यशोदा दाहाल उमेरले २४ वर्षकी थिइन् । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र (शिक्षा संकाय)मा स्नातकोत्तर गरेर झापाको एक निजी स्कुलमा पढाउन थालेकी थिइन् । लोकसेवा आयोगले शिक्षा तथा मानव संसाधन केन्द्रका लागि माग गरेको प्राविधिक अधिकृतका लागि पनि उनले परीक्षा दिएकी थिइन्।
त्यही समय कहिलेकाहीं दाहिनेपट्टि ढाड दुखेको महसुस हुन थाल्यो । धेरै दुखिसकेको थिएन । तैपनि एकपल्ट चिकित्सकीय सल्लाह लिन मन लाग्यो उनलाई । घरनजिकैको मेडिकलमा देखाइन् । मेडिकलले पत्थरी हुनसक्ने आशंका गर्दै भिडियो एक्स–रे गराएर डाक्टरलाई देखाउन सल्लाह दिए । उनी सम्झिन्छिन्, ‘दुख्न थालेको पाँच दिन जति भएको थियो । साँझपख मात्रै दुखाई महसुस हुन्थ्यो।’
मेडिकल सञ्चालकको सल्लाहबमोजिम आमालाई लिएर उनी झापास्थित मेची अञ्चल अस्पताल पुगिन् । अस्पतालमा भिडियो एक्सरे गर्दा ट्युमर देखियो । ट्युमरको थप जाँच जरुरी रहेको बताइएपछि उनी सिलिगुडी पुगिन् । सिलिगुडीस्थित हेरिटज हस्पिटलका चिकित्सक डा राकेश सेठीले रिपोर्ट हेरेपछि सीए १२५ (डिम्बासयको क्यान्सर पत्ता लगाउने एउटा विधि) जाँच गर्नुपर्ने बताए । त्यो जाँच गराइन्।
आमासँगै उनी रिपोर्ट लिन उक्त अस्पताल गइन् । रिपोर्टपछि आउने सम्भावित नतिजाप्रति उनी खासै त्रसित थिइनन् । किनकि उनलाई विश्वासै थिएन कि आफूलाई क्यान्सर हुनसक्छ । रिपोर्ट लिने कोठा बाहिर आमासँगै कुरिरहेकी थिइन् । डाक्टरले उनीहरुतिर हेरेर उनकी आमालाई मात्रै भित्र बोलाए।
बल्ल उनको मुटुमा डरको ज्वालामुखी फुट्यो । उनलाई लाग्यो– केही त अवश्य गडबड छ । आमाले डाक्टरसँग सल्लाह गरिरहेको बेलामा उनले आफूलाई क्यान्सर भइसकेको निश्चय गरिसकेकी थिइन् । ‘ठूलो (जटिल) रोग हो भन्ने थाहा थियो, तर मृत्यु पनि हुन सक्छ भन्ने ज्ञान थिएन त्यो समय । त्यसैले डरको अन्तिम तहसम्म पुगिनँ । क्यान्सरप्रतिको अज्ञानताको लाभ लिएँ त्यो बखत,’ उज्यालो अनुहार बनाउँदै भनिन्।
जवान छोरीलाई क्यान्सर भएको थाहा पाएकी आमाको मन कसरी थामिन्थ्यो । लुकाउन खोजेका आँशु र दबाउन खोजेका पीडा छोरीको अनुहार देख्नेबित्तिकै छरपस्ट भए । तर, यशोदाले यही बेला आफूलाई सम्हालिदिइन् । पहिलो चरणमा रहेको क्यान्सरलाई आत्मसात गरेर यसविरुद्ध डट्न अघि सरिन् । डाक्टरले ट्युमरको तुरुन्तै शल्यक्रिया गर्नुपर्ने बताए । उनीहरु नेपालमै क्यान्सरको उपचार गर्ने भनेर सिलिगुढीबाट झापा फर्किए।
‘२०६८ साल असारको अन्तिम हप्ता हो,’ उनले आफूमा क्यान्सर पत्ता लागेको मिति सम्झिइन्, ‘केही समयअघि दिएको लोकसेवा परीक्षाको लिखितमा मेरो नाम उत्तीर्णको सूचीमा थियो ।’ खुसी र दुःख एकसाथ दिएर समयले कहिलेकाहीं मानवलाई ‘कन्फ्युज’ बनाइदिन्छ । यशोदालाई पनि त्यस्तै गर्यो।
