हुम्ला– सरिता बोहोरा १५ वर्षदेखि लगातार जिल्ला अस्पताल हुम्लामा अनमीका रुपमा कार्यरत छिन्। २०६० कात्तिक ४ गते जाजरकोटबाट सरुवा भएर उनी जिल्ला अस्पताल हुम्लाको प्रसूति केन्द्र आएकी हुन्।
सरिता जिल्ला अस्पताल हुम्लामा आउँदा गर्भवती तथा सुत्केरीले चेकजाँच गराउन आउँदैनथे। तर, आफू आएपछि सो अस्पतालबाट ६ हजारभन्दा धेरै गर्भवतीको सफल प्रसूति गराएको अनुभव सुनाउँछिन् उनी।
८ वर्षसम्म उनले अनमीका रुपमा काम गरिन्। त्यसपछि क्षेत्रीय तालिम केन्द्र सुर्खेतमा सिअनमीको ६ महिने तालिम लिइन् । सरिता अहिले सिनियर अनमीको रुपमा भएर काम गर्दै आएकी छन्। उनैको भरमा १५ वर्षदेखि हुम्लाको प्रसूति केन्द्र चलिरहेको छ।
जटिल समस्या भएका गर्भवती महिलालाई पनि सहज रुपमा प्रसूति गराउँदै आएकी छिन् उनले। त्यसैले सरितालाई प्रसूति केन्द्रकी आमाका रुपमा चिन्ने गरिएको छ।
प्रसव व्यथाले थलिएको अवस्थामा बर्थिङ सेन्टरमा आउने महिलाको सुरक्षित प्रसूति गराउन पाउँदा गर्व लाग्ने बताउने सरिता उनीहरुको पीडा देख्दा भने निकै दुःख लाग्ने बताउँछिन्। उनी भन्छिन्, ‘दुःख लागेर के गर्नु, सम्हालिएर उपचारमा लाग्नुको विकल्प छैन।’
सुरुमा सुत्केरी व्यथा लागेका महिला आउँदा सफल प्रसूति गराउन सकिन्छ कि सकिँदैन भन्ने चिन्ता हुने गरे पनि विस्तारै काम गर्न सहज हुँदै गएको उनले बताउँछिन्। ‘पछिपछि जस्तोसुकै जटिल केस आए पनि आत्मविश्वासका साथ प्रसूति गराउन सफल हुँदा आफैंलाई गौरव लाग्न थाल्यो,’ उनी भन्छिन्।
काम गर्दै जाँदा प्रसूति गराउने काममा रुची पनि बढ्दै गएको उनी बताउँछिन्। काम र आत्मविश्वास देखेर नै १२ वर्षदेखि शाखाको जिम्मेवारी उनी एक्लैलाई दिइएको छ।
प्रसूति केन्द्रमा आएका गर्भवती महिलालाई ८ घन्टाको लगातार प्रयासदेखि १५ मिनेटमै प्रसूति गराएको अनुभव छ।
पहिला–पहिला केही कामकाजी र पढेलेखेका महिला मात्र गर्भ जाँच गर्न र बर्थिङ सेन्टरमा सुत्केरी गराउन आउने भए पनि अहिले महिलामा सुरक्षित प्रसूति गर्नुपर्छ भन्ने चेतना बढेको उनी बताउँछिन्। ‘पहिला फाट्टफुट्ट महिलामात्र अस्पताल आउँथे अहिले गाउँका धेरैजसो महिला गर्भ जाँच र सुत्केरी गराउन अस्पताल आउँछन्,’ उनी भन्छिन्।
६ हजार सुत्केरी गराउँदा दुई जना महिलाको मृत्यु भएको तितो यथार्थ पनि सुनाउँछिन् सरिता। ‘व्यथा लागेको चार दिन बितिसकेपछि अस्पताल ल्याइएको थियो। जति कोशिस गर्दा पनि बचाउन सकिएन,’ उनी भन्छिन्, ‘ती महिलाको मृत्युले मलाई अझै राम्रोसँग काम गर्ने पाठ सिकायो।’ ती महिलाको मृत्यु भएको दिनलाई उनले कालो दिन भनेर सम्झिने गरेकी छिन्।
उनले काम गर्ने अस्पतालमा सुत्केरी गराउन आएका महिलामध्ये अहिलेसम्म पाँच जनालाई मात्र जिल्ला बाहिर रिफर गरिएको छ। उनी भन्छिन्, ‘त्यो पनि उपकरण अभावमा।’