दाङ – राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा आजदेखि सुचारु भएको छ। जिल्ला प्रशासन कार्यालय दाङमा भएको त्रिपक्षीय छलफलबाट आन्दोलनरत कर्मचारीको माग सम्बोधन गर्ने निर्णय भएपछि आन्दोलन स्थगित भएको अस्पताल संघर्ष समितिका संयोजक हिमराज गौतमले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, आन्दोलनरत कर्मचारी, प्रतिष्ठानका उपकुलपति डा संगीता भण्डारीबीच भएको छलफलमा अस्पतालमा सेवारत कर्मचारीहरुलाई प्रतिष्ठानको नियमानुसार समायोजन गर्ने मौखिक सहमतिपछि कार्मचारी काममा फर्किन सहमत भएका हुन्।
सहमतिमा अस्पताल विकास समितिका कर्मचारीहरुलाई साउनदेखि मंसिर १५ सम्मको सेवा–सुविधा दिने, मंसिर १६ देखि पुस मसान्तसम्म प्रतिष्ठानको नियमानुसार सुविधा दिने सहमति भएको छ। त्यसैगरी माघ १ गतेदेखि लागू हुनेगरी ६ महिनाका लागि करार सेवामा नियुक्त गर्ने विषयमा छलफल भएको संयोजक हिमराज गौतमले जानकारी दिए।
कर्मचारीहरुको आन्दोलनका कारण बिहीबार दिनभर उपचारका लागि आएका बिरामीहरु मर्कामा परेका थिए।