सरकारले नै लागू गरेको स्वास्थ्य बिमा कार्यक्रममा बिमितहरूको संख्या भने अपेक्षाअनुसार बढ्न सकेको छैन। धनगढी उपमहानगरपालिका–१ की दर्ता सहयोगी दुर्गा जोशी यसको कारण ‘सेवा प्रदायक संस्थामाथि विश्वास नहुनु’ बताउँछिन्। बिमा गराउन र नवीकरण गर्न आग्रह गर्दा उनले अधिकांशबाट एउटै खालको प्रतिक्रिया आउने गरेको अनुभव सुनाइन्।
‘अस्पतालमा चिकित्सकले राम्रोसँग उपचार नगर्ने, सबै सेवा–सुविधा अस्पतालमा नहुने तथा अस्पतालबाट औषधिहरू पूर्ण रूपमा नपाई खरिद गर्नुपर्ने लगायतका समस्या देखाएर उम्कन्छन्,’ उनको सुझाव छ, ‘बिमा प्रभावकारी बनाउन सेवा प्रदायक संस्था बलियो बनाउनैपर्छ।’
बाग्लुङ निसीखोला गाउँपालिका–६ की दर्ता सहयोगी ज्ञानकुमारी घर्तीमगर बुढाको अनुभव पनि त्यस्तै छ।
नयाँलाई एक हदसम्म बिमामा आकर्षित सजिलो भए पनि अर्कोपटक मनाउन हम्मेहम्मे पर्ने गरेको बताउँछिन्। ‘सेवा सजिलै पाइँदैन। बिमामा पैसा भए पनि औषधि बाहिर किन्नुपर्छ भन्छन्,’ उनले सुनाइन्।
घोडाघोडी नगरपालिका–७ का दर्ता सहयोगी निर्मला चौधरीले स्थानीयहरूले स्वास्थ्य बिमा गर्न आनाकानी गर्ने बताइन्। एकातिर यसबारे बुझाउन मुस्किल छ। बुझाउन सके पनि सेवा लिन धनगढी पुग्नुपर्ने बाध्यताले नवीकरण गर्न आनकानी गर्छन्।
स्वास्थ्य बिमा बोर्डले तोकेको अस्पताल नजिक नहुँदा नवीकरण गराउन मुस्किल रहेको उनको अनुभव छ। नजिकै रहेका निजी स्वास्थ्य संस्थाबाट सेवा लिँदा शुल्क तिर्नुपर्ने भएपछि नवीकरण गराउन नचाहेको बताउँदै उनले भनिन्, ‘धेरैले बिमा कार्ड बनाए। तर केहीले मात्र नवीकरण गर्न मानेका छन्।’
सेवा प्रदायकका समस्या
स्वास्थ्य बिमाका कारण यसअघि निजी स्वास्थ्य संस्थामा मात्रै उपचार गराउनेहरू पनि सरकारी स्वास्थ्य संस्थामा उपचार गराउन आइपुगेका छन्। नियमित सरकारी स्वास्थ्य संस्थामा उपचार गराउन आउने बिरामीकै चाप थेग्न मुस्किल परिरहेका स्वास्थ्य संस्थालाई नयाँ समूहका कारण सेवा प्रवाहमा समस्या थपिएको छ।
धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सागरकुमार राजभण्डारी उपचारमा आउनेको संख्या तेब्बरले वृद्धि भएको बताउँछन्। उनका अनुसार अहिले अस्पतालमा दैनिक ६० प्रतिशत बिरामी बिमित सदस्यहरू हुन्छन्।
अस्पतालमा जनशक्ति र उपकरण भने बिरामी चाप अनुसार बढ्न नसकेका कारण सेवा प्रवाहमा केही जटिलता आएको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखराका निर्देशक डा अर्जुन आचार्य बताउँछन्। उनले भने, ‘केही भएर भन्दा पनि बिमाको रकम प्रयोग गर्न भनेर चेकअप गर्न आउनेहरूको संख्या धेरै छ। यसले अस्पतालमा भिडभाड बढेको छ। चिकित्सक र प्रयोगशालामा लोड छ।’
