सरकारले २०७५/०७६ को नीति तथा कार्यक्रममा उल्लेख गर्यो– ‘सबै नेपालीको स्वास्थ्य बिमा हुनेगरी स्वास्थ्य बिमा कार्यक्रम विस्तार गरिनेछ। स्वास्थ्य बिमाको प्याकेज पुनरावलोकन गरी समय सापेक्ष बनाइनेछ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना अन्तर्वार्ता र भाषणमा स्वास्थ्य बिमालाई पटकपटक उल्लेख गरिरहेकै हुन्छन्। कतिपय अवस्थामा आफ्नो पार्टीले लागू गरेको दाबीसमेत गर्ने भएकाले हालको बिमा कार्यक्रमलाई उच्च महत्व दिएको देखिन्छ। आफूले देखेको ‘समृद्धिको सपना’ साकार पार्ने एउटा हतियार स्वास्थ्य बिमा हुन सक्ने अपेक्षा प्रधानमन्त्री ओलीको हुन सक्छ।
२०७२ चैत २५ गतेबाट कैलालीमा र २०७३ असार १५ गतेबाट बाग्लुङ र इलाममा नमुनाका रूपमा सुरु गरिएको कार्यक्रम ३६ जिल्लामा पुगिसकेको छ। तीन वर्षमै उल्लेख्य प्रगति भइरहेको देखिए पनि ‘सबै नेपालीको स्वास्थ्य बिमा हुनेगरी’ यस कार्यक्रमलाई विस्तार गर्ने सरकारको योजना अहिलेकै ढाँचा, गति र यही अवस्थामा पूरा हुन सहज भने देखिँदैन।
२०६८ सालको जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९५ हजार छ। अहिले यो ३ करोड पुगेको अनुमान गरिन्छ। गत असोजसम्म स्वास्थ्य बिमामा समेटिनेको संख्या १४ लाख ११ हजार ४ सय ५३ छ। यो कूल जनसंख्याको बढीमा ५ प्रतिशत मात्रै हो।
तीन वर्षमा बिमा कार्यक्रममा यति जनसंख्या समेटिनुलाई सफलता वा असफलताको मापक बनाउनु हुँदैन। तर, सरकार, सरोकारवाला र नीति निर्माताहरू डराउनुपर्ने अवस्था कहाँनेर देखिन्छ भने बिमामा एकपल्ट समेटिएको परिवार अर्कोपल्ट नवीकरण गर्न हम्मेसी मानिरहेको छैन। सबैभन्दा पहिले बिमा सुरु भएको कैलालीको तथ्यांक केलाउने हो भने नवीकरण दर जम्मा ३७.६ प्रतिशतको हाराहारीमा देखिन्छ। यसबाट ६२.४ प्रतिशत स्वास्थ्य बिमापछि प्राप्त सेवाबाट बेखुस छन् भन्ने अथ्र्याउन सकिन्छ।
पहिलो स्वास्थ्य बिमा कार्यक्रम लागू भएको कैलालीमै बिमित संख्या न्यून छ। स्वास्थ्य बिमा बोडका सुदूरपश्चिम प्रदेश प्रबन्धक जनक साउँदका अनुसार कैलालीमा हालसम्म १६ हजार एक सय ३६ घरपरिवार स्वास्थ्य बिमामा आबद्ध छन्। तीमध्ये आफै प्रिमियम तिरेर बिमामा आबद्ध हुने ५ हजार ९ सय परिवार छन् भने १० हजार २ सय ३६ परिवारको सरकारले नै प्रिमियम तिरिदिएको छ।
बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेल पनि इन्स्योरेन्सको पद्धति र ट्रेन्ड हेर्दा १० प्रतिशतभन्दा धेरैले बिमा छाड्दै जानु कार्यक्रमको दिगोपनका लागि राम्रो नमानिने बताउँछन्।
बिमित किन बेखुस?
