पवन कार्की (२०), महाराजगञ्जस्थित शिक्षण अस्पताल,न्युरो वार्डको बेड नम्बर ४४ मा १० महिनादेखि शैय्यारत छन्। एकछिन आराम नगरी कुदिरहनुपर्ने उमेरको छोरा बेडमै स्याहार्नु पर्दाको दुःख उनकी आमा शर्मिला कार्कीशब्दमा व्यक्त गर्न सक्दिनन्। यसबीचमा झेलेका कष्ट उनलेस्वास्थ्यखबरकर्मी सिर्जना खत्रीलाई सुनाएकी छिन्। उनको उपचार अनुभूति उनकै शब्दमाः
हाम्रो पुख्र्यौली घर विराटनगर हो। अहिले हामी सपरिवार धापासी हाइटमा बस्दै आएका छौं। मेरो पनि सानोतिनो जागिर थियो। दुई छोराछोरी हुन्,श्रीमान् ट्याक्सी चलाउनुहुन्छ। परिश्रम गरेर चारजनाको परिवार हाँसीखुसी जीवन चलाइरहेका थियौं।
हामी बिहानै काममा निस्किन्थ्यौं। छोरी पनि दिउँसो पढ्न जान्थी। बिहान कलेज जाने छोरो (पवन) दिउँसो घरमा एक्लै हुन्थ्यो। गत वर्ष फागुनको कुरा हो, उसले बेलेकीतिर भन्यो, ‘ममी भोलि मेरो कलेज बिदा छ। बिहानै नउठाउनुहोला।’
म सबैकाम सकेर चिया लिएर उसको कोठामा पुगें। ऊ उठेकै थिएन। मैले चिया त्यहीँ राखेर आफ्ना लागि टिफिन प्याक गरिरहेका बेला ऊ हातमुख धुन निस्क्यो। मैले उसलाई अल्छी हुँदै गएको भन्दै सम्झाएँ र जाडोको समय भएकाले दिउँसो बिनाकाम बाहिर नडुल्न भनें। उसले बाइक बनाउन दिएकाले त्यसका लागि चाहिने पैसा माग्यो। मैले दिएँ र अफिस पुगें।
हुर्केका सन्तानको चिन्ता लागिरहन्छ। ८ बजेतिर अफिस पुगेपछि मैले उसलाई फोन गरें। घरमै सुतिरहेको बतायो। हिटर बाल्दा ढोका नलगाउनु भनेर फोन काटें। फेरि ९ बजे फोन गरें, फोन उठेन। १० बजे गरें, फेरि पनि उठेन। ११ बजेतिर फेरि गरें, अहँ फोन त उठ्दै उठेन।
उसले कि तुरुन्त फोन उठाउँथ्यो, कि कलब्याक गथ्र्यो। एक्कासि मुटुको धड्कन बढ्न थाल्यो। मनमा फोन हरायो होला भन्ने लाग्यो। फोन हराइरहन्थ्यो। केही समयअघि मात्रै पहिलेको फोन हराएपछि मैले नयाँ महँगो मोबाइल किनिदिएकी थिएँ।
मैले हाम्रो कोठाभन्दा तल्लो फ्ल्याटमा बस्ने भाइलाई फोन गरेर ऊ कोठामा भए÷नभएको हेर्न लगाएँ। उनले भने,‘बाइक छैन, बाहिर गएको होला ।’ उनले माथि जान झन्झट मानेर फोन राखिदिए। ऊ जहिले पनि म अफिसबाट आउँदा तात्तातो समोसाको अर्डर गर्थ्यो। तर, त्यो दिन उसले फोन गर्नु त परेको कुरा, उठाउँदा पनि उठाएन। मन आत्तियो। मैले घर हिँड्ने निधो गरें।
सकेसम्म चाँडो पुग्न मनले भनिरहेको थियो, तर त्यही दिन कलंकीमा लामो जाम रहेछ। जाममा बस्नै मन लागेन। गाडी छाडेर हिँडें र फेरि अर्को गाडीमा चढें। म सिधै छोराको कोठामा छिरें। छोरा त बेहोस भएर ढलेको रहेछ। आत्तिँदै तलको कोठामा बस्ने भाइलाई ट्याक्सी खोज्न पठाएँ र श्रीमानलाई फोन गरें। नजिककै अस्पताल सामाखुसीको ग्रिनसिटी थियो। त्यहीँ पुर्याइयो।
