काठमाडौं- अनसन थाल्नुअघिसम्म डा गोविन्द केसीसँग महेन्द्र यादवको कुनै साइनो-सम्बन्ध थिएन। जब केसी चिकित्सा शिक्षा सुधारका मुद्दा अघि सारेर अनसन बसे, धनुषाका यादवलाई आफन्त जस्तै लाग्न थाले। जति डा केसीको सत्याग्रह बढ्दै गयो, उनीप्रति यादवको आत्मीयता गाढा बन्दै गयो। आफूलाई भ्रष्टाचारविरोधी व्यक्ति ठान्ने यादवका डा केसी 'आइडल' हुन्।
चिकित्सा शिक्षा सुधार लगायत सामाजिक न्यायका विभिन्न माग राखेर डा गोविन्द केसी १६औं अनसनरत छन् यतिबेला। उनकै उमेरका धनुषाका महेन्द्र यादव समर्थन जनाउन १६औं पल्ट खालीखुट्टा काठमाडौं आइपुगेका छन्।
‘खेतीकिसानी गरेर जीविकोपार्जन गर्ने हरव्यक्तिको आफन्त हो ऊ। उसले हाम्रै कुरा त बोलिरहेछ,’ शनिबार माइतीघर मण्डलामा भेटिएका उनले भने।
ज्यानमा डेढ इन्चको बाक्लो ज्याकेट, खुट्टामा घुँडासम्म आउने बुट र अनुहारधरी गलबन्दीले छोप्दा समेत जाडो हुने मौसममा उनको हुलिया देख्दै ‘कठ्याङ्ग्रिने’ खालको थियो। ज्यानमा एउटा सर्ट, खाली खुट्टामाथि लगाएको ट्राउजर पनि फोल्डिङ र टाउको ढाक्ने एउटा पातलो ह्याट। हातमा चन्द्रसूर्य झन्डा र कालोमैलो झोला अनि पिठ्युमा सानो ब्ल्याङ्केट।
काठमाडौंका एकैखाले अनुहारवालाको जुलुसमा फरक मान्छे मिसिएपछि क्यामेराका लेन्स तेर्सिने नै भए। हामीले माइतीघरदेखि नयाँ बानेश्वरसम्मको र्यालीमा उनलाई पछ्यायौं। केही समय हामीसँग कुराकानी गरे। धेरै समय उनले लागिरहेको नारामा स्वर मिलाए। घाँटीको नसा फुल्नेगरी चिच्याए। उनी पनि चिच्याइरहेका थिए-
सबै कुरा प्रस्ट छ, ओली सरकार भ्रष्ट छ
एक-दुई-तीन-चार हामी मान्ने छैनौ हार
पाँच-छ-सात-आठ माफियाको कान समात
जिकेसीको अनसन माफियालाई टेन्सन
माफियाका ताँती ओली सरकारका साथी…
डा केसीका मुद्दामा आफ्नो तर्फबाट जोडबल दिन काठमाडौं आइरहने यी आम किसानसँग काठमाडौंको महँगीसँग जुध्ने ‘हात्ती वा बाघ’ छैनन्। उनको मन भने हात्ती-बाघभन्दा बलियो छ। त्यसैले त माघको ठन्डीमा खाली खुट्टा काठमाडौं आइपुगेका छन्। भनिरहेका छन्– मेडिकल माफिया मुर्दाबाद।
उनको खालीखुट्टातिर क्यामेरा सोझ्याउँदै हामीले सोध्यौं, 'ठन्डी लाग्दैन?'
उनले प्रतिप्रश्न गरे, ‘डाक्टर गोविन्दलाई भुख लाग्दैन?’
‘उसलाई भुख लाग्दैन, हामीलाई ठन्डी लाग्दैन,’ उनी भन्दै गए, ‘जुन दिन उसलाई भुख लाग्छ, हामीलाई त्यही दिन ठन्डी लाग्छ।’
डा केसीका माग पूरा नहुन्जेल खाली खुट्टै हिँड्ने लक्ष्य लिएका रहेछन् उनले। ‘डा केसीलाई भुख लाग्ने र आफूलाई ठन्डी लाग्ने दिन आओस्,’ उनले अपेक्षा गरे।
केसी पहिलोपटक अनसन बस्दा पनि यादव काठमाडौं आएका थिए। त्यसयताका १६ वटै अनसनमा उनको उपस्थिति छ। हरेक र्याली वा प्रदर्शनमा सहभागी हुन्छन्। केसीको पक्षमा उभिन्छन्। जब अनसन तोडिन्छ, उनी धनुषा फर्किन्छन्।
काठमाडौंमा उनको बस्ने ठाउँ छैन। कहिलेकाहीँ चिनेजानेका मान्छेका अफिस वा संघसंस्थाका कार्यालयमा ओत पाउँछन्। कहिलेकाहीँ अभरै पर्छन्। त्यो अभरबाट जोगाउन उनको साथमा छ, सानो कम्बल जुन पिठ्युमा भिरेका छन्। झोलामा केही खानेकुरा छन्, जसले भोक मेटाउन त सक्दैन तर भोक तर्साउने खजानाको काम गर्छ।
डा केसीले उठाएका मागबारे सदनमा बहस चलिरहेको छ, सामाजिक सञ्जालमा तर्कवितर्क भइरहेछन्। डा केसीलाई सही भन्नेहरु पनि छन्। ‘उनी सही हुन् तर…’ भनेर केही मागमा ‘तर’ लगाउनेहरु छन्। पटक्कै सहमत नहुनेहरु छन्। बहुला, पागल, एजेन्ट भनेर गाली गर्नेहरु पनि नभएका होइनन्।
यी सबसँग यी यादवलाई लिनुदिनु केही छैन। उनलाई लाग्छ, ‘असल मान्छेले उठाएका मुद्दा असल हुन्छन्। असलले असल तरिकाले बुझ्छन्, खराबले खराब तरिकाले।’
आफूजस्ता सर्वसाधारणको मुद्दा उठाएको एक वर्ग डा केसीसँग सुरुदेखि नै बेखुस छ भन्ने उनलाई थाहा छ। त्यो वर्गले डा केसीका विषयमा बखेडा निकालिरहन्छ भन्ने उनको बुझाइ छ। उनको सबैलाई भन्नु यत्ति छ, ‘डा केसी ठिक छ। ऊ ठिक माग राख्छ।’