दाङ –दाङको घोराहीमा रहेको राप्ती उपक्षेत्रिय अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने खबर सुन्दा दाङवासी हर्षित थिए । केही विवाद र असहमतिका बीच राप्ती उपक्षेत्रीय अस्पतालको स्वामित्व राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरिँदा यहाँका बासिन्दालाई लागेको थियो, ‘स्वास्थ्य क्षेत्रमा अब प्रतिष्ठानले गुणात्मक फट्को मार्ने भयो।’
तर हस्तान्तरणको ४ महिना पनि नपुग्दै प्रतिष्ठानका कामकारबाही प्रति जनगुनासो बढ्न थालेको छ । पछिल्लो समय प्रतिष्ठानले ५ वर्षदेखि ‘राप्ती अञ्चल’को एक मात्र पोषण पुनःस्थापना गृहको अस्तित्व समाप्त पारेको छ । पोषण पुनःस्थापना गृह बन्द गरेसँगै यस क्षेत्रका कुपोषित बालबालिकाले निःशुल्क पाउने उपचार तथा आवास सेवाबाट वञ्चित भएका छन्।
यस क्षेत्रमा कुपोषित बालबालिकाको संख्या उल्लेख्य भएको निचोड निकाल्दै यसको निवारण गर्ने उद्देश्यले नेपाल युथ फाउन्डेसनद्वारा ५ वर्षअघि राप्ती उपक्षेत्रीय अस्पताललाई हस्तान्तरण गरेको पोषण पुनःस्थापना गृह बन्द गर्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले उक्त भवनलाई डाक्टरको गेष्ट रुम बनाएको छ ।
बार्षिक रुपमा झण्डै डेड देखि दुईसयसम्म कुपोषित बालबालिकाहरुको उपचार भइरहेको पोषण गृहमा प्रतिष्ठानले आफ्नो मातहतमा लिएपछि कुपोषित बालबालिका भर्ना गर्न छाडेको छ । अस्पताललाई प्रतिष्ठानले आफ्नो स्वामित्वमा लिने बित्तिकैबाट पोषण गृह बन्द गरी घर खालि गर्न लगातार दवाव दिएपछि बन्द गर्नुपरेको पोषणगृहकी व्यवस्थापक लक्ष्मी गैरे बताउँछिन्।
अहिले पनि कुपोषित बालबालिकाहरुका अभिभावक सम्पर्कमा आइरहेको भएपनि बालबालिका राख्ने स्थानको कुनै टुंगो नहुँदा कुपोषित बालबालिकाहरुलाई त्यसै फर्काउनु परेको गैरेको भनाइ छ।
यता प्रतिष्ठानका रजिस्ट्रार डा. रामप्रसाद प्याकुरेलले भने उपचारका लागि आउने विज्ञ डक्टरहरुका लागि कोठा आवश्यक परेकाले पोषणगृह खाली गरी आवास गृह बनाएको बताए । पोषण गृह छुट्टै घरमा नभई अस्पतालमै संचालन गर्ने प्याकुरेलको भनाइ छ।
अहिले सो भवन प्रतिष्ठानका ४ जना चिकित्सकहरुले आवासको रुपमा प्रयोग गर्दै आइरहेका छन्।
बिरामीको विचल्ली
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कुपोषित बालबालिकाहरुलाई उपचार नगरी सेवा हाललाई बन्द भएको जानकारी सहित घर फिर्ता पठाएको छ। तत्कालिन राप्ती उपक्षेत्रीय अस्पतालको स्वामित्वमा रहेको पोषण पुनःस्थापना गृहमा अन्तिम समयमा उपचार गराई रहेका ४ जना बिरामीलाई अब उपचार हुन नसक्ने भन्दै अस्पतालले घर फिर्ता पठाएको त्यहाँ कार्यरत कर्मचारीहरुले बताएका छन्।
अस्पतालले उपचार नगर्ने भन्दै घर फिर्ता गरेपछि आफ्नो छोरीको ज्यान बचाउन उपचारका लागि बुटवल पुग्नु परेको बताउँछिन् दाङ गढवाकी कविता चौधरी । पहिले आफ्नै ठाउँमा पोषण गृह भएकाले उपचार गर्न सजिलो भएपनि अहिले बन्द गरेपछि उपचारमा कठिनाइ भएको उनको भनाइ छ।
‘लामो समय अस्पतालमा राखेर उपचार गराउनु पर्छ, जिल्ला वाहिर राखेर उपचार गराउन पैसा छैन, साह्रै समस्या भएको छ,’ चौधरीले भनिन् ।