जेष्ठ नागरिकको रोग प्रतिरोधात्मक क्षमता कम हुने हुँदा जाडो मौसममा स्वास्थ्य समस्या बढी देखिने गर्छ। जाडो समयमा जेष्ठ नागरिकलाई निमोनिया, दम, उच्च रक्तचापका साथै अन्य दीर्घरोग बढ्ने गर्छ। यसका साथै जोर्नीसम्बन्धी समस्याले पनि धेरै दुःख दिने गर्छ। त्योबाहेक जाडो मौसममा कतिपय जेष्ठ नागरिकको कठ्यांग्रिएर मृत्युसमेत हुने गरेको पाइन्छ।
निमोनियाः जाडो मौसममा वृद्धवृद्धामा धेरै देखिने समस्या भनेको निमोनिया हो। जाडोमा निमोनिया गराउने भाइरस सक्रिय हुन्छ। वृद्धवृद्धामा रोगसँग लड्नसक्ने रोग प्रतिरोधात्मक क्षमता कम हुने हुँदा छिटो निमोनियाले समात्ने गर्छ।
दमः दम दीर्घरोग हो। जाडो समयमा दमका बिरामीलाई धेरै दुःख दिन्छ। फोक्सोमा संक्रमण बढ्ने हुँदा जाडोमा श्वास–प्रश्वाससम्बन्धी समस्या बढ्ने गर्छ।
उच्च रक्तचापः जाडोमा रक्तचाप धेरैमा बढ्ने गर्छ। यसको मुख्य कारण जाडो मौसममा पानी कम पिउनु हो। त्यसले रगत बाक्लो हुने र रक्तचाप बढ्ने गर्दछ। यसले गर्दा दीर्घरोग बढ्नुका साथै हृदयघात र मस्तिष्कघात हुने सम्भावना बढी हुन्छ।
जोर्नीको समस्याः जाडो मौसममा जोर्नीसम्बन्धी समस्या भएका जेष्ठ नागरिकको निमित्त निकै कष्टकर हुन्छ। किनभने जाडोमा जोर्नी धेरै सुन्निने र दुख्ने गर्छ।
कठ्यांग्रिनेः धेरै जाडोले समात्ने हुँदा वृद्धवृद्धाहरु चिसोले कठ्यांग्रिएर मृत्युसमेत हुने गर्छ।
चिसोका कारण दीर्घरोग बढ्ने हुन्छ। चिसो हुँदा बाहिरको वातावरणमा प्रदूषण पनि बढ्दै जान्छ। धुवाँ, धुलोका कणहरु बढ्ने हँुदा छिटो दीर्घरोग बढ्छन्। रोग प्रतिरोधात्मक क्षमता कम हुने हँुदा वृद्धवृद्धालाई चिसोले छिटो समात्ने र दम, निमोनिया बढ्ने गर्छ। जेष्ठ नागरिले बिहान चिसो पानीले नुहाउने चलन छ। त्यसो गर्दा दम, निमोनिया बढ्नुका साथै अन्य स्वास्थ्य समस्या पनि देखा पर्दछन्।
चिसोबाट बच्ने उपाय
– जाडोबाट बच्नको लागि नियमित बिहान चिसो पानीले नुहाउनु हुँदैन।
– मर्निङ वाक गर्नु हुँदैन। जाडो महिनामा दिउँसोको समयमा वाक गर्दा स्वास्थ्यका लागि लाभदायी हुन्छ।
– तातो पौष्टिकयुक्त खानेकुरा खानुका साथै न्यानो लुगा लगाएर बस्नु पर्छ।
– ६० वर्ष उमेर पुगिसकेका वृद्धवृद्धाले निमोनिया र फ्लुबाट बच्न वर्षको एक पटक निमोनिया र फ्लु विरुद्धको खोप लगाउनु पर्छ।
– दीर्घरोगीहरुले डाक्टरको सल्लाहबमोजिम नछुटाई औषधि खानु पर्छ।
– आगो, हिटर ताप्नु पर्छ तर आगो, हिटर ताप्दा सबै झ्याल–ढोका थुनेर बस्नु हँुदैन। त्यसले गर्दा झन् धेरै स्वास्थ्य समस्या निम्तिने गर्दछ। त्यसैले कोठामा हावा छिर्न दिनुपर्छ।
– चिसो तथा शितलहरका कारण हिमाल र तराईमा बस्ने मानिसको मृत्यु हुने गर्दछ। त्यसैले त्यहाँ बस्ने मानिसले न्यानो भएर बस्नु पर्दछ। न्यानो कपडा लगाएर र तातो खानेकुरा खाने गर्नाले जाडोबाट बच्न सकिन्छ।
– जाडो मौसममा कम पानी पिउने चलन छ। पानी नपिउँदा विभिन्न समस्याले सताउनुका साथै उच्च रक्तचाप पनि बढ्ने गर्दछ। त्यसैले प्रशस्त तातो वा मनतातो पानी पिउनु पर्छ।
– रक्तचापका बिरामीले जाडोमा शरीर तातो बनाउन तातो सुप खाने गर्नुपर्छ। तर सुपमा नुनको मात्रा कम गर्नुपर्छ। नुनले रक्तचाप बढाउँछ।
– मौसमी फलफूल, दही र सागपात खाँदा चिसो लाग्छ भन्ने गलत बुझाइ छ। तर त्यसमा कुनै वैज्ञानिक सत्य छैन। हाम्रो शरीरलाई अन्य समयमा जस्तै जाडोमा पनि मिनिरल, भिटामिन जरुरी हुन्छ। त्यसैले प्रशस्त मात्रामा मौसमी फलफूल र सागपात खानु पर्दछ।
काम गर्न नसक्ने जेष्ठ नागरिकलाई कसरी स्याहार गर्ने ?
– यदि आफैं नुहाउन नसक्ने जेष्ठ नागरिकलाई तातोेपानीले हल्का शरीर सफा गरिदिने।
– आमा–बुबाको स्वास्थ्य स्थिति कस्तो छ भनेर ध्यान दिने, बेलाबेलामा स्वास्थ्य जाँच गराउने।
– तातो लुगा लगाइदिने, तातो र पौष्टिक खाना बनाएर खुवाउने।
– युवा अवस्थामा जाडो र गर्मी कन्ट्रोल गर्नसक्ने मेकानिजम हुन्छ तर जेष्ठ नागरिकमा त्यस्तो मेकानिजम नहुने हुँदा चिसोमा धेरै चिसो लाग्ने र गर्मीमा धेरै गर्मी हुने हुन्छ। जाडो महिनामा हाइपोथर्मियाबाट ज्यानै जाने भएकाले जाडोमा न्यानो बनाएर राख्नु पर्दछ। घरमा बाक्लो कपडा छैन भने पनि आफूसँग भएका कपडा तीन÷चार जोर लगाएर भए पनि न्यानो बनाउन सकिन्छ।
– जाडोमा जोर्नी सुन्निएर पीडा हुने हुँदा जोर्नीको फिजियोथेरापी गर्दा राहत मिल्छ र दुखाइ पनि कम हुन्छ। दुखाइ भयो भने पेन किलर खानुभन्दा दुखाइमा लगाउने मलम प्रयोग गर्नुपर्छ।
जाडो छल्न धेरै चुरोट खाने चलन छ। चुरोटले दम बढाउन मद्दत गर्नुका साथै अन्य दीर्घरोग पनि बढ्ने गर्दछ। चुरोटको साटो चिया, तातो दुध, पानी, सुप खुवाउन सकिन्छ।
(डा कँडेल, जेष्ठ नागरिक रोग विशेषज्ञ हुन्)