स्याङ्जाको चापाकोट गाउँ, जहाँ एउटा पनि हेल्थ पोस्ट थिएन। ४/५ घन्टा बिरामी बोकेर अर्कै गाउँको हेल्थ पोस्टमा लैजानुपर्ने अवस्था थियो। ठूलो सास्ती खेप्न बाध्य थिए, यहाँका स्थानीय।
कतिपय सिकिस्त बिरामीको बाटोमै मृत्यु हुन्थ्यो। त्यस्तो देख्दा लाग्थ्यो, मेरो गाउँमा पनि स्वास्थ्य चौकी भएको भए बिरामीको अकालमै मृत्यु हुने थिएन।
गाउँको अवस्था देखेर नै मैले एसएलसीपछि अहेव पढ्ने निधो गरेको हुँ। सायद गाउँको म नै पहिलो अहेव पढेको व्यक्ति होला। मेरो बुबा आर्मी हुनुहुन्थ्यो। उहाँले मलाई जुनसुकै विषय पढ्न पनि स्वतन्त्र छोडिदिनुभएको थियो। त्यसैले मलाई स्वास्थ्यतर्फ लाग्न कुनै अवरोध भएन।
अहेव भइसकेपछि २०३९ सालमा पहिलो पटक आफ्नै गाउँ नजिकको पिडीखोला हेल्थ पोस्टमा काम गर्ने मौका मिल्यो। त्यहाँ केही वर्ष काम गरिसकेपछि चापकोट हेल्थ पोस्टमा काम गर्ने मौका मिल्यो। म काम गर्न जाँदा चापकोटमा हेल्थपोस्ट बनिसकेको थियो।
सुरुमा स्वास्थ्यकर्मीले घर–घर पुगेर सेवा दिनुपथ्र्याे। धेरैजसो चिनजानका हुनाले हेल्थ पोस्टमै बोलाउन आउँथे। पछि विस्तार–विस्तार गाउँलेहरु उपचारका लागि हेल्थ पोस्टमा नै आउन थाले।
आफ्ना कुरा खुलेर नगर्ने बिरामी पनि खुल्न थाले। रोगको बारेमा भन्नै नचाहनेहरु पनि चिनजान हुन थालेपछि सबै कुरा बताउन थाले। अनि काम गर्न पनि सजिलो हुँदै गयो।
अविष्मरणीय घटना
मर्खरै हेल्थ पोस्टमा काम गर्न सुरु गरेको बेला थियो। नजिकैको गाउँमा झाडापखाला फैलिएकोले म र एक जना साथी औषधि बोकेर गाउँ गयौं। हामी पुग्दा त्यो गाउँका बिरामीको हालत निकै बिग्रिएको थियो। धेरैको दिसामा रगत देखिएको थियो। बुढादेखि बच्चासम्म सबैलाई झाडा–पखलाले गाँजेको थियो।
हामीले बिरामीलाई औषधि दियौं। हामीले दिएको औषधि र जीवनजलले सिकिस्त बिरामी पनि निको हुन थाले। हामीले दिएको औषधिले काम गर्यो। गाउँका मान्छे धेरै खुसी भए, हामीलाई ठूला डाक्टर भनेर सम्मान पनि गरे। त्यो घटना सम्झँदा अहिले पनि खुसी लाग्छ।
चापकोट हेल्थ पोस्टमा काम गर्ने बेलामा २ जना नर्स तालिमको लागि बाहिरा जानु भएको थियो। म हेल्थ पोस्ट जाँदै थिएँ, एक गर्भवतीलाई बच्चा पाउने व्यथा लागेको रहेछ। बाटोमा मलाई देख्नासाथ त्यो घरको आमाले बोलाउनु भयो।
म पुग्नेवित्तिकै बच्चा जन्मियो। त्यसबेला मेरो कपडाहरु सबै फोहोर भएको थियो। रगत लागेको थियो। घर फर्किन पनि टाढा िभएकाले त्यही फोहोर लुगा लगाएर दिनभरि बिरामी जाँचेको थिएँ।
अर्को एउटा घटनाको पनि मलाई अझै सम्झना छ। राति १० बजेको थियो, म र मेरी श्रीमती घरैमा थियौं। गाउँबाट हामीलाई बोलाउन मान्छे आए गर्भवतीलाई बच्चा पाउने व्यथा लाग्यो भनेर। हामी त्यहाँ गयौं, ती महिलाले १२ बजेतिर छोरो जन्माइन्।
छोरो जन्मिएको खुसीमा उनीहरु हामीलाई केही दिन चाहन्थे, तर उनीहरुको आर्थिक स्थीति राम्रो थिएन। खुसीले हामीलाई ५०÷५० रुपैयाँ दिएका थिए । त्यो पैसाले सुत्केरीलाई पोषिलो खानेकुरा खुवाउनु भनेर हामी निस्कियौं। त्यो बेलामा सबैले घरमा नै बच्चा जन्माउने चलन थियो। अस्पताल लैजानुपर्छ भन्ने चेतना थिएन।
इमर्जेन्सीमै बढी समय
३६ वर्षको अवधिमा मैले धेरैजसो समय इमर्जेन्सी वार्डमा बिताएँ। इमर्जेन्सीमा काम गर्दा धेरै समय दिनुपर्छ । मैले कहिलेकाहिं राति १२ बजेसम्म पनि काम गरेको छु।
वीरमा हुँदा २०६२/६३ सालको जनआन्दोलनमा थियो। कर्फ्यु लाग्थ्यो। त्यो बेलामा मैले पाँच दिनसम्म अस्पतालमै बसेर बिरामीको सेवा गरेको छु।
इमर्जेन्सीमा छिटोछिटो काम गर्नुपर्ने हुन्छ। बिरामीका आफ्न्तहरु हतारमा आउँछन् आफ्नो बिरामीलाई छिटो उपचार गरिदिए हुन्थ्यो भन्ने चाहना राख्छन् । बिरामीका आफन्तहरु झगडा गर्न पनि तयार हुन्छन्। त्यसैले शान्त भएर सबै काम समयमा नै गर्नुपर्ने हुन्छ।
(शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका जनस्वास्थ्य निरीक्षक थापासँग सिर्जना खत्रीले गरेको कुराकानीमा आधारित)