तर, यहाँनेर लोकसेवा पासको खुसीले क्यान्सरविरुद्ध लडाइँ सहज बनायो भन्ने लाग्छ यशोदालाई । ‘मलाई शल्यक्रिया जतिसक्दो छिटो होस् भन्ने लाग्न थाल्यो । किनकि मेरो लोकसेवा अन्र्तवार्ताको समय नजिक आइरहेकाले तयारी गर्नु थियो । उनले मुस्कुराउँदै भनिन्, ‘मलाई क्यान्सरको डरभन्दा बढी अन्तर्वार्ताका लागि तयारी गर्न नपाउने पीर थियो ।’
उनको यही मुस्कानले परिवार र आफन्तमा आत्मविश्वास बढेको थियो । उनी भन्छिन्, ‘त्यो बेला मलाई क्यान्सर भयो भन्ने कुराको त्यति वास्ता नै भएन । अहिले सम्झिँदा मलाई पनि अचम्म लाग्छ।’
उनी आमासँग क्यान्सरको उपचारका लागि झापाबाट काठमाडौं आइन् । त्यो समय बुद्धनगरमा रहेको ह्याम्स हस्पिटलका डाक्टर पदमराज पन्तलाई देखाइन् । २०६८ साल साउन १३ गते उनको डिम्बासयमा रहेको क्यान्सर ट्युमरको शल्यक्रिया भयो । उनको डिम्बासयको एकपट्टि मात्र क्यान्सर भएको थियो, अन्यत्र फैलिन पाएको थिएन।
जीवनमा कहिलेकाहीं संयोग पनि त्यस्ता जुर्छन्, संयोगलाई सही वा गलत छुट्याउन नै मुश्किल पर्छ । त्यस्तै संयोगबाट दोस्रोपल्ट गुज्रिइन् उनी । उनकी आमाको घाँटीमा पहिलेदेखि नै सानो गिर्खा थियो । उनी अस्पतालमै भर्ना भइरहेको बेला त्यसको पनि चेकजाँच गरियो । ‘गिर्खाहरु पनि क्यान्सरको लक्षण हुनसक्ने थाहा भइसकेको थियो । जाँचाएर हेर्दा आमालाई पनि थाइराइडको क्यान्सर भएको रहेछ । मेरो शल्यक्रिया भएपछि आमाको उपचार सुरु भएको हो,’ उनले सम्झिइन्।
जवान छोरीको जीवनको चिन्ता लिइरहेकी आमा आफैं पनि क्यान्सरपीडित रहेको थाहा पाएपछि निकै आत्तिएकी थिइन् । उनकी आमालाई भएको क्यान्सरको औषधि नेपालमा नपाइने भएकाले भारत गएर उपचार गर्नुपरेको उनले बताइन्।
लोकसेवाको अन्र्तवार्ता दिएपछि टाँका काट्न
क्यान्सरको शल्यक्रियापछि उनलाई एक साता अस्पताल राखेर डिस्चार्ज गरियो । शल्यक्रियाको टाँका काटिएको थिएन । डिस्चार्ज भएको तीन दिनपछि लोकसेवामा उनको अन्तर्वार्ता थियो । ‘मैले डिस्र्चाजपछिको दुई दिन तयारी गरें । परिवारले घाउ बिसेक भएको छैन, यस पटक परीक्षाको तनाव छाडिदेऊ भन्नुभएको थियो,’ उनले भनिन्, ‘यस्तो बेला अन्तर्वार्ता एक साता सार्नसक्ने व्यवस्था पनि रहेछ । तर मलाई आफूलाई भएको रोगबारे बताएर सहानुभूति लिन मन लागेन । जिद्धी गरेरै आमा र दिदीसँग लोकसेवा आयोगमा अन्र्तवार्ता दिन गएँ।’