बिमितहरूको निराशाको कारण खोज्ने क्रममा हामी कैलाली पुग्यौं। र, भेट्यौं– धनगढी उपमहानगरपालिकाभित्रै बसोबास गर्ने अनिता कार्कीलाई।
गत बैसाखमा मात्रै उनले स्वास्थ्य बिमा गरेकी रहिछन्। हामीले भेट्दा उनी स्वास्थ्य जाँचका लागि सेती अञ्चल अस्पताल आइपुगेकी थिइन्। २ हजार ५ सय रुपैयाँ तिरेर स्वास्थ्य बिमा गर्दा ५० हजारसम्मको निःशुल्क स्वास्थ्य उपचार पाइने दर्ता सहयोगीले बताएपछि उनी कार्यक्रममा आबद्ध भएकी हुन्। तर, नवीकरण गर्ने विषयमा कुरा गर्दा उनले नाक खुम्च्याइन्। भनिन्, ‘बिमा गरेको यतिका महिनापछि आज पहिलोपटक उपचारका लागि अञ्चल अस्पताल आएँ। चेकजाँच भयो तर सबै औषधि आफैंले किन्नुपर्ने भयो। नवीकरण गर्दा सोच्नुपर्छ।’
अस्पतालले उनलाई थाइराइडको समस्या रहेको पहिचान गर्दै औषधि सेवन गर्न सिफारिस गरेको छ। उक्त औषधि भने अस्पतालले उपलब्ध गराउन सकेन।
घोडाघोडी नगरपालिका–१० का गोरीलाल चौधरीले पनि स्वास्थ्य बिमालाई निरन्तरता दिन सकेनन्। ‘निःशुल्क औषधि उपचार’ पाउने आशामा उनी बिमामा आबद्ध भएका थिए। तर, सेती अञ्चल अस्पतालको फार्मेसीले औषधि नभएको भन्दै निजी मेडिकलमा किन्न पठाएपछि रुष्ट हुन पुगे।
स्वास्थ्य बिमा भएका उनले गोजीबाट ३ हजार रुपैयाँ खर्च गर्नुपरेपछि अहिलेकै अवस्थामा नवीकरण गर्न राजी छैनन्। ‘औषधि नपाउने भएपछि किन कार्ड नवीकरण गर्ने ?’ उनले भने, ‘सेती अञ्चल अस्पतालको जाँच त पहिले पनि निःशुल्कजस्तै थियो नि।’
स्वास्थ्य बिमा बोर्डले बिमा कार्यक्रममा समेटिएकाको उपचार सेवाका लागि सरकारी स्वास्थ्य संस्था र निजी मेडिकल कलेजहरूसँग मात्रै सम्झौता गरेको छ। त्यसैले बिमाको दायरामा आउने गरी उपचार सेवा लिनका लागि सरकारी अस्पतालमै पुग्नुपर्छ।
कैलालीका कार्की र चौधरीले मात्रै होइन बाग्लुङको निसिखोला गाउँपालिका–४ का रिमप्रसाद पौडेललाई पनि बिमा गरेपछि बेहोर्नुपरेको झन्झट चित्त बुझेको छैन। आफ्ना बुवा बिरामी हुँदा बुटवलको लुम्बिनी अञ्चल अस्पताल लगेका थिए उनले। त्यहाँ बिमाबापत ५० हजार रुपैयाँ छुट पाउन धेरै झन्झट खेप्नुप¥यो। उनले अनुभव सुनाए, ‘धेरै डकुमेन्ट मागियो। चाहिनेजति पु¥याउँदा पनि बाबाको उपचारको लागि छुट पाउन सकिनँ।’
त्यो समय छुट नपाए पनि अब त्यस्तै नहोला भन्ने आशामा उनले नवीकरण गराएका छन्।
बिमाका बिरामीलाई स्वास्थ्य संस्थाले गर्ने व्यवहारबाट कैलाली जोशीपुर गाउँपालिका–१ बस्ने मानबहादुर चौधरी पनि आजित छन्। छोरीलाई प्रथम सेवा केन्द्र जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा लगेका उनले त्यहाँ उपचार सम्भव नभएपछि सेती अञ्चल अस्पताल पु¥याए। बिमाको बिरामी भनेपछि कर्मचारीले सेवा दिन झर्कोफर्को गरेको उनले गुनासो सुनाए।
पत्थरीको समस्या पहिचान भएकी उनकी छोरीको उपचार त भयो तर उपचारका क्रममा बेहोरेको समस्याले बिमा नवीकरण गर्न उत्साहित छैनन्।
फिस्टुला रोगले पीडित जोशीपुर गाउँपालिकाका जगराम चौधरीसँग त बिमाको बिरामी भनेर अस्पतालले गरेको व्यवहारबाट आजित भएर निजी मेडिकल कलेजमा गएको अनुभव रहेछ। ‘पहिलोपल्ट जाँदा १० दिनमा आउनु भनियो। फेरि पनि राम्ररी हेरिएन। निजी अस्पतालमा गएर उपचार गराएँ। ८ हजार रूपैयाँ खर्च भयो,’ उनले आक्रोशमिश्रित निराशा पोखे।
स्वास्थ्य बिमा गराएपछि सहज रूपमा गुणस्तरीय औषधि उपचार पाइने विश्वास गरेकी तनहुँकी दिलकुमारी थापाले अस्पतालमा लामो समय कुर्दा पनि पालो नपाएको गुनासो गरिन्। ‘पैसा तिरेर उपचार गर्नेको पालो सकिएपछि पालो आउने रै’छ, बिमाबाट उपचार गर्ने हो भनेपछि त पालै ढिलो दिँदा रै’छन्। अस्पतालमा पनि भेदभाव हुने,’ उनी भन्छिन्।
