काठमाडौं– स्वास्थ्य सचिवबाट प्रधानमन्त्री कार्यालयमा सरुवा भएपछि अदालत पुगेकी डा पुष्पा चौधरीको मुद्दामा आज सुनुवाइ हुँदैछ। चौधरी र सरकारले दायर गरेको निवेदनलाई साथै राखेर सर्वोच्च अदालतले सुनुवाइ गर्न लागेको हो।
उक्त मुद्दा न्यायाधीश हरिकृष्ण कार्की र सपना प्रधान मल्लको इजालासमा पेसी रहेको छ। 'ख' नम्बरमा रहेको उक्त मुद्दामा सरकारका दुर्इ निवेदन, डा चौधरी, स्वास्थ्य मन्त्रालय गरी चार थान रहेका छन्।
स्वास्थ्य सचिवको जिम्मेवारी कुशल ढंगल निर्वाह नगरेको भन्दै सरकारले चौधरीलाई कारबाहीस्वरुप प्रधानमन्त्री कार्यालय तानेको थियो।
सरकारको उक्त निर्णयलाई चुनौती दिंदै चौधरीले २०७५ कात्तिक १५ गते रिट दायर गरेकी थिइन्। सर्वोच्चले तत्काल स्वास्थ्य सचिवबाट नहटाउन अन्तरिम आदेश जारी गरेपछि उनी स्वास्थ्य मन्त्रालय नै फर्केकी थिइन्। तर सरकारले अदालतको आदेशविरुद्ध २०७५ मंसिर ५ गते भ्याकेटको निवेदन दायर गरेको थियो।
उक्त निवेदनमा सुनुवाइ गर्दै चौधरीलाई झिकाउने आदेश गरेको थियो। बुधबार सर्वोच्चले यसअघि जारी भएको अन्तरिम खारेज हुने वा नहुने विषयमा निर्णय गर्नेछ।
अन्तरिम आदेश निरन्तर गरेमा उनी स्वास्थ्य मन्त्रालयमा फर्कन पाउने छन्। खारेज भएमा उनी प्रधानमन्त्री कार्यालय हाजिर हुनुपर्ने छ।
मुद्दाको सुनुवाइ हुनुअघि नै सरकारले प्रशासन समूहका केदारबहादुर अधिकारीलार्इ स्वास्थ्य सचिवको जिम्मवारी दिइसकेको छ। डा चौधरीलार्इ प्रधानमन्त्री कार्यालयमा सरुवा गरिए पनि स्वास्थ्य सचिवमा स्वास्थ्य सेवामै रहेका कर्मचारी नियुक्त गर्नुपर्ने माग स्वास्थ्य क्षेत्रका संघसंगठनहरुले गरिरहेका छन्।