काठमाडौं- शुक्रबार साँझ। एक्युरियमका लागि माछा किन्न भनी घरबाट नख्खु चोकका लागि निस्केकी थिइन् प्रतीक्षा खड्का।
माछा किनेर घर फर्कँदै थिइन् उनी। करिब पौने ७ बजे, उनी एनसेल गेटअघिबाट स्कुटरमा घर जाँदै थिइन्।
बढ्याङ्..।
अचानक केही पड्केको ठूलो र भयानक आवाज आयो। एकाएक वातावरण कोलहाल मच्चियो। एकछिन त उनले केही पनि देखिनन्।
सास फेर्न समेत अफ्ठेरो भयो। के भइरहेका थियो भन्न सक्ने स्थिति थिएन। एक्कासी ढाड पछाडि दुःखे जस्तो पनि भयो उनलाई।
विस्तारै थाहा भयो, कुकर पड्किएको रहेछ।
केही मान्छे लडेको देखिन् प्रतीक्षाले। सिसा फुटेको आवाज सुनिन्। गन्ध कि सुगन्ध छुट्याउन सकिनन् उनले तर फरक थियो सदाको भन्दा। प्रतीक्षाले मान्छेहरू घाइते भएको देखिन्। आफू पनि आत्तिइन्। तर उनले सोचिन् धन्न मलाई चाँहि केही भएन।
यो भन्दा बढी केही पनि थाहा भएन । आफूलाई के भइरहेको छ? भन्ने पनि उनलाई राम्रो सम्झना छैन।
अनुहारभरि त्रास बोकेर उनी बागडोलस्थित आफ्नो घरमा गइन्।
शरीरको पछाडिको भाग दुखिरहेको अनुभव भयो उनलाई। कोठामा पुगेपछि दुखेको ठाउँमा कपडाले पन्छाएर हेरिन्।
रगतको भेल पो बगिरहेछ।
उनी अत्तालिइन्। परिवार पनि अत्तालियो। अचेतजस्तै भइन् उनी।
परिवार र आफन्तले प्रतीक्षालाई अल्का अस्पताल पुर्याए। अवस्था गम्भीर थियो। त्यहाँबाट पनि रिफर गरेपछि मेडिसिटी ल्याइयो र अप्रेसन थिएटरमा लगियो।
अप्रेसनपछि उनको ढाडबाट बमको छर्रा निकालिएको थियो। जुन प्रेसर कुकरको सिटीजस्तै थियो।
शनिबार अस्पतालमा नेपाल लाइभ पुग्दा उनी ओपिडी कक्षमा थिइन्।
शल्यक्रियापश्चात् ओपिडीमा राखिएकी प्रतीक्षाको स्वास्थ्य अवस्था सामान्य थियो।
हाँस्न खोजिरहेको उनको अनुहार त्रासमुक्त भने थिएन।
सिकार सर्वसाधारण
शुक्रबार नख्खुस्थित एनसेल गेटमा बम विष्फोट भयो। एनसेललाई तार्गेट गरेर अज्ञात समूहले प्रेसर कुकर बम पड्काएको थियो। तर, त्यसको सिकार भने ३ जना निर्दोष सर्वसाधारण भए।
सिकार भएका तीन जना मध्येकी एक हुन् प्रतीक्षा।
उनी अहिले मेडिसिटी अस्पतालमा उपचाररत छन्। ‘अहिले त बल्लबल्ल बाँचियो। यहाँ सधैँ यस्तो भइरहन्छ, हाम्रो सुरक्षाको ग्यारेन्टी कसले लिन्छ?,’ अस्पतालको बेडबाटै प्रतीक्षाले पीडाको भारी बिसाइन्, सरकारबाट आम नागरिकले गर्ने अपेक्षा पनि राखिन् प्रश्नात्मक शैलीमा।
घटनाको अर्को सिकार भए सिंहराज गुरुङ। गम्भीर घाइते भएका गुरुङलाई बिहान सोही अस्पतालले मृत घोषणा गर्यो।
सिंगापुर पुलिस फोर्सका पूर्व अफिसर गुरुङ ३ वर्षअघि रिटायर भएका थिए। आफन्तका अनुसार शनिबार पिक्निक जान शुक्रबार किनमेल गर्न बजार निस्केका थिए उनी।
साँझपख नख्खुचोकको एनसेल गेटको विपरीत भागमा १०३२ नम्बरको टक्सन गाडी पार्किङ गरेर उनी वारी आएका थिए। गेटनजिकैबाट हिँड्ने क्रममा उनको खुट्टाले छोएपछि बम विष्फोट भयो।
गुरुङ विष्फोटबाट उम्कन सकेनन्।
मृतक गुरुङको परिवार यतिबेला अचेत अवस्थामा छ। गुरुङकी श्रीमती होसमा आउन सकेकी छैनन्। गुरुङलाई अस्पताल ल्याउने क्रममा प्रहरीले लापरबाही गरेको आफन्तको गुनासो छ।
दुर्घटना र मेडिसिटी अस्पतालको दूरी अनुमानित २ सय मिटरको छ। तर, ‘नजिकको अस्पताल नलगी टाढाको अल्का र त्यहाँबाट बी एन्ड बी अस्पताल लगेर प्रहरीले लापरबाही गरेको’ भन्दै आफन्तले आक्रोश पोखेका छन्।
‘अस्पताल र प्रहरीकै लापरबाहीले उहाँको ज्यान गयो,’ मृतक गुरुङकी आफन्त रमा गुरुङले भनिन्।
दुर्घटनाबाट अर्को सिकार हुन्, उरुषा मानन्धर। उनी मेडिसिटी अस्पतालमै कार्यरत नर्स हुन्। ड्युटी सकेर साँझ घर फर्कँदै गर्दा विष्फोटमा परिन्।
उनको देब्रे खुट्टामा गहिरो चोट लागेको छ।
सरकारको आश्वासन, जनतामा त्रास कायमै
शनिबार बिहान घाइतेको अवस्था बुझ्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ मेडिसिटी अस्पताल पुगे। थापासँगै आइजिपी सर्वेन्द्र खनाल र डिआइजी शैलेश थापा पनि अस्पताल पुगे।
गृहमन्त्री थापाले उनीहरूलाई आश्वासन दिँदै उपचारको खर्च सरकारले व्यहोर्ने बताए।
तर, पीडितपक्ष भने त्रासबाट उम्कन सकेको छैन। उनीहरू उदासीन छन्। नख्खुस्थित एनसेल टावर सँगसँगै नेपालका दर्जनौँ टावरमा अज्ञात समूहले विष्फोट गराएको छ।
घटनाबाट प्रभावित पीडितहरूसँग एउटै गुनासो छ,‘जनताको सुरक्षा गर्ने जिम्मेवारी सरकारको होइन?