जनकपुर– केही समयअघि जनकपुर अञ्चल अस्पतालमा सर्वेक्षण गरिएको थियो। जसमा ६० प्रतिशत बिरामी र तिनका आफन्तले चिकित्सक नभेटिने जवाफ दिए। ९५ प्रतिशतले लामो पर्खाइपछि आउने चिकित्सकले पनि पर्याप्त समय दिएर बिरामीलाई चेकजाँच नगर्ने गुनासो गरे। त्यति नै प्रतिशतले यो अस्पतालमा आउन नपरे हुन्थ्यो भन्ने जवाफ दिएका छन्।
अस्पतालको अल्पकालीन तथा दीर्घकालीन नीति, योजना र कार्यक्रम बनाएर स्वीकृतिका लागि समितिमा पेस गर्ने जिम्मेवारी पाएका विकास समितिको ध्यान अस्पतालको भवन र पर्खाल निर्माणको टेन्डर हात पार्ने मात्र देखिन्छ। प्रशासकीय प्रमुखको जिम्मेवारी पाएका अस्पताल प्रमुख (मेडिकल सुपरीटेन्डेन्ट) पनि १० बजे अस्पताल आउनुको साटो नजिकै रहेको आफ्नो क्लिनिक भ्याएर दुई बजे अस्पताल आएर केहीबेर बस्नासाथ उनलाई घर फर्कन हतार हुन्छ।
२०६४/६५मा स्वास्थ्य सेवा विभागले अञ्चल अस्पतालको आग्रहमा अस्पताल विकास समितिलाई उपलब्ध गराएको ३ वटा शव राख्न सकिने फ्रिज उपयोग नगरेर काम नलाग्ने बनाइएको तत्कालीन अस्पताल प्रमुख गौराङ्ग मिश्र पनि स्वीकार्छन्। सो फ्रिज अहिलेसम्म बनाइएको छैन।
२०६५ मा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रबाट प्राप्त एचआइभी संक्रमण पत्ता लगाउने ‘सिडी फर काउन्ट’ उपकरण सञ्चालन गर्न अरुणकुमार मल्लिक, ओमराज यादव, रामचन्द्र झा र राम सुफल यादवलाई प्रशिक्षण दिए पनि २०६९ देखि बिग्रिएको यो उपकरण मर्मत गरिएको छैन। अस्पतालमा सरकारी दरबन्दीका फिजिसियन, प्रमुख मेडिकल अफिसर, पेडियाट्रिसियन, प्याथोलोजिस्ट १–१ जना र विकास समितिको तर्फबाट मेडिकल अधिकृत ११ जना, डेन्टल सर्जन १ जना कार्यरत छन्। उनीहरूमध्ये कोही विदामा हुन्छन् भने कोही क्लिनिक, नर्सिङ होममा व्यस्त रहन्छन्।
सरकारीतर्फ ११७ कर्मचारीको दरबन्दी रहेकोमा ९३ जना र विकास समितितर्फ १५२ को दरबन्दी रहेकोमा १३० जना कर्मचारी कार्यरत छन्। तर, उनीहरू पनि बाहिर काम गर्ने भएकाले वार्डहरूमा बिरामीलाई सार्न समस्या पर्ने गरेको छ।
कार्यालय समयमा उपस्थित नहुने, नियमविपरीत कार्य गर्ने चिकित्सक र कर्मचारीलाई नसिहत दिने, तलब वृद्धि वा बढुवा रोक्का गर्ने, भविष्यमा सेवाका निमित्त अयोग्य ठहरिने/नठहरिने गरी नोकरीबाट हटाउने अधिकार अस्पताल नियमावली २०६३ ले विकास समितिलाई दिएको छ। तर, अहिलेसम्म कसैलाई कारबाही गरिएको छैन। अस्पतालको एकसय मिटर वरपर अस्पतालमा कार्यरतहरूले क्लिनिक तथा नर्सिङ होम सञ्चालन गर्न नपाइने व्यवस्था भए पनि वरिष्ठ डाक्टरहरूले नै क्लिनिक चलाएका छन्।
