नेपाली फुटबल बृत्तमा चर्चित नाम हो रोहित चन्द। इन्डोनेसिया लिग वानको सन् २०१८ को सर्वोत्कृष्ट खेलाडी घोषित भएपछि उनको चर्चा झनै चुलिएको छ। सन् २०१२ देखि इन्डोनेसियाको लिग खेलिरहेका रोहित आबद्ध पेर्सिजा जाकर्ताले सन् २०१८ को उपाधि जितेको थियो। पेर्सिजालाई उपाधि जिताउने नेपाली मिडफिल्डर रोहितले ब्राजिलियन स्ट्राइकर डेभिड डा सिल्भा र पिएसएम माकासारका डच फरवार्ड विलियन जान प्लुइनलाई पछि पारेर सर्वोत्कृष्ट खेलाडीको अवार्ड हात पारेका थिए।
एसियाको लोकप्रिय र व्यावसायिक लिगमध्येको एक इन्डोनेसियन लिग वानमा सर्वोत्कृष्ट खेलाडी बन्नुको कारण रोहितले फुटबलप्रति देखाएको प्रतिबद्धता र मिहिनेत हो। किनकि उनले सन् २०१५ मा खेलकै दौरान घाइते हुँदा ११ महिना मैदान त्याग्नु परेको थियो। त्यतिबेला उनलाई लाग्थ्यो– अब कहिल्यै खेल्न सक्दिन कि ! तर उनीले हिम्मत हारेनन्, फिटनेस र स्वास्थ्यमा ध्यान दिए। सकारात्मक सोचका साथ उपचार गराइरहे। जसका कारण उनी ११ महिनापछि मैदान फर्किए। चोटबाट फर्किएको २ वर्षमा उनले जीवनकै ठूलो सफलता हात पार्न सफल भए।
मैदान बाहिर रहनुपरेको त्यो दिन रोहितले अझै बिर्सन सकेका छैनन्। विवादका कारण २०१५ मा इन्डोनेसियाको लिग हुन नसकेपछि रोहित मलेसियन क्लब तेरेङगानु एफसीको सम्पर्कमा पुगे। त्यही क्लबबाट मैत्रीपूर्ण खेलका दौरान घाइते हुन पुगे। देब्रे खुट्टाको घुँडामा लागेको चोटलाई सामान्य रुपमा लिँदै उनले एक साता रेस्ट गरेर प्लेअफ खेले। विजयी हुँदै क्लब सुपर लिगमा पनि पुग्यो। तर रोहितको खुट्टाको चोट भने झन् बल्झियो।
‘सुरुमा सामान्य घाइते भएका कारण खासै वास्ता गरिएन। हुन त एथलेटलाई मेरो जस्तो इन्जुरी भइरहन्छ। तर मेरो दुर्भाग्य भनौ, चोट विस्तारै बढ्यो। मलेसियामा मैत्रीपूर्ण खेल खेल्ने क्रममा एक खेलाडीले नराम्रो ट्याकल गरे। त्यसपछि अलि असहज भयो,’ रोहित सम्झन्छन्। त्यो खेलमा खुट्टा निकै दुखेको अनुभव गरेपछि रोहितले मैदान छाडेका थिए।
त्यसपछि एक हप्ता आराम गरे। सामान्य अभ्यास गरे। दुखाइ कम हुँदै गएको महसुस भएपछि उनले एक साता प्लेअफ खेले। पूरा समयको खेल खेल्दासम्म ठिकठिकै थियो। खेल सकिएपछि दुखेको जस्तो भयो। अर्को दिन दुखाइ बढ्यो। रोहितले तत्काल क्लबलाई जानकारी गराए। एमआरआई गरेपछि मसल च्यातिएको थाहा भयो।
एक सातापछि उनको मलेसियामा शल्यक्रिया भयो। शल्यक्रियाको खर्च बिमाबाट तिरिएको थियो। त्यतिबेला शल्यक्रिया गर्न साढे १३ लाख रुपैयाँ लागेको थियो। बिमा नभएको भए उनले आफैं उपचार गर्नसक्ने अवस्था थिएन। त्यहाँ बसेर रिह्याव र थप उपचार गर्न सहज नभएपछि उनी तीन दिन बेड रेस्ट गरेर बैसाखीको सहारामा नेपाल फर्किए। तत्काल ग्रान्डी अस्पतालामा गए। त्यहीँ दैनिक फिजियोथेरापी र रिह्याव गर्न थाले।
उनको चोट खेलाडीलाई हुने मुख्य चोटमध्ये हो। अझ नेपाल जस्तो देशमा यस्तो चोटबाट सहज रुपमा खेलमा फर्कन कठिन हुने रोहितले बुझेका थिए। कहिलेकाहीँ भने उनी विचलित हुन्थे। उनी भन्छन्, ‘नेपालमा मेरो जस्तो इन्जुरी भएका खेलाडी राम्रोसँग पुनरागमन गर्न सकेका छैनन्। म पनि खेलमा फेरि फर्कन सक्दिनँ कि भन्ने लाग्थ्यो। तर विस्तारै रिकभर गर्न थालेँ। रिह्याव र फिजियोमा ध्यान दिन थालेँ। जसले गर्दा खेलमा फर्कन सक्छु भन्ने महसुस गर्न थालेँ। किनकि खेलमा फर्कन मैले थप मिहिनेत गर्ने गरेको थिएँ।’
