सरकारले बुझ पचाएको भन्दै नेपाल चिकित्सक संघसँग पूर्ण समर्थन जनाइएको छ।
स्वास्थ्य मन्त्रालयमा गैर स्वास्थ्यकर्मीको नियुक्तिको निर्णय तत्काल फिर्ता लिएर स्वास्थ्य सेवा ऐनको पालना तथा स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्न संघका अध्यक्ष डा दिपेन्द्र पाण्डे हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ। त्यसो नगरिए देशभरि नै आन्दोलनका थप कडा एवं संघर्षका निर्णायक कदमहरू चालिने बताइएको छ।