काठमाडौं– प्रशासन समूहका कर्मचारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको प्रति गैर सरकारी चिकित्सक संघले पनि विरोध जनाएको छ। संघले प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवा ऐन विपरित र चिकित्सक संघसँग विगतमा गरेको सम्झौता विपरित सचिव सरुवा गरिएको भन्दै विरोध गरेको हो।
संघले तत्कालै स्वास्थ्यमा स्वास्थ्य सेवा तर्फबाट नै सचिव बनाउन माग गरेको छ। सरकारले हालै गैर चिकित्सकलाई सचिव बनाएको निर्णयलाई तत्कालै सच्याउन पनि माग गरेको छ।
गैर सरकारी चिकित्सकले चिकित्सक संघले निकालेको विज्ञप्तिप्रति पूर्ण समर्थन रहेको पनि बताएको छ।
यसअघि नेपाल चिकित्सक संघ र सरकारी चिकित्सक संघले पनि स्वास्थ्यमा प्रशासनिक समूहको सचिव ल्याएको विषयमा विरोध जनाइसकेको छ। उनीहरुले उक्त निर्णय नसच्याए आन्दोलनको चेतावनी पनि दिएका छन्।
सरकारले स्वास्थ्य सचिवमा प्रशासन समूहका केदारबहादुर अधिकारीलाई जिम्मेवारी दिएको छ। स्वास्थ्य मन्त्रालयकी सचिव डा पुष्पा चौधरीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको थियो। उक्त सरुवाको विरोधमा डा चौधरी सर्वोच्च पुगेकी छिन्। सर्वोच्चले बुधबार डा पुष्पालाई हटाउने र अधिकारीलाई स्वास्थ्यमा ल्याउन गरिएको निर्णय मगाएको छ।