नेपालका नामी खेलाडीमध्येका एक रोहित बैसाखीको सहारले हिँडडुल गर्नुपर्दा फुटबललाई धेरै ‘मिस’ गर्थे। त्यतिबेला राष्ट्रिय टिमले पनि बंगबन्धु गोल्ड कप र साग फुटबलमा स्वर्ण जितेको थियो। जसले गर्दा उनले फुटबल झन् मिस गरेका थिए। ती प्रतियोगितामा नेपालबाट खेल्न नपाउँदा मनमा पिर त छँदै थियो, जसरी पनि खेलमा फर्कन्छु भन्ने इच्छाशक्ति पनि हुर्किरहेको थियो। निरन्तर अभ्यास र सकारात्मक सोचले उनी ४ महिनामा अलिअलि जगिङ गर्न सक्ने भए। त्यसपछि आफैँ अभ्यास गर्न थाले। फिजियोले दिएका टिप्सहरुलाई पछ्याएर मैदानमा गएर निरन्तर अभ्यास गरिरहन्थे।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा राष्ट्रिय टिमको अभ्यास चलिरहेको हुन्थ्यो। रोहित भने एक कुनामा आफ्नै अभ्यासमा व्यस्त हुन्थे। ‘त्यही बेला मैदानमा अभ्यास गरिरहेका साथीहरुलाई मनमनै भन्थेँ, समय लिएर पूर्ण निको हुन्छु। अनि यसैगरी साथीसँग अभ्यास गर्छु,’ उनले त्यतिबेलाको प्रतिबद्धता सुनाए।
घाइते भएको ९ महिना पुग्दा पनि रोहितले मैदान फर्कने आँट गरिसकेका थिएनन्। त्यति नै बेला उनी भारतीय फुटबलर निर्मल क्षेत्रीको सम्पर्कमा पुगे। उनले भारतमा गएर थप उपचार गर्ने सल्लाह दिए। रोहित भन्छन्, ‘निर्मल दाइले भारतमा राम्रो ट्रेनर र फिजियो छ, उसले निको बनाउन सक्छ भन्ने सल्लाह दिएपछि १५ दिनका लागि भारत गएँ।’
भारत पुगेपछि उनको खेलमा फर्कनसक्ने आशा थपियो। उनलाई उपचार गराएका ब्राजिलियन फिजियोले समान्य तरिकाबाट उत्प्रेरणा जगाइदिए। फिजियोले रोहितलाई भन्थे गर्थे, ‘९ महिना भइसक्यो, अहिलेसम्म किन नखेलेको ? अब खेल्न सक्छौ।’
भारतबाट फर्किएपछि उनी मैदान फर्कन तयार भए। सुरुमा उनी एन्फा एकेडेमीका किशोर फुटबलरसँग खेल्न थाले। फलस्वरुप उनले १० महिनापछि राष्ट्रिय टिमको बन्द प्रशिक्षण परे। एक महिना बन्द प्रशिक्षणमा बसेपछि उनी मैदानमा फर्कन तयार भए।
सन् २०१७ मार्च २८ मा उनी अफिसियल खेलका लागि मैदान उत्रिए। घाइते भएको ११ महिनापछि मैदान उत्रिँदा उनी पहिलो रोजाइमै परेका थिए। एसियन कप छनोटअन्तर्गत फिलिपिन्सविरुद्धको खेलमा रोहितले पूरा समय खेलेका थिए। फिलिपिन्सको रिजाल मेमोरियल मैदानमा भएको खेलमा नेपाल ४–१ ले पराजित भएको थियो।
लगत्तै उनी इन्डोनेसियन क्लब पेर्सिजा जकार्तामा आबद्ध भए। उनी अन्तिम समय टिममा आबद्ध भएका थिए। चोटबाट भर्खर फर्किएका रोहितका लागि इन्डोनेसियामा गएर खेल्नु चुनौतीपूर्ण थियो। ‘इन्जुरीबाट भर्खर फर्किएर इन्डोनेसियाको प्रतिस्पर्धात्मक लिग खेल्दा केही समस्या हुन्छ कि भन्ने डर हुन्थ्यो। मेरो खेल्ने स्टाइल अलि टफ थियो। जसले गर्दा खुट्टामा केही हुन्छ कि भन्ने लाग्थ्यो,’ रोहितले सुनाए, ‘इन्जुरीपछि कमब्याक गर्न सक्दिनँ कि भन्ने त थियो तर मैले कहिल्यै हार मानिनँ। रिह्याव र फिजियो गर्नमा सम्झौता गरिनँ।’