अस्पतालका दसौं तहका प्याथोलोजिस्ट राजकुमार महतोको ‘प्याथो क्लिनिक’, आठौं तहका मेडिकल टेक्नोलोजिस्ट अरुण कुमार मल्लिकको ‘मल्लिक प्याथोलोजी’, राम विनय साहको ‘विनय डायग्नोस्टिक सेन्टर’, ल्याब टेक्निसियन ओम यादवको ‘ओम प्याथोलोजी’, राम सुफल यादवको ‘पवन प्याथोलोजी’, ल्याब असिस्टेन्ट वसन्त मेहताको ‘मेहता ल्याब’ र सन्तोष ठाकुर र गुनानन्द साहले अस्पताल नजिकै निजी प्याथोलोजी चलाएका छन्। अस्पताल विकास समितिका पूर्वअध्यक्ष कुमारकान्त झा अस्पतालको ओपिडी पनि पूरा समय नचलेको बताउँछन्।
अञ्चल अस्पतालमा बाहिरभन्दा प्याथोलोजी जाँच शुल्क सस्तो छ। उपकरण पनि पर्याप्त छन्। तर, त्यहाँ जाँच गराउँदा चिकित्सकहरूले ‘डायग्नोसिस’ लेख्दैनन्। अस्पताल स्रोतका अनुसार चिकित्सक र प्याथोलोजीको मिलेमतोमा डायग्नोसिस गर्न निजी प्याथोलोजीमा पठाइन्छ। त्यसबापत प्याथोलोजीहरूले चिकित्सकलाई ५० प्रतिशत कमिसन दिन्छन्।
अस्पतालमा फोहोरैफोहोर
सरसफाइ कर्मचारीको लापरबाहीका कारण जनकपुर अञ्चल अस्पताल दुर्गन्धित बनेको छ। अस्पताल फोहोर हुँदा यसको प्रत्यक्ष मारमा बिरामी परेका छन्।
अस्पताल प्रांगणमा पुग्दा जताततै चौपायाको गोबर थियो। अस्पतालका डेलिभरी, सर्जिकल, ओपिडी लगायत सबै कक्ष फोहोर देखिन्थे। बिरामीहरू नाक थुनेर उपचार गराइरहेका थिए। प्रसूति कक्षको प्यासेजमै रगतले भिजेको सेनिटरी प्याड जताततै फालिएको थियो। अस्पताल दुर्गन्धित बन्दै गए पनि सफा राख्न प्रशासनले चासो नदेखाएको जनाइएको छ।
बुहारीलाई सुत्केरी गराउन अस्पताल पुगेकी महेन्द्रनगरकी गीता देवी साहले घरबाट ल्याएको खाजा फोहोरका कारण खान नसकेको गुनासो गरिन्। दुर्गन्ध सहन नसकेपछि मास्क किन्नुपरेको उनले बताइन्। ‘दुई वर्षअघि आउँदा पनि यत्तिकै फोहोर थियो, आज पनि त्यस्तै रहेछ,’ उनले भनिन्, ‘यो अस्पताल त कहिल्यै नसुध्रिनेजस्तो लाग्यो।’
अस्पतालको शौचालय पनि फोहोर नै देखियो। शौचालय जान सक्ने अवस्थाथिएन,बाटोमै दिसा थुप्रिएको थियो। गेटमै दिसा रहेकाले बाहिर खुला ठाउँ पुगेर पिसाब गर्नुपरेको बिरामी सुरेश महतोले बताए। ‘कुनै बिरामीले भित्र छिर्न नसकेर गेटमै दिसा गरेको हुन सक्छ,’ उनले भने, ‘गल्ती गरेर कोहीले दिसा गरेको भए पनि स्विपरले सफा गर्नुपर्ने हो तर स्विपरको अत्तोपत्तो छैन।’
फोहोरका कारण अस्पताल नै थला परेजस्तो देखिएको छ। अस्पतालका विभिन्न ठाउँमा सूर्तीजन्य पदार्थ सेवन गरी जथाभावी थुके कतिपय ठाउँमा ५ सय ५१ र कतिपय ठाउँमा १ हजार जरिवाना लाग्ने उल्लेख छ। तर, अस्पतालको भित्ता रातो मात्र होइन, कालै बनेको छ। दैनिक सयौं व्यक्तिले यसरी भित्तामा थुक्ने गरेको सेवाग्राही बताउँछन्। तर, कारबाही भने गर्ने गरेको देखिएको छैन।