थापाको ६ वर्षीय छोराको पिसाबसम्बन्धी समस्याको उपचार गर्न पोखराको मणिपाल अस्पताल पठाइएको थियो। तनहुँ जुमडाँडाकी उनले अस्पतालले बिमाबाट उपचार गर्नेलाई प्राथमिकता नदिएको दुखेसो गरिन्।
बिमा गरेपछि रिफर भएर ठूलो अस्पतालमा जाँदा भोग्नुपरेको दुःख तनहुँ जुमडाँडाका तिकलबहादुर आलेमगरसँग पनि छ। मणिपाल अस्पतालमा भान्जाको उपचारमा गएका उनले डिस्चार्जका लागि १२ बजेदेखि लाइनमा बस्नुपर्यो। साँझ ५ बजेसम्म पनि पालो नपाएपछि ‘बिमा बेकार’ रहेको निष्र्कषमा आफू पुगेको उनले सुनाए।
केही समयअघि बिरामी परेर पोखरा क्षेत्रीय अस्पताल पुगेकी म्याग्दीकी होमकुमारी नेपालीको बिमा कार्डले उपचार हुन सकेन। पहिलो सेवा केन्द्र म्याग्दी जिल्ला अस्पताल रहेकी होमकुमारीको परिवार नै विशेष समस्याले एक महिना पोखरा बस्ने गरी आइपुगेको रहेछ। पोखरा पुगेपछि उनी बिरामी परिन्। उनकी आमाले उपचारका लागि अस्पताल पुर्याइन्। बिमाको बिरामीका लागि व्यवस्था गरिएको काउन्टरमा लाइन लागिन्।
क्षेत्रीय अस्पतालमा उनलाई पहिलो सेवा बिन्दु (अस्पताल) को रिफर मागियो। उनले फोनमा अस्पतालमा चिनेजानेसँग हारगुहार गरिन्। अस्पतालले एउटा निवेदन दिएपछि मात्रै रिफरका लागि अस्पताललाई लेखी पठाउन सकिने बताएपछि उनी निराश भएर घाम ताप्न थालिन्।
जसले लाभ लिए
घोडाघोडी नगरपालिका–१२ का वीरेन्द्र चौधरी स्वास्थ्य बिमा कार्यक्रमबाट खुसी ३७.५ मध्येमा पर्छन्। किनभने उनी स्वास्थ्य बिमाबाट लाभ लिनेमध्ये एक हुन्। उनी बिमामा आबद्ध भएपछि परिवारका ३ जनाको आँखाको उपचार गर्नुप¥यो। गेटा आँखा अस्पतालमा सबैको उपचारमा २५ हजार रुपैयाँ खर्च भयो। तर, आफ्नो गोजीबाट एक रुपैयाँ पनि तिर्नुपरेन।
घोडाघोडी नगरपालिका–१ का रामबहादुर महरा स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएको दुई वर्ष भयो। यसबीच उनकी आमा, बुवा र छोरी पटकपटक बिरामी भए। उपचारका लागि सेती अञ्चल अस्पताल पुर्याए। तर, उपचारमा बिमाले सहुलियत गरायो। केही औषधि किन्नुपरे पनि उनी बेखुस छैनन्। उनले भने, ‘बिमा नभएको भए मेरो कति खर्च भइसक्थ्यो होला ?’
कैलालीको लम्कीचुहा नगरपालिका–१५, गोप्काका भीमबहादुर खड्काले बिमामा भएको ५० हजार रुपैयाँकै सेवा लिइसकेका छन्। एक्कासि छाती दुख्न थालेपछि उनी स्वास्थ्य जाँचका लागि टीकापुर अस्पताल पुगे। चेकअपबाट उनको फोक्सोमा छिद्र (प्वाल) देखियो। अस्पतालले उनलाई थप उपचारका लागि काठमाडौं वीर अस्पतालनमा रिफर गर्यो। उपचारमा झन्डै २ लाख ७० हजार रुपैयाँ खर्च भयो। स्वास्थ्य बिमा गरेका कारण बिमाबाट ५० हजार रुपैयाँ बराबरको उपचार खर्च बेहोरियो र अस्पतालले थप ६ हजार रुपैयाँ पनि छुट दियो।
‘मैले स्वास्थ्य बिमा गरेकै कारण उपचारमा झन्डै ५६ हजार रुपैयाँ कम तिर्नुप¥यो,’ खड्काले भने, ‘स्वास्थ्य बिमाका कारण मेरो यत्रो पैसा जोगियो।’
आफूले फाइदा नलिए पनि छिमेकीले उपचारमा छुट पाएको बताएपछि बाग्लुङ निसीखोला–५ का भागीबहादुर घर्तीमगर खुसी छन्। उनको परिवारले बिमा गराएपछि उपचार गराउनु परेको छैन। उनले भने, ‘मैले फाइदा नलिए पनि छिमेकीले उपचारमा ५० हजार छुट पाएका छन्। मैले तिरेको रूपैयाँ उहाँलाई काम लाग्यो। त्यसैले यो राम्रो कार्यक्रम हो। सबैलाई आवद्ध हुन आग्रह गर्छु।’
(कैलालीमा शेरबहादुर ऐर र बाग्लुङमा नारायण रिजालको सहयोगमा )