काठमाडौं– महाराजगञ्जस्थित त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को मेडिकल क्याम्पसमा अध्ययनरत चिकित्साका विद्यार्थी बस्ने होस्टलको अवस्था निकै खराब र दयनिय अवस्थामा रहेको छ। होस्टलको कोठामा जसोतसो बसिरहेका विद्यार्थीहरुले खानेपानीको विषयमा पटक पटक आवाज उठाए पनि सम्बोधन हुन सकेको छैन।
बिरामी तथा आम नागरिकलाई सफा र शुद्ध पानी पिउन सुझाब दिने डाक्टरहरु उत्पादन गर्ने कलेजको होस्टलमै लेउ, लेदो र गड्यौला मिसिएको पानी आउने गरेको गुनासो विद्यार्थीहरुले गरेका छन्।
क्याम्पसमा अध्ययनरत विद्यार्थी सन्तोष उपाध्यायले यो विषयमा पटक पटक आवाज उठाँदा समेत समस्या समाधान नभएको गुनासो गरे। उनले यो विषयमा क्याम्पस प्रशासन, विद्यार्थी नेता, प्राध्यापक लगायतका सबै स्थानमा जानकारी गराउँदा पनि सुनुवाई नभएको बताए।
होस्टलको पानीका गुणस्तरका विषयमा विद्यार्थीहरुले आफैँ मिलेर परीक्षण समेत गरेका थिए। परीक्षणका क्रममा होस्टलमा रहेको पानीमा हानिकारक किटाणु फेला परेको थियो।
होस्टलले विगतमा बोरिङ गरेर जम्मा गरेर वितरण गर्ने पानीलाई फिल्टर गर्ने गरेको थियो। तर, उक्त फिल्टरहरु बिग्रिएको लामो समय भइसक्दा पनि मर्मत नभएको भन्दै विद्यार्थीले गुनासो गरेका छन्।
विद्यार्थीहरु जीवन घिमिरे, मनिष मेहता, गोविन्द पाण्डेय, एमडी दिल्शाद सिद्धिकी, राजन अधिकारी र दिवस रिजालले त होस्टल प्रशासन प्रमुखलाई पत्र समेत पठाएका छन्।
हेरौँ पत्र
पत्र पठाउँदा समेत सुनुवाइ नभएपछि विद्यार्थीहरुले सामाजिक सञ्जाल मार्फत सुधारका लागि दवाव दिने अभियान समेत सुरु गरेका छन्।