अन्तर्वार्ता दिएर उनी त्यतैबाट शल्यक्रियापछि सिलाइएको घाउको टाँका काट्न गएकी थिइन् । नतिजा त्यही दिन निस्किएको थियो । तर, दिनभर अस्पतालमै व्यस्त भइन् । ‘घर पुगेर नतिजा हेरें । म उत्तीर्ण भएकी रहिछु । मेरो सपना साकार भयो । क्यान्सर भएको बिर्सेर उत्सव मनाएँ । धेरै दिनपछि परिवारमा खुसीले पाइला टेकेको दिन थियो त्यो,’ स्मृतिबाट जीवनको एउटा प्लट सुनाइन्।
केही दिन तयारी गरेर सानोठिमी भक्तपुरस्थित कार्यालयमा हाजिर हुन पुगिन् । उनको उपचार प्रक्रिया जारी थियो । मुख्य कुरा क्यान्सर विरुद्धको केमो त लिनै बाँकी थियो । ‘चार पाँच दिनपछि अफिसमा बिदा लिएर केमोथेरापी गर्न थालेकी थिएँ,’ उनले क्यान्सरविरुद्धको आफ्नो लडाइँ सम्झिइन्।
शल्यक्रिया ह्याम्समा गरेपछि केमोथेरापीका लागि क्यान्सर केयर नेपाल, नेसनल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टर गएकी थिइन् । ६ साइकल केमो तीन हप्ताको फरकमा लिइन् । उनी हरेक पटक केमोका लागि दुई दिन बिदा लिने गर्थिन् । भदौबाट सुरु भएको केमोथेरापी मंसीरमा पूरा भएको थियो । तर, भर्खरै सुरु भएको करिअर र केमो दुवैलाई ‘मेन्टेन’ गरिन्।
मंसिरपछि डाक्टरले उनलाई क्यान्सरमुक्त घोषणा गरे । उनले जिन्दगीलाई संघर्षको मैदानबाट सामान्य दैनिकीको प्याराफिटमा उकालिन् ।
२०६८ साल : जीवनको महत्वपूर्ण वर्ष
यशोदाको जीवनको क्यालेन्डरमा २०६८ विशेष महत्वको छ । किनभने त्यो वर्ष उनको जीवनमा सुख–दुःखका घटनाहरु निरन्तर घटिरहे । उनलाई क्यान्सर भयो, निको भइन् । सानैदेखिको सरकारी जागिर गर्ने सपना पूरा भयो । सबैभन्दा महत्वपूर्ण जीवनको अर्को पाटो विवाह पनि त्यही वर्षको माघमा भयो।
जटिल रोगले ग्रसित भइरहँदा कतिपयका आफन्त नै टाढिएको घटना निकै सुन्न पाइन्छन् । अस्पतालमै आफन्त छाडेर बेपत्ता भएको समाचार आइरहन्छन् । तर, यशोदा त्यस्ती भाग्यमानी भइन्, क्यान्सरसँग लडिरहँदा उनका जीवनसाथी नेत्र चापागाईं असल साथीका रुपमा सँगै थिए । उनी क्यान्सरबाट मुक्त हुनेबित्तिकै विवाहका लागि माग्न आइपुगे । आफ्नो प्रेमबारे यत्ति भन्छिन्, ‘पहिलेदेखि नै चिनजान थियो । हामी एकअर्कालाई मन पनि पराउँथ्यौं । म निको भएपछि उहाँ माग्न आउनुभयो ।’ अहिले उनीहरुसँग चार वर्षकी एक छोरी छिन्।
आफू क्यान्सरसँग नडराउनुको एउटा कारण आफ्नो परिवार र आफन्त हो जस्तो लाग्छ उनलाई । ‘मलाई सबैले हौस्याए । सबैले सहयोग गरे,’ उनी अनुग्रहित छिन्।
आत्मविश्वास एउटा अस्त्र
जटिल रोगले भन्दा बढी मान्छेलाई निराशाले गलाउँछ । रोगले छोएपछि धेरैले त्यसविरुद्ध संघर्ष गर्न छाडेर जीवन जिउने लत्तो छाड्न थाल्छन् । तर, यशोदाले क्यान्सर भएपछि निराशाको त्यो घातक तहसम्म आफूलाई पु¥याइनन् । उनी सम्झिँन्छिन्, ‘मैले क्यान्सरलाई अरुले जस्तो डरलाग्दो रुपमा सोचिनँ । निको भइहाल्छ भन्ने लागिरह्यो । त्यसैले सामान्य रुपमै लिएँ।’