हुन पनि उनलाई सुरुसुरुमा अलि गाह्रो नै भयो। तर मिहिनेत र सकारात्मक सोचलाई मूल मन्त्र बनाए। विस्तारै लयमा फर्कन सफल भए। उनी मैदान छिरेपछि आफ्नो खुट्टामा चोट लागेको छ भन्ने बिर्संन्थे, खेलमै बढी केन्द्रित हुन्थे। उनले भने, ‘खेल्दा खुट्टा जोगाउँछु भन्ने सोचिँदैन। खेलमै केन्द्रित हुने गरिन्छ।’ त्यसैले उनी सफल भए।
२०१७ को सिजनमा पेर्सिजामा अब्बल प्रदर्शन गरेपछि रोहितलाई पेर्सिजाले २०१८ को सिजनका लागि आबद्ध गर्यो। २०१८ कै सिजन हो, रोहितको सफलताको ग्राफले रफ्तार पक्डेको। जुन सिजन पेर्सिजाले मात्र होइन, रोहितले पनि जीवनकै ठूलो उपलब्धिलाई चुमे।
२०१८ को सुरुवातमै उनले एएफसी कप खेल्ने मौका पाए। पहिलो र दोस्रो भएका टिमको मापदन्ड नपुगेकाले तेस्रो र चौथो टिमले कप खेल्ने मौका पाएका थिए। पेर्सिजा एएफसी कपको आसियान जोनको सेमिफाइनलमा पुग्न सफल भयो। जुन क्लबको लक्ष्यभन्दा माथिको उपलब्धि हो।
२०१८ को सुरुवातमा एकदमै व्यस्त समय तालिका भएकाले पेर्सिजाले प्रेसिडेन्ट कप र एएफसी कप सँगसँगै खेलेको थियो। बीचमा लिगका खेलका लागि भ्रमण गरिरहनुपथ्र्यो।
पेर्सिजा प्रेसिडेन्ट कपको फाइनलमा पुग्न सफल भयो। जकार्ताको बुङ कार्नो रंगशालामा ७० हजारभन्दा बढी दर्शकका बीच पेर्सिजाले बाली एफसीविरुद्ध फाइनल खेल्यो। एएफसी च्याम्पियन्स लिगको प्लेअफ खेलेर आएको बलियो बालीविरुद्ध रोहितले उच्च प्रदर्शन गरे। सो खेलमा उनले २ एसिस्ट गरेका थिए।
पेर्सिजाले रोहितलाई ‘बक्स टु बक्स’ मिडफिल्डरको जिम्मेवारी दिएको थियो। विपक्षीविरुद्ध आक्रमण गर्न सपोर्ट गर्ने र डिफेन्समा ध्यान दिने जिम्मेवारी उनको थियो। टिमलाई सबैतिरबाट सहयोग गर्ने थियो। टिममा तीन जना मिडफिल्डरमध्ये एक आक्रामक र अर्का रक्षात्मक थिए।
‘मैले आफ्नो पोजिसनमा फिट हुनका लागि कडा मिहिनेत गरेको थिएँ। प्रशिक्षणदेखि मैदानमा हरेक कुरामा एकदमै गम्भीर थिएँ। त्यसैले प्रशिक्षकले मलाई एकदमै विश्वास गर्थे। मेरो पोजिनसमा खेल्ने अरु पनि थिए। तर मैले जस्तो अरुले टिमलाई सपोर्ट गर्न सक्दैनथे,’ आफ्नो भूमिकाबारे रोहितले प्रस्ट्याए। सिजनमा उनले मिडफिल्ड मात्र खेलेनन्, लगभग सबै पोसिजनमा मैदान सम्हाले।
अन्तिम खेल जितेर च्याम्पियन बनेपछि पेर्सिजाका खेलाडी खुसी मनाइरहेका थिए। त्यति नै बेला ‘मोस्ट भ्यालुएबल खेलाडी’ को रुपमा रोहितकै नाम घोषणा भयो। तर उनले थाहा पाएनन्। इन्डोनेसियन भाषामा नै भनिएकाले बुझेनन् सायद। ‘पछि साथीहरुले तानेर मञ्चमा पु¥याएपछि बल्ल चाल पाएँ, म त इन्डोनेसिया लिग वानको सर्वोत्कृष्ट खेलाडी भएछु।’
घाइते भएर मैदान फर्किएको दुई वर्षपछि करिअरकै ठूलो सफलता हात पारेका रोहितलाई कतिपयले सोध्ने गर्छन्, ‘उत्कृष्ट कमब्याक कसरी सम्भव भयो?’ उनको सुझाव हुन्छ, ‘रिह्याव र अभ्यास सही तरिकाबाट सम्झौता नगरी गर्नुपर्छ। सकारात्मक सोच राख्यो भने पनि रिकभर सहज रुपमा गर्न सकिन्छ।’
यही मन्त्रलाई पछ्याएका रोहित अहिले पूर्ण फिट छन्। उनलाई शल्यक्रियाले ठूलो पाठ सिकाएको छ। उनलाई लाग्छ, ‘सर्जरी गरेको खुट्टा चाहिँ बलियो छ।’