अस्पतालमा दरबन्दी अनुसारको जनशक्ति नभएको तथ्यांक उनले अघि सारे। बिमा बोर्ड र स्वास्थ्य मन्त्रालयले बिमा लागू भएका जिल्ला र त्यसका सम्भावित रिफरल सेन्टरको जनशक्तिमा पुनर्विचार गर्नुपर्ने उनले देखेका छन्।
उनीसँग कुराकानी गरेपछि हामीले बिमाका निम्ति छुट्याइएको ओपिडी काउन्टरमा केही समय अवलोकन ग¥यौं। उनले भनेजस्तै कतिपय समस्या भएरै आइपुगेका थिए भने कोहीचाहिँ स्वास्थ्य बिमाको उपयोग गर्ने नियतले।
त्यसमध्ये एक ६० वर्षे वृद्ध ५ जनाको परिवारसहित उपचारका लागि आइपुगेका रहेछन्। उनले स्वास्थ्य बिमाको कार्ड काउन्टरमा देखाउँदै भने, ‘मेरो र बूढीको मेडिकल, छोरीको दाँतको, बुहारीको स्त्री रोगको र नातिनीको कानको उपचार गर्नुप¥यो।’ त्यो दिन दाँत र स्त्री रोगको ओपिडी नभएपछि उनले सबैको मेडिकल जाँचकै टिकट मागेर उपचारका लागि गए।
अहिले सर्वसाधारणमाझ केही नहुँदा पनि जँचाउने ‘होलबडी प्याकेज’ चलेको रहेछ। क्षेत्रीय अस्पतालले यस्तो प्याकेज बनाएको त छैन। तर, यसरी जाँच गराउन आउनेहरूले नै जिद्दी गर्दा डाक्टरहरूले प्रयोगशाला जाँचका लागि लेखिदिने गरेको निर्देशक आचार्यले बताए।
टीकापुर जिल्ला अस्पतालमा दैनिक २ सयभन्दा बढी बिरामी सेवा लिन आउने गरेका छन्। तीमध्ये सयभन्दा बढी स्वास्थ्य बिमामा आबद्ध रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा नरेन्द्र खनाल बताउँछन्।
बिमा बोर्ड, सेवा प्रदायक संस्था र बिमितहरूबीच तालमेल हुन नसक्दा कार्यक्रम प्रभावकारी नभएको उनको बुझाइ छ। ‘बिमा बोर्डले हामीले माग गरे अनुसारको रकम पठाउँदैन। जसले सेवा प्रदायक संस्थाको मनोबल घट्दै गएको छ,’ उनले भने, ‘केही समयअघि हामीले ३७ लाख रकम माग गरेको थियौं। तर, बोर्डले १२ लाखमात्र उपलब्ध गराएको छ।’
बिमा बोर्डले रकम नपठाउँदा औषधिसमेत खरिद गर्न गाह्रो भएको उनले सुनाए। ‘औषधिका लागि १४ लाखसम्मको रकम माग गरेका थियौं, तर बोर्डले ४ लाखमात्र उपलब्ध गरायो,’ उनी भन्छन्, ‘फार्मेसीबाट औषधि उधारोमा ल्याउनुपर्छ तर पैसा समयमा नआउँदा निकै गाह्रो भएको छ।’
अर्कोतिर बिमा बोर्डले अस्पतालको सेवामा सुधार ल्याउन पनि काम गर्नुपर्ने उनको बुझाइ छ।
सेवाग्राहीले गुनासो गरिरहे पनि जनशक्ति अभावमा अस्पतालको इन्डोस्कोपी, एनेस्थेसिया लगायतका सेवा सुरु गर्न नसकिएको उनले बाध्यता सुनाए।
‘कुनकुन सेवा बिमाले समेटेको छ भन्ने जानकारी दिन जरुरी छ,’ उनले भने, ‘बिमामा आबद्ध भएपछि सबै सेवा निःशुल्क पाइन्छ भन्ने सोचका साथ आउँछन्, तर कुनै सेवामा उनीहरूले पैसा तिर्नुपर्ने अवस्था छ। यसले गर्दा समाजमा नकारात्मक प्रचार बढी हुन्छ।’
(कैलालीमा शेरबहादुर ऐर र बाग्लुङमा नारायण रिजालको सहयोगमा )