स्वास्थ्यकर्मी पनि अस्पताल फोहोरले दुर्गन्धित बनेको गुनासो गर्छन्। मास्क लगाएर सेवा दिनुपर्ने बाध्यता रहेको उनीहरूको भनाइ छ। एक नर्सले भनिन्, ‘यहाँ जहिल्यै यस्तै हो। गुनासो गरे पनि कसैले वास्ता गर्दैन।’ पटक–पटक प्रशासनमा गएर फोहोरबारे गुनासो गरे पनि लापरबाही गर्ने स्विपर कारबाहीमा नपरेको उनले बताइन्।
अस्पताल सफा राख्न ७३ जना स्विपर अर्थात् कार्यालय सहयोगी छन्। ५७ जनालाई अस्पताल विकास समिति र बाँकी १६ जना सरकारबाट नियुक्त रहेको प्रशासन फाँटका खरिदार फूलकुमार यादवले जानकारी दिए। उनका अनुसार सरसफाइ कर्मचारीको मासिक तलबमा १३ लाख रुपैयाँ खर्च हुन्छ तर खर्च अनुसार काम भने छैन। ७३ कर्मचारीमध्ये अधिकांश बसेर तलब पकाउने गरेको अस्पताल स्रोतले जानकारी दिएको छ।
अस्पतालका प्रमुख डानागेन्द्र यादवले विगतको तुलनामा अस्पताल धेरै सफा रहने गरेको दाबी गरेका छन्। उपचार गराउन अस्पतालमा आउनेहरूले नै चेतना अभावका कारण फोहोर गर्ने गरेको उनको भनाइ छ। ‘एक दिन सफा गरिएन भने अस्पताल फोहोरले भरिन्छ,’ उनले भने, ‘ठाउँ सानो छ तर हजारौं हजार मानिस आउँछन् अनि फोहोर त भइहाल्छ।’ कतिपय सरसफाइ कर्मचारीले काम नै नगर्ने गरेको भन्ने प्रश्नमा उनले त्यस्तालाई कारबाही गरिने प्रतिक्रिया दिए।
अस्पतालको इतिहास
बुबालाई तीर्थ गराउन आएका डाजयबल्लभ दासले २००७ तिर तुलसी मेहर, भद्रा घले, पद्मा कार्कीको आग्रहमा बसहियाको गान्धी आश्रमबाट सातामा एक दिन स्वास्थ्य सेवा दिन थाले। तीन–चार वर्ष त्यो क्रम चलेपछि एक दिन जानकी मन्दिरका महन्थ नवलकिशोर दासका गुरुभाइ रामनाथ अघोरीले डादासलाई सहयोग गर्ने भए अस्पताल बनाउन आफू तयार रहेको बताए। त्यसपछि अघोरीले जानकी मन्दिरमा अनसन सुरु गरे। अनसनको दोस्रो दिनमा जानकी मन्दिरमा भएको स्थानीयहरूको भेलाले महन्थ नवलकिशोर दासको आँपको बगैंचामा अस्पताल खोल्ने निर्णय ग¥यो। त्यसपछि अघोरीले अनसन तोडे।
डादास, गंगाधर दत्त, देवानन्द झाहरूको सहयोगमा फुसको अस्पताल भवन बन्यो। २०११ को विवाह पञ्चमीदेखि त्यही भवनमा अस्पताल सुरु भयो। डादासले पहिले बहिरंग सेवा र पछि आकस्मिक सेवा सुरु गरे।
त्यो बेला अस्पताल सञ्चालन गर्न मासिक२५० रुपैयाँ खर्च लाग्थ्यो। पहिलो महिनाको खर्च डा दासले बेहोरे भने दोस्रो महिनाको खर्च जनकपुरका व्यापारी विश्वनाथप्रसाद साहले। तेस्रो महिना व्यवस्थापन समिति गठन गरियो, जसको अध्यक्ष डागौरीनारायण गिरी र सचिव सरोज कोइराला थिए। समितिलाई महेन्द्र नारायण निधि, रुद्रप्रसाद गिरी, मकेश्वर सिंह लगायतले आर्थिक संकलनमा सहयोग गरे। प्रत्येक वर्ष रामनवमी र विवाह पञ्चमीको मेलामा आउने थिएटरसँग एक शो च्यारिटी गराएर सहयोग जुटाइन्थ्यो।
