मुख्य समाचार

स्वास्थ्यका कर्मचारी सरुवा रोकियो : कर्मचारी समायोजन नभएसम्म सरुवा नगर्ने सरकारको निर्णय

समायोजनमा सहभागी हुन ८८ हजार कर्मचारीलाई ‘एसएमएस’

सुवास भट्ट

काठमाडौं– कर्मचारी समायोजन प्रक्रिया पूरा नभएसम्मका लागि सरुवा रोक्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेवा सञ्चालन गर्ने सबै मन्त्रालयलाई पत्राचार गरेको छ। मन्त्रालयको यो पत्राचारसँगै स्वास्थ्य मन्त्रालय र मातहतका कार्यालयमा हुन लागेको सरुवा समेत रोकिने भएको छ।

स्वास्थ्य सेवा विभागले गत महिना २ हजार भन्दा बढीको एकैपटक सरुवा गरेको थियो। आर्थिक चलखेल, दवाव र हचुवाको भरमा गरिएको उक्त सरुवा विवादमा आएपछि विभागले सरुवाको सूचि नै लुकाएको थियो। दुई चरणमा केही कर्मचारीको सूचि सार्वजनिक गरे पनि बाँकीको सूचि भने अझै लुकाइएको छ। 

समायोजन अध्यादेश आएसँगै सरकारको पछिल्लो निर्णयले स्वास्थ्यको सरुवामा पनि असर गर्ने भएको हो। 

समायोजन प्रभावित हुनसक्ने आधारमा कर्मचारी सरुवा रोक्न सेवा सञ्चालन गर्ने सबै मन्त्रालय र निकायलाई पत्राचार गरिएको मन्त्रालयको कर्मचारी समायोजन शाखाकी उपसचिव अनिता निरौलाले जानकारी दिइन्।

'कर्मचारी समायाेजन अध्यादेश कार्यान्वयनका लागि कर्मचारीको विवरण अद्यावधिक गर्नुपर्ने र यस्तो समयमा सरुवा जारी रहँदा समायोजन कार्यमा अवरोध पुग्ने भएकाले समायोजन नसकिँदासम्म सरुवासम्बन्धी कार्यलाई स्थगित गर्न पत्राचार गरेका छौं,’ उपसचिव निरौलाले भनिन्।

यसैगरी 'कर्मचारी समायोजन अध्यादेश, २०७५' बमोजिम संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन कार्य प्रारम्भ भइसकेको मन्त्रालयले जनाएको छ। समायोजन प्रक्रियामा सहभागी भई १५ दिनभित्र आफ्नो विवरण राष्ट्रिय किताबखानामा अद्यावधिक गर्न मन्त्रालयले सबै निजामति कर्मचारीलाई ‘एसएमएस’मार्फत जानकारी गराएको छ। ‘८८ हजार १ सय ६३ कर्मचारीलाई मन्त्रालयले यस्तो एसएमएस पठाएको छ,’ निरौलाले भनिन्।

त्यस्तै, साबिकका स्थानीय निकायबाट स्थायी नियुक्ति पाई बहाल रहेका कर्मचारीलाई आफ्नो कार्यपालिकाबाट निर्णय गराई स्थायी नियुक्तिको सक्कल प्रति रुजु गरी १० दिनभित्र समायोजनको पत्र मन्त्रालयलाई उपलब्ध गराउनसमेत सबैै स्थानीय तहलाई परिपत्र गरिएको मन्त्रालयले जनाएको छ। 

सरकारले आगामी १५ माघभित्र कर्मचारी समायोजन सक्ने लक्ष्य लिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेकाे प्रेस नाेट:

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

बिजय लेख्नुहुन्छ २०७५ मङ्सिर २५ मंगलबार ८:०३ 

सरुवा स्थगन प्रस्ताव पश्चात हजारौ श्रमजीविहरुको करोडमा खेल्ने स्यालहरुको दाउ खत्तम भएको छ । र पनि तालुक निकायमा कार्यरत डीजी चै स्वास्थ्य मन्त्री भन्दा अझ शक्तिशाली हु, देखिनु चै पहाडसंग कुहीनो जुधाए जस्तो पो होला ।

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने