काठमाडौं– त्रिभुवन विश्वविद्यालयले सात महिनादेखि रिक्त रहेको त्रिवि शिक्षण (टिचिङ) अस्पताल महाराजगञ्जमा नयाँ निर्देशक नियुक्त गरेको छ। त्रिवि कार्यकारी परिषद्ले अस्पतालमा कार्यरत डा प्रेम खड्गालाई निर्देशकमा नियुक्त गरेको हो।
कार्यकारी परिषद्ले निर्देशक छनोटका लागि गठित सर्च कमिटीले सिफारिस गरेको नाममध्ये एक नम्बरमा रहेका डा खड्गालाई निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो। परिषद्ले १० दिन अघि नै खड्गालाई निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो। तर, अहिलेसम्म उक्त निर्णय गोप्य नै राखिएको छ।
डा खड्गाले पनि अहिलेसम्म नियुक्तीको पत्र नबुझेको बताए। ‘निर्णय भएको छ रे भन्ने सुनेको छु,’ उनले भने, ‘तर अहिलेसम्म पत्र भने बुझेको छैन।’ डा खड्गा करिब डेढ वर्षपछि अनिवार्य अवकाश पाउँदै छन्।
त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)का डिन डा जगदिश प्रसाद अग्रवालले समेत निर्देशक नियुक्त भएको पत्र नआएको बताए।
स्रोतका अनुसार कार्यकारी परिषद्ले खड्कालाई नै निर्देशकमा नियुक्तीको निर्णय गरेको छ। ‘निर्देशक छनोट समितिका विषयमा डा गोविन्द केसीले प्रश्न उठाएका कारण निर्णयलाई केही समय गोप्य राखिएको हुनसक्छ,’ स्रोतले भन्यो, ‘डा केसीले २ गतेपछि पुन अनसन बस्ने चेतावनी दिएका कारण यो निर्णयलाई बाहिर नल्याइएको हुनसक्छ।’
निर्देशकका लागि सिफारिस भएका तीनजनामध्ये खड्गालाई निर्देशक नियुक्तीको निर्णय गर्ने समयमा कार्यकारी परिषद्मा विवाद समेत भएको थियो। तर, पछि एक नम्बरमा सिफारिस भएका व्यक्तिलाई नै निर्देशक नियुक्त गर्नुपर्छ भन्नेमा बहुमत जुटेपछि निर्णय भएको स्रोत बताउँछ।
टिचिङको निर्देशक सिफारिसका लागि त्रिविले दुई पटक सर्च कमिटी बनाएको थियो। पहिलो पटक बनाइएको कमिटीले नाम सिफारिस गर्न नसकेपछि कात्तिक ८ मा पुन दोस्रो कमिटी बनाइएको थियो। डा अग्रवालको संयोजकत्वमा गठित उक्त कमिटीको सदस्यमा डा प्रदीप ज्ञवाली र डा अभिमन्यु झा सदस्य थिए।
कमिटीले डा खड्गा सहित डा वाइपी सिंह र डा सुशील शिल्पकारलाई निर्देशकमा सिफारिस गरेको थियो। त्रिविले यी तीनमध्ये पहिलो नम्बरमा रहेका खड्गालाई निर्देशक बनाउने निर्णय गरेको हो।