जानकी अस्पतालले २०१७ देखि सरकारी अस्पतालसरह सहयोग पाउन थाल्यो। सहयोगको लागि जनकपुर चुरोट कारखानाका कामदारसँग भारु २ पैसा र वन विभागबाट प्रत्येक घर बनाउने पूर्जीमार्फत रु२५ पैसा असुलिन्थ्यो। २०१७पुस १ मा तत्कालीन राजा महेन्द्रले एकदलीय शासन सुरु गरेपछि अस्पतालका अधिकांश सहयोगी निर्वासित भएकोमा रामपदारथ मिश्र भने जनकपुरमै रहे। जसको आग्रहमा रामचन्द्र साह र फुलगेन साहले दुइटा पक्की भवन बनाइदिए।
२०१८ मा जनकपुर आएका राजा महेन्द्रलाई अघोरी र डादासले अस्पतालको विकासका लागि तुलसी गिरीमार्फत विन्तीपत्र हाले। केही दिनपछि अस्पतालका लागि ५० हजार रुपैयाँ निकासा भयो, जसबाट अन्तरंग विभागको अर्को भवन बनाइयो। २०२१ मा सरकारले पहिलो पटक डा विमलकुमार घोषलाई अस्पतालमा खटायो। २०२३ मा अस्पताल सरकारलाई हस्तान्तरण गरियो। र २०२६ मा जनकपुर अञ्चल अस्पतालमा परिणत गरियो।
अहिले जनकपुर अञ्चल अस्पताल इमर्जेन्सीमा भर्ना हुने बिरामीहरूलाई प्राथमिक उपचार गर्नेभन्दा बढी सेवा दिन नसक्ने अवस्थामा छ। दुर्घटनाका बिरामीलाई धरान वा काठमाडौं रेफर गर्नुपर्छ।
जनकपुर अञ्चल अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट डारामपरीक्षण यादवले सरकारले वास्ता नगर्दा अस्पतालको अवस्था जर्जर बनेको बताए। उनले भने, ‘जति स्वास्थ्यमन्त्री आउँछन्, कुरा मात्रै गर्छन्। तर, उनीहरूको आश्वासन कार्यान्वयनमा कहिल्यै आएन।’
यता जनकपुर अञ्चल अस्पतालसहित सबै स्थानमा कर्मचारी पठाउने तयारी भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यद्यपि प्रदेश नम्बर २ का कर्मचारीको रोजाइमा नपर्दा समस्या भएको छ। मन्त्रालयका अनुसार कुनै पनि संस्थामा शतप्रतिशत कर्मचारी दरबन्दी पूरा गर्न सकिँदैन। किनकि कर्मचारी नियुक्त गरिए पनि अध्ययन बिदा बस्ने, नर्सको हकमा पनि लोकसेवाले माग सिफारिस नगर्दा समस्या हुने गरेको छ। तराईका जिल्लामा कर्मचारीमाथि दुव्र्यवहार हुने, कर्मचारीको बासको राम्रो व्यवस्था नहुने लगायत कारणले कर्मचारी जान नसकेको पनि बताइएको छ। तत्कालीन जनकपुर अञ्चल अस्पताल विकास समितिका अध्यक्ष डाबलराम मिश्र (२०७५ साउनदेखि समिति खारेज भएको छ) ले पनि केही कमीकमजोरी रहेको स्विकारे। अस्पतालको पूर्वाधार राम्रो नहुनु, सरकारले बजेट कटौती गर्नु र राम्रा कर्मचारी व्यवस्थापन गर्न नसकेको उनले बताए।
जेनतेन आइसियू सञ्चालन