उनले यसलाई सामान्य रुपमै लिनुको पहिलो कारण डिम्बासय क्यान्सरप्रतिको अज्ञानता थियो भने अर्को कारण उनीसँग प्रशस्त आत्मविश्वास थियो । उनलाई अहिले लाग्छ, ‘त्यो बेला मलाई क्यान्सरबारे यति धेरै जानकारी हुँदो हो त आत्तिन्थें होला जस्तो लाग्छ । आत्मबल पनि गुमाउँथें।’
आफूलाई क्यान्सर भएपछि उनले आफ्नो रिपोर्ट र डिम्बासय क्यान्सरबारे इन्टरनेटमा खोज्न थालिन् । इन्टरनेटका जानकारीले उनीभित्र केही डर पैदा गरेको थियो ।
डिम्बासयको क्यान्सर एकपल्ट भएपछि दोहोरिने सम्भावना धेरै हुन्छ । त्यसैले अहिले पनि बेला–बेलामा फ्लोअप जाँच गरिरहनुपर्छ । ‘हरेक तीन महिनामा जाँच गराउँछु । सामान्य रिपोर्ट भए चिकित्सककहाँ पुग्दिनँ । तर हरेक ६ महिनामा क्यान्सर रोग विशेषज्ञ डा मदन पियालाई भेट्छु भने कहिलेकाहीं डा सरीता घिमिरेलाई । डा घिमिरेले नै मलाई केमोथेरापी दिनुभएको हो।’
क्यान्सरमुक्त भएपछि उनको सोच्ने तरिका फेरिएको छ । ‘सकेसम्म खुसी रहने कोसिस गर्छु । सकारात्मक सोच्छु । आफूलाई लागेको रोग लुकाउँदिन । अरु सचेत रहुन् भनेर रोगबारे जानकारी दिने गर्छु,’ उनी भन्छिन्, ‘मलाई आफ्नो रोगबारे कुरा गर्न कहिल्यै अप्ठेरो लागेन । क्यान्सर भयो भन्दा कसैले के सोच्लान् भन्ने मतलब पनि हुँदैन ।’
आफूलाई सानो लक्षणले क्यान्सर देखाएकाले कसैले ‘ढाड दुख्छ, कब्जियत छ’ भन्दा पनि जाँच गराउन सिफारिस गर्छिन् । ‘क्यान्सर हुनका लागि जटिल लक्षण नै देखिनुपर्दैन,’ उनलाई महसुस भएको छ।
उनको दैनिकी पनि पहिलेभन्दा फेरिएको छ । क्यान्सरबारे जनचेतना जगाउनुपर्ने कार्यक्रममा थाहा पाएसम्म पुग्छिन् । उनले उपचार गरेको अस्पतालले पनि क्यान्सरबारे अनुभव बाँड्न, क्यान्सर विजेताका रुपमा उदाहरण प्रस्ुतत गर्न उनलाई बोलाइरहन्छ । उनी खुसी–खुसी त्यस्ता कार्यक्रममा पुग्छिन्।
डिम्बासयको क्यान्सर सामान्यतयाः ४० कटेपछि देखिने बताइन्छ । तर, कम उमेरका महिला पनि यसबाट अछुतो नरहनेकी यशोदा एउटा उदाहरण हुन् । आफूले अरुलाई जानकारी दिँदा उनले जोड दिने यहींनेर हो । भन्छिन्, ‘मलाई २४ वर्षको उमेरमै क्यान्सर भयो।’
त्यो समय उनी आफूलाई निकै कम उमेरमा क्यान्सर भयो भन्ने लाग्थ्यो । तर आजकाल आफूभन्दा निकै कम उमेरमा क्यान्सर भएकाहरुलाई उनले भेट्ने गरेकी छिन् । उनीहरु निकै डराएको पाउँछिन् । आफूलाई उदाहरणका रुपमा प्रस्तुत गरेर हिम्मत जुटाउन सघाउँछिन्।
उनको सन्देश छ, ‘सानो भन्दा सानो लक्षणलाई बेवास्ता गर्नुहुन्न । हिम्मत हार्नुहुन्न।’