काठमाडौं - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलले कर्मचारी समायोजनको काम अगाडि बढाएको छ। कर्मचारी वृत्तमा निकै चासोका साथ हेरिएको ‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएपछि मन्त्रालयले काम अघि बढाएको हो।
ुकर्मचारी समायोजन अध्यादेश, २०७५ु बमोजिम संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन कार्य प्रारम्भ भइसकेको मन्त्रालयले जनाएको छ। समायोजन प्रक्रियामा सहभागी भई १५ दिनभित्र आफ्नो विवरण राष्ट्रिय किताबखानामा अद्यावधिक गर्न मन्त्रालयले सबै निजामति कर्मचारीलाई ‘एसएमएस’मार्फत जानकारी गराएको छ। ८८ हजार १ सय ६३ कर्मचारीलाई मन्त्रालयले यस्तो एसएमएस पठाएको हो।
त्यस्तै, साबिकका स्थानीय निकायबाट स्थायी नियुक्ति पाई बहाल रहेका कर्मचारीलाई आफ्नो कार्यपालिकाबाट निर्णय गराई स्थायी नियुक्तिको सक्कल प्रति रुजु गरी १० दिनभित्र समायोजनको पत्र मन्त्रालयलाई उपलब्ध गराउनसमेत सबै स्थानीय तहलाई परिपत्र गरिएको मन्त्रालयले जनाएको छ।
यो प्रक्रियामा संघीयता अनुसार बनाइएको नयाँ संरचनामा धेरै कर्मचारीहरु फाजिलमा परेका छन्। समायोजन प्रक्रियामा फाजिलमा रहेका कर्मचारीले हाल कार्यरत कार्यालयमा कुन कार्यालय उल्लेख गर्ने भन्ने प्रश्न गर्न थालेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित अन्य मन्त्रालयबाट पनि यो विषयमा प्रश्न उठेको बताइएको छ। स्वास्थ्य मन्त्रालय र मातहतका कार्यालयमा ११ औं तहका १३ जनासहित दुई हजारभन्दा बढी कर्मचारी फाजिलमा छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलका अनुसार फाजिलमा रहेका कर्मचारीले हाजिर भइरहेको कार्यालयबाट फाजिल जनाई आवेदन गर्न सक्नेछन्। ‘हाल कार्यरत कार्यालय’लाई नै फाजिल जनाई हाल कार्यरत कार्यालय उल्लेख गर्न सक्ने मन्त्रालयले जनाएको छ।
विदेशमा भएका र अध्ययन विदामा रहेका कर्मचारीको हकमा के हुन्छ?
मन्त्रालयका अनुसार विदेशमा रहेका र अध्ययन विदामा रहेका सबै कर्मचारीले अरु कर्मचारी सरह संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको सफ्टवेयरमा अनलाइन फाराम भरी समायोजन प्रक्रियामा अनिवार्य सहभागि हुनुपर्ने छ। विदेशबाट फर्किएपछि वा अध्ययन विदा सकिएपछि अध्यादेशमा तोकिएको अवधिभित्र आफू समायोजन भएको तह र निकायमा हाजिर हुनुपर्नेछ।