२०७४ फागुन २०देखि जनकपुर अञ्चल अस्पतालमा निर्माण गरिएको आइसियू सेवा जेनतेन सञ्चालन गरिएको छ। सेवा सञ्चालन गर्न चौतर्फी दबाब बढ्दै गएपछि अस्पतालले विशेषज्ञ नभएपनि जेनतेन सेवा सञ्चालनमा ल्याएको हो। २०७० असोज ६ गते बसेको तत्कालीन अस्पताल विकास समितिको बैठकले आइसियू सञ्चालन गर्न २३ जना कर्मचारीको दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको थियो।
फागुन २०६९ मै स्थापना भएदेखि नै सो आइसियू कक्ष सञ्चालन हुन सकेको थिएन। आइसियू कक्षमा आवश्यक सबै सामानको व्यवस्था भएपछि २०७४ फागुन २० देखि सञ्चालनमा आएको अस्पताल प्रशासनले जनाएको छ। १४ शय्याको अत्याधुनिक सेवा सुविधा सहितको आइसियू कक्षमा दिनहँु ४ देखि ५ जना बिरामी आउने गरेको आइसियू प्रमुख डा
कुलदीप पण्डितले जानकारी दिए। उनले तत्काललाई थोरै बिरामी भर्ना गरेर कर्मचारीको पदपूर्ति भएपछि मात्रै थप बिरामी भर्ना गर्ने बताए।
डा पण्डितका अनुसार हाल आइसियूमा स्टाफ नर्स १०, कन्सल्टेन्ट डाक्टर २, मेडिकल अफिसर ४, अनड्युटी डाक्टर ४ र एक जना एनेस्थेसियोलोजिस्ट छन्। उनले भने, ‘अस्पतालमा २४ सै घन्टा बिजुली नहुँदा अहिले ४÷५ वटा शय्या मात्रै सञ्चालन गरिएको हो। केही दिनपहिला बिजुलीको समस्या हुँदा आइसियू कक्षमा आगलागीसमेत भएको थियो।’ डा पण्डितले सबै १४ शय्यालाई सञ्चालनमा ल्याउन कर्मचारी थप्नुपर्ने र केही प्राविधिक तयारी पनि पूरा गर्नुपर्ने अवस्था रहेको बताए।
तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अस्पतालको आइसियू कक्ष उद्घाटन गरे पनि त्यसयता आइसियूका लागि आवश्यक विशेषज्ञ चिकित्सक र नर्स अभावका कारण सञ्चालनमा आउन सकेको थिएन।
८ बेडको एनआइसियू सेवा
समस्याका बावजुद अहिले केही सुधारका कार्यक्रम पनि सञ्चालनमा आएको छ। यस क्षेत्रकै एकमा मात्र ठूलो अस्पतालको रूपमा रहेको जनकपुर अञ्चल अस्पतालमा शिशुहरूका लागि एनआइसियू र नर्सरी सेवा प्रारम्भ भएको छ। शिशुहरूका लागि ५ भेन्टिलेटरसहित ८ शय्याको एनआइसियू र १५ शय्याको नर्सरी सेवा पुस १५ गते बाट सञ्चालनमा ल्याइएको छ।
एकवर्षकोमेहनत र प्रयासपश्चात् संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेश २ को सामाजिक विकास मन्त्रालयको सहयोगमा भेन्टिलेटरसहित एनआइसियू र नर्सरी सेवा सञ्चालनमा ल्याउन सम्भव भएको मेडिकल सुपरिटेन्डेन्ट डा नागेन्द्र यादवले बताए।
यस अस्पतालमा एकवर्षअघि १४ शय्याको आइसियू सेवा सञ्चालनमा आए पनि एनआइसियू सेवा नहुँदा गरिब एवं निम्नवर्गका सर्वसाधारण चर्को शुल्क तिरेर जनकपुर तथा बाहिरका निजी एनआइसियूमा शिशुलाई उपचार गराउन बाध्य थिए। अब जनकपुरमा चर्को शुल्क तिरेर शिशुलाई एनआइसियूमा राखेर उपचार गराउने बाध्यताको अन्त्य भएको छ।
