फिचर

अन्तर्राष्ट्रिय जगत्‌मा नेपाली युवतीको ख्याति, के हो उनले डिजाइन गरेको महिनावारी पेन्टी?

लन्डनमा बेस्ट न्यु बिजनेस र इनोभेसन अवार्ड

बुनु थारु

काठमाडौं- १२ वर्षकी थिइन्, रुबिना राउत। जब उनलाई पहिलो पटक महिनावारी भयो, घरसँगको 'सम्बन्ध विच्छेद' भयो। अभिभावकले एक हप्ताका लागि आन्टीको घरमा पठाइदिए। 

'त्यो एक हप्ता म कैदीसरह बन्नुपर्यो,' उनी सम्झन्छिन्, 'त्यो समय मेरा लागि अन्धकारपूर्ण थियो, जुन म बिर्सन सक्दिनँ।'

उनका लागि भाँडाकुँडा पनि छुट्टै थियो। बोटबिरुवा छुन नहुने, कुनै केटाको मुख हेर्न नहुने भनेर सिकाइएको थियो। 'म त घाम हेर्न पनि पाउँदिन थेँ,' उनले सम्झिइन्, 'यस्ता कुराले मेरो बालमस्तिष्कलाई गहिरो छाप छाडिदियो। छाडपडी भनेको गोठमा गएर बस्नु मात्र होइन, यसरी कडा रुपमा बार्नु पनि छाउपडी हो, जुन अहिलेसम्म घरघरमा छ।’

पाटनको लायाकु रेस्टुरेन्टमा गफिँदै गर्दा रुबिनाले त्यो सकसपूर्ण भोगाइदेखि यहाँसम्म आइपुग्दाको सफलताबारे सरसर्ती बयान गरिन्। यस्तो सकसबाट मुक्ति पाउन के गर्ने? यसबारे उनले पहिलेदेखि नै सोचिरहेकी थिइन्। जब उनी बेलायत पुगिन्, त्यहीँ जन्मियो नयाँ आइडिया। 

उनको त्यही आइडियाको उत्पादन हो- महिनावारी पेन्टी। जसका कारण उनी विदेशी भूमिमा सफल व्यवसायी बनेकी छिन्।

सारीको मुजादेखि महिनावारी पेन्टीसम्म
पाँचथरको यासोकमा २८ वर्षअघि जन्मिएकी रुबिना ४ कक्षा पढ्दैगर्दा परिवारसँगै झापाको भद्रपुर झरिन्। २० वर्षको उमेरमै लन्डन छिरेकी उनले कलिलैमा लोभलाग्दो सफलता हासिल गरेकी छन्। 

उनले उत्पादन गरेको ‘उका’ नामक महिनावारी पेन्टीले अहिले विश्व बजारमा प्रख्याति कमाइरहेको छ।

यो सफलताको पृष्ठभूमि र कारक भनेको उनले सानोमा भोगेको सकस नै हो। जुन सकस उनले आमा र हजुरआमाहरुमा पनि महिनावारीका बेला देखेकी थिइन्।

महिनावारी हुँदा आमा-हजुरआमाहरुले सारीको मुजा बनाएर त्यसको कपडा खाँद्थे। तर, कहिलेकाहीँ त्यो खुस्किने हुन्थ्यो त कहिले रगत बग्थ्यो। ‘हामी दिदीबहिनी पनि मम्मीको पुरानो सारी च्यातेर महिनावारी भएका बेला कपडा राख्थ्यौँ। पैसाको हिसाबले पक्कै पनि कम खर्चालु हुन्थ्यो,' तर उनमा चिन्ता थियो, 'कतै खेल्दा वा दौँडिदा त्यो झरेर भुँइमा खस्नै हो कि भनेर तनाव भइरहन्थ्यो।'

यही भयले उनले आफूलाई मन पर्ने खेलकुदमा सहभागिता हुन छाडिन्। 'कतिसम्म भने स्कुलमा राम्रो शौचालय नहुँदा महिनावारी भएको बेला पिसाब च्याप्दा किड्नीको समस्यासमेत देखिएको थियो,' उनले सुनाइन्।

अझै पनि धेरै बालबालिका महिनावारी भएको बेला स्कुल छाड्ने, गए पनि राम्रो शौचालय नहुँदा समयमा पिसाब फेर्न पाउँदैनन्। यसले पछि किड्नी फेल हुने सम्भावना रहन्छ। महिनावारीका बेला 'कम्फर्ट जोन' निर्माण गरिदिन पनि आफूले यस्तो पेन्टीको सोच बनाएको रुबिना बताउँछिन्।
 