जाँच्नेवित्तिकै डाक्टरले भन्नुभयोे, ‘धेरैबेर बेहोस भएकाले दिमागको नसा सुकेजस्तो छ। दिमागलाई अक्सिजन नपुग्दा नसा सुकेको हो। बाँच्ने चान्स २० प्रतिशत मात्रै हो।’
एक महिना त्यहाँ राखेर उपचार गरियो। १० लाख रुपैयाँ सकियो। दिनकै ७०/८० हजार खर्च हुन्थ्यो। शिक्षण अस्पतालमा तुरुन्तै बेड खाली नभएकाले पछि मात्रै यहाँका डाक्टरले बेड मिलाइदिनु भयो। दुईघन्टा टिचिङको इमर्जेन्सीमा राखियो। त्यसपछि एनआइसियुमा बेड मिल्यो। ११ दिन त्यहाँ राखेपछि सुधार आएको भन्दै आइसियुमा सारियो। त्यहाँ १६ दिन राखेपछि न्युरोको बिरामी भएकाले यही वार्डमा ल्याएर भर्ना गरियो। १० महिनादेखि हाम्रो पनि बास नै यहीँ छ।
आफैं बिरामी भइसकें
१० महिनादेखि छोराको दिनरात नभनी हेरचाह गर्दे आएकी छु। हरेक दिन राति १२ बजे सुत्छ ऊ। म पनि त्यही बेला सुत्न पाउँछु। बिहान ४ बजे उठ्नुपर्छ। चिसो भुइँमा लामो समय सुतिरहेकाले हातखुट्टा सुनिएका छन्। छाती दुखेको छ। बाबुलाई दुई–दुई घन्टामा ओल्टाइपल्टाई गर्दा ढाड सड्किएको छ। पहिले मलाई प्रेसर थिएन, अहिले प्रेसर छ। पीरले प्रेस बढेर डाक्टरको सल्लाहअनुसार औषधि खाइरहेकी छु।
श्रीमान् दिउसो ट्याक्सी चलाउनुहुन्छ। राति अस्पतालमै आउनुहुन्छ।म त कोठामा नगएकै १० महिना भइसक्यो। मैले २४ वर्षदेखि काम गरिरहेकी थिएँ एउटा अफिसमा। अफिसले खबर नगरेर लामो समय बसेको भन्दै चिठी पठाएको छ। तर, मैले दुई पटक एप्लिकेसन दिएकी थिएँ। एक हप्ताभित्र अफिस नगए खाइपाई आएको जागिर समेत जानेछ।
छोरीलाई अस्ट्रेलिया पठाएकी छु। त्यसको पनि त्यहाँ राम्रो छैन। आफैं पैसा पठाउनुपर्ने अवस्था छ। नर्स वा अन्य टेक्निकल विषय पढाएको भए राम्रो हुँदो रहेछ त्यहाँ। आफूलाई थाहा भएन। ऊ संघर्ष गर्दैछे।
२८ लाख सकियो, सन्चो हुने छाँटकाँट छैन
उपचारमा २८ लाख रुपैयाँसकिइसक्यो तर पनि बाबुलाई सन्चो हुने कुनै छाँटकाँट छैन। डाक्टरले अब चमत्कार भयो भने मात्र बाबु बाँच्छ भन्नुभएको छ। अब घरमै लगेर राम्रोसँग रेखदेख गर्नु भन्नुभएको छ। घरमा उसलाई राख्ने सामान किन्न डेढ लाख रुपैयाँ लाग्छ रे। त्यो सामान किन्ने पैसा छैन। त्यसैले यतै छु।
बाबुलाई दालको झोलमात्र खुवाएको ६० हजार रुपैयाँ भएको छ क्यान्टिनमा।यहाँ अस्पतामा धरौटी राख्नुपर्छ भन्नुभएको छ, त्यो पनि सकेका छैनौं। दिनको २५ सय तिर्नुपर्छ बेडको र ड्रेसिङ गरेको।
मैले यो १० महिना अस्पतालमा बिताउँदा जति दुःख भोगें, त्यसको कुनै लेखाजोखा छैन। त्यो म बताउन पनि सक्दिनँ। यत्ति भन्छु– यस्तो दुःख कसैले भोग्न नपरोस्।
-प्रस्तुति : सिर्जना खत्री