अस्पतालमा सुरु गरिएको एनआइसियू सेवामा बेडको न्यूनतम शुल्कबाहेक अन्य सबै सुविधा निःशुल्क प्रदान गरिने एनआइसियू सेवाका इन्चार्ज एवं बालरोग विशेषज्ञ डाजामुन सिंहले बताए। उनका अनुसार एनआइसियू सेवाका लागि प्रतिबेड न्यूनतम दैनिक ३ हजार रुपैयाँ निर्धारण गरिएको छ भने अन्य सबै औषधि उपचार निःशुल्क हुनेछ।
एनआइसियू सेवा सञ्चालन गर्न सरकारले सहयोग गरेतापनि त्यसमा लाग्ने जनशक्तिको व्यवस्थापन नगरेकाले उठाइने न्यूनतम शुल्कबाटै जनशक्तिको व्यवस्थापन गर्नुपर्ने इन्चार्ज सिंहको भनाइ छ। ‘बेड सेवाबापत न्यूनतम शुल्क लिनुपर्ने अस्पतालको बाध्यात्मक अवस्था छ। त्यसैबाट कर्मचारी व्यवस्थापन गर्नुपर्छ,’ उनले भने, ‘यदि आइसियू सेवाका लागि एक मेडिकल अधिकृतसहित लाग्ने स्टाफ नर्सको व्यवस्था गरिदिए एनआइसियू सेवा पनि निःशुल्क हुन्छ।’
तर, बाहिरको निजी क्लिनिकमा एनआइसियूमा शिशुलाई राखेर उपचार गर्ने खर्चको तुलनामा जनकपुर अञ्चल अस्पतालमा निकै सस्तो पर्ने डासिंहको भनाइ छ। बाहिर एनआइसियूमा राखेर उपचार गराउँदा दैनिक १५ देखि २० हजार रुपैयाँ लागेको खण्डमा यस अस्पतालमा मात्र ३ हजार रुपैयाँमा सम्भव भएकाले गरिब एवं निम्न वर्गका सर्वसाधारणले ठूलो राहत पाउने उनले बताए।
एक अर्ब लागतमा प्रसूतिगृह बन्दै
अमेरिकी सरकारको सहयोगमा जनकपुर अञ्चल अस्पताल परिसरमा निर्माण हुन लागेको प्रसूतिगृहको शिलान्यास मंसिर १ गते उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव गरेका छन्।
विभिन्न विशेषज्ञ सेवा सञ्चालनको प्रयाससमेत भइरहेको जानकारी गराउँदै मन्त्री यादवले त्यतिबेला भनेका थिए,‘प्रादेशिक स्तरको आयुर्वेद अस्पतालसमेत जनकपुरमै निर्माण गर्न लागिएको छ।’
८ करोडको लगानीमा निर्माण हुने सय शय्याको प्रसूतिगृहमा उच्चस्तरको सेवा प्रदान गरिने अस्पतालका मेसु नागेन्द्र यादवले बताए। भवनसहित अन्य उपकरण र सुविधाका लागि अमेरिकी सरकारले एक अर्ब रुपैयाँ अनुदान उपलब्ध गराएको बताइएको छ।
२०७५ साउनदेखि अस्पताल विकास समिति खारेज भई यस अस्पताललाई प्रदेश २ सरकारको सामाजिक विकास मन्त्रालयको मातहतमा ल्याइएको छ भने मंसिर २ देखि सिनियर मेडिकल अफिसर डायादवलाई अस्पतालको मेसुमा नियुक्त गरिएको छ।
अर्कोतर्फ यसअघि मेसुबाट सेवानिवृत्तडारामपरीक्षणयादवले जाँदाजाँदै प्रक्रिया पूरा नगरी अस्पतालमा करिब ८३ जना कर्मचारीलाई नियुक्त गरेको भनेर विवाद भइरहेको छ। उनले आफ्ना नातागोता र आर्थिक लेनदेन गरी कार्यालय सहायकदेखि मुखिया, खरिदार, अनमी, स्टाफ नर्स तथा डाक्टरसम्मका कर्मचारी उनले नियुक्ति गरेको बताइएको छ।