पैसाभन्दा आइडिया ठूलो
अचम्म त, यी उत्पादनको यहाँसम्म विस्तार गर्दा रुबिनाले एक पैसा पनि लगानी गरिनन्। 

'यो व्यापारको रुप सबै मेरो आइडियाले बनेको हो,' उनी गर्विलो स्वरमा भन्छिन्, 'पैसाभन्दा आइडिया ठूलो हुने रहेछ।’

स्नातक सिद्धिएपछि उनले लन्डनमै वुमन इन्भाइरमेन्टल नेटवर्कमा काम गरिन्। त्यहाँ सहभागीहरुलाई महिनावरी प्रोडक्टसम्बन्धी सबैले आ–आफ्नो आइडिया ल्याउन भनिएको थियो। त्यसपछि उनले यो पेन्टी बनाउने सोच बनाइन्। 

‘पेन्टीमै रगत सोस्ने कपडा सिलाउँदा सजिलो र आरामदायी हुने सोचेर ४० वटाजति फेब्रिक जम्मा गरेँ र सिलाएँ,' उनले यसको सुरुवातबारे सुनाइन्, 'अनि आफै परीक्षण गरेँ। मलाई निकै आरामदायी लाग्यो। त्यसपछि व्यापारीकरण कसरी गर्न सकिन्छ भनेर सोच्न थालेँ।’

उनले यो उत्पादन एक वर्ष अघिबाट सुरु गरेकी हुन्। उनले जब आफ्नो आइडियाबारे भनिन्, सबैले अप्रत्यासित प्रतिक्रिया देखाए। उनले त्यसपछि फन्डिङ सुरु गरिन्। २ हप्तामै ७ हजार पाउन्ड जुटाउन सफल भइन्। पेन्टी तयार गरेर त्यहाँका स्थानीय महिलामा परीक्षण गरिन्। सबैले उनको यो कामलाई मन पराए।

उनलाई यस कार्यमा श्रीमान्‌ले पनि निकै सहयोग गर्ने गरेका छन्। 


पुरुषलाई पनि महिनावारी शिक्षा दिनुपर्छ
नेपालको सुदूरपश्चिमतिर अझै पनि महिनावारी हुँदा घरबाट टाढा गोठमा बस्नुपर्ने छाउपडी प्रथा कायमै छ। त्यसबेला किशोरी तथा महिलाले भोग्नुपर्ने पीडा त छँदैछ त्यसमाथि सरसफाइ तथा सुरक्षाको कुरा महत्वपूर्ण हुन्छ।

महिनावारी स्वास्थ्यको बारेमा धेरै मानिसलाई चासो छैन। सरसफाइमा ध्यान नपुर्याउँदा महिलाहरुमा विभिन्न यौनरोग निम्तिने खतरा हुन्छ।

'महिलाहरुले आफ्नो बारेमा कहिल्यै सोच्दैनन्। अरुलाई समय दिँदादिँदै आफ्नो लागि उनीहरुसँग समय नै हुँदैन,' उनी भन्छिन्, 'अनि कसरी गरुन् आफ्नो स्वास्थ्यको हेरचाह?'

महिनावारी शिक्षा सबैतिर फैलिनुपर्ने उनी बताउँछिन्। जस्तो कि पुरुषले यनि यसको महत्वको बारेमा थाहा पाऊन्। किशोरी तथा बूढापाकाहरुलाई पनि यसप्रति सकारात्मक बनाउनुपर्छ। 

महिनावारीका बेला महिलाहरुमा हार्मोन परिवर्तन भइरहेको हुन्छ। मन अस्थिर हुन्छ। 'कुनै पतिले श्रीमतीलाई एक ग्लास तातो पानी दिएर भए पनि महिनावारी भएको बेलामा सहयोग गर्न सक्छन्,’ उनी भन्छिन्।

बिस्तारै समाज खुल्दै गए पनि अझै मानिसमा जनचेतना पुगिसकेको छैन। छाउपडी गोठहरु भत्काइए पनि महिनावारी बार्ने कुरा मनबाट भत्केको छैन। उनी भन्छिन्, 'म महिनावारी सम्बन्धी नकारात्मक सोच तथा कुरीति बदल्न चाहन्छु, मेरो प्रोडक्ट यसैको एउटा अंग पनि हो।'

महिनावारी सम्बन्धी सामग्रीहरुमा यसै पनि धेरैले लगानी गरेका छैनन्। त्यसमाथि नेपाली महिलाले विदेशी भूमिमा यस्ता सामग्रीहरु बनाएर मन जित्नु गौरवको विषय हो।

