काठमाडौं– भारतबाट औषधि ल्याउन सहज बनाइदिने भन्दै घुस लिने राष्ट्रिय अनुसन्धान विभाग बर्दियाका सूचकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
औषधि खरिदका लागि नाकामा सहज बनाइदिने भन्दै अनुसन्धान विभागका सूचक दिपेन्द्र पनेरुले २० हजार घुस लिएका थिए।
सेवाग्राहीसँग घुस लिंदैगर्दा जिल्ला प्रशासन कार्यालय बर्दियाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। घुससहित नियन्त्रणमा लिएपछि पनेरुलाई थप अनुसन्धान गर्न अख्तियारको जिम्मा लगाइएको थियो।
आयोगको अनुसन्धानमा पनेरुले रकम लिएको पुष्टि भएपछि बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
अख्तियारले उनलाई भ्रष्टाचार निवारण ऐनअनुसार बिगो, जरिवाना र कैद सजाय समेत माग गरेको छ।