गत असोज १५ गते अस्पताल निरीक्षण गर्न पुगेका मुख्यमन्त्री लालबाबु राउतले अस्पताल विकास समिति विघटन भएर अञ्चल अस्पताल प्रदेश सरकार मातहत आइसकेको अवस्थामा कर्मचारी र अस्पताल व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारको रहेको भन्दै मेसुसँगै सम्पूर्ण कर्मचारी अब प्रदेश सरकारले नियुक्त गर्ने बताएका थिए। तर, उनको निर्देशनलाई चुनौती दिँदै पूर्वमेसु यादवले अस्पतालमा कर्मचारी भर्ना गरेको आरोप छ भने प्रदेश सरकारले भर्ना गरिएको कर्मचारीलाई हटाउनुपर्ने निर्देशन दिएको छ।
अञ्चल अस्पतालले प्रक्रिया पूरा नगरी नियुक्त गरेका ८३ कर्मचारी हटाउने प्रदेश २ सरकारको निर्णय कार्यान्वयन गर्न अस्पतालले अटेरी गरेको छ । अस्पताल विकास समिति खारेज भएपछि साउनयता नियुक्ति गरिएको कर्मचारी हटाउने प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णय अटेर गर्दै अञ्चल अस्पतालले कर्मचारी काममा लगाएको पाइएको हो।
अञ्चल अस्पताल विकास समिति खारेज भएपछि नियुक्त ८३ कर्मचारीलाई पुस १देखि हटाउन प्रदेश २ सरकारको मन्त्रिपरिषद्ले गरेको निर्णय गरेको थियो । तर, जनकपुर अञ्चल अस्पतालले अटेर गर्दै कर्मचारी काममा लगाएको हो।
समिति खारेज भएकाले कर्मचारी भर्ना प्रक्रियागत नभएको हुँदा प्रदेश २ सरकारले मंसिर २४ गते मन्त्रिपरिषद्को बैठकबाट साउनदेखि नियुक्त कर्मचारी हटाउन अस्पताललाई पत्राचार गरेको थियो।
जनकपुर अञ्चल अस्पतालमा तत्कालीन मेडिकल सुपरिटेन्टेड डारामपरीक्षण यादवले अवकाश पाउने बेलामा आर्थिक चलखेल गरी प्रक्रिया मिचेर अवैधानिक तवरले कर्मचारी नियुक्ति गरेका थिए। ती कर्मचारी हटाउनुपर्ने माग भइरहेकाले बेला प्रदेश सरकारले त्यस्ता कर्मचारी हटाउन अस्पताललाई पत्राचार गरेपनि अस्पताल प्रशासनले अटेर गर्दै कर्मचारी खटाएर तलब भत्ता खुवाउँदै आएको पाइएको छ। तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डारामपरीक्षण यादवले प्रक्रिया पूरा नगरी नियुक्त कर्मचारीलाई मंसिरसम्म मात्र तलब दिएर कामबाट हटाउन पत्राचार गरे पनि जनकपुर अञ्चल अस्पतालमा यस्ता कर्मचारी अझै काममै छन्।
कर्मचारी हटाउने प्रक्रिया अगाडि बढाए पनि जनशक्ति अभावका कारण कर्मचारी काममा लगाउनुपरेकोमेसु नागेन्द्रप्रसाद यादवले बताए। अस्पतालमै कार्यरत पुराना कर्मचारी र चिकित्सकलाई पछि प्रक्रिया पुर्याएर नियुक्त गरेकाले हटाउन प्राविधिक समस्या भएको डा यादवको भनाइ छ।