पहिलापहिला महिलाहरुले महिनावारीको रगत बग्न रोक्न धोती–साडी च्यातेर बनाएर राख्थे। अहिले प्याड, टेम्पोन तथा मेन्स्ट्रुएल कपहरु आएका छन्। यसबाहेक यो महिनावारी पेन्टी पक्कै पनि नयाँ 'आविष्कार' हो भन्छिन् उनी। 

व्यापारमा नयाँ आयाम थपेको भन्दै बेस्ट न्यु बिजनेस अवार्ड र इनोभेसन अवार्डबाट रुबिना लन्डनमा पुरस्कृत भइसेकेकी छिन्। 

'अझै धेरैतिर यसको बारेमा मलाई भन्नुछ। मलाई लाग्छ यो पेन्टीबारे ५ प्रतिशतलाई मात्र थाहा होला। ९५ प्रतिशत अनभिज्ञ छन्,' उनी भन्छिन्।

आफ्नो प्रयासले ६ महिनाको बीचमा १.६ मिलियन टेम्पोन र प्याड ल्यान्डफिलमा जान रोक्नुलाई मुख्य उपलब्धि मान्छिन् उनी। 'म आफ्नो कामलाई अझ विस्तार गर्न चाहन्छु,' आफ्नो उत्पादनमा निकै सन्तुष्ट रुबिनाले भनिन्, 'मेरो काम अरुले पनि सिकून् र व्यवसायमा हात हाल्न सकून्।

उका पेन्टीको विशेषता
यो पेन्टी अरुजस्तै साधारण देखिन्छ। तर काम भने असाधारण छ। यसको विशेषता भनेको बगिरहेको रगत सोस्नु हो। यो एउटा पेन्टीले सय वटा प्याड र टेम्पोन बराबरको काम गर्ने रुबिनाले बताइन्। 

'यसलाई अधिकतम ८ घन्टासम्म लगाउन मिल्छ। तल्लो भागमा लिकप्रुफ रहेको छ, जसले रगत लुगामा लाग्न दिँदैन। र, भिजेको जस्तो महसुस पनि हुँदैन,' उनले विशेषताबारे थप प्रस्ट्याइन्, 'यो दुई प्रकारको बनाइएको छ। धेरै रगत बग्न दिने खालको र थोरै रगत बग्ने खालको।'

यसले २० मिलिसम्म रगत सोस्छ। प्राय: महिलाहरु सामान्तया ४० देखि ६० मिलि रगत बग्छ। अलि कम रगत आएको दिनमा त दिनभर वा रातभर नै लगाउन सकिन्छ। 

पूरै भिजेपछि रगत पखालेर सामान्य लुगा जस्तै धुन सकिन्छ। राम्ररी धोएर सुकाउनुपर्छ। धेरैचोटि प्रयोग गर्न मिल्छ। धैरैपटक प्याड किनिरहन पसल धाइराख्नुपर्दैन र पैसा धेरै खर्च पनि हुँदैन। 

'यो वातावरणमैत्री पनि छ। यसले धेरै मात्रामा प्रदूषण पनि रोक्ने काम गरेको छ,' रुबिना भन्छिन्, '९० प्रतिशत प्याडहरु प्लास्टिकले बनेका हुन्छन्। जसले कुहिनको लागि ६ सयदेखि ८ सय वर्षसम्म लाग्छ।'

यस्ता पेन्टीहरु अरु देशमा उत्पादन नभएका होइनन् तर हरेकका आ–आफ्ना विशेषता छन्। अरुले बनाएको पेन्टी टेम्पोन र प्याड लगाएर ब्याकअप जस्तो गरी मात्र लगाइन्छ भने यो पेन्टी लगाएपछि केही अरु प्रयोग गर्नु पर्दैन। यो धेरै रगत बग्ने दिन पनि टेम्पोन र प्याड नलगाई पनि प्रयोग गर्न मिल्छ। यो एकदम नरम र मुलायम लेन्जिङ माइक्रोमोडल फेब्रिकबाट निर्मित छ, जुन बिच ट्रि (एक प्रकारको रुख) बाट बनाइन्छ। 

यो आरामदायी भए पनि केही महँगो छ। एउटा पेन्टीकै २४.९९ पाउन्ड (३ हजार ६ सय) पर्छ।

पेन्टीसँगै यसैको सेटमा रुबिनाले ब्रा पनि डिजाइन् गरेकी छन्। 

'महिला सम्बन्धी काम गरिरहेका कुनै आइएनजिओ छन् र त्यसमार्फत फन्डिङ भेट्टायौं भने यसमा च्यारिटी गर्न सकिन्छ,' उनी भन्छिन्, 'ताकि किन्न नसक्ने किशोरी तथा महिलाले पनि यसको प्रयोग गर्न पाऊन्।'
 

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने