काठमाडौं- संघीय संरचना अनुसार यसअघि बनाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यान्वयनमा समस्या आएपछि नयाँ संरचना बनाउने काम अगाडि बढाइएको छ।
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको निर्देशन अनुसार मन्त्रालयले नयाँ संगठन संरचना निर्माणको काम अगाडि बढाएको हो। मन्त्रालयका उच्च तहका कर्मचारीहरुले नयाँ संगठन संरचनाको मस्यौदा समेत तयार पारेर मन्त्री यादवलाई बुझाएका छन्।
मन्त्री सचिवालयले स्वास्थ्यखबरलाई उपलब्ध गराएको नयाँ संरचनाको मस्यौदा अनुसार स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवाबाट नै दुई जना सचिव राख्ने प्रस्ताव गरिएको छ। स्वास्थ्यमा २ सय ९३ जना सहसचिव तहका कर्मचारी रहँदै आएकाले २ जना सचिवको प्रस्ताव गरिएको मन्त्रालयका प्रमुख विशेषज्ञ डा सुशिलनाथ प्याकुरेलले जनाकारी दिए।
‘नयाँ संगठन संरचनाको काम अगाडि बढेको पक्कै हो,’ उनले भने, ‘प्रशासन, इन्जिनियरिङ लगायतका सेवामा भन्दा स्वास्थ्यमा धेरै कर्मचारी रहेकाले सचिवको संख्या पनि थप गरेर संगठन संरचनाको प्रस्ताव गरिएको छ।’
हालसम्म स्वास्थ्य सेवाका सहसचिवमध्ये १ जनाले मात्र सचिव हुने अवसर पाउँछन्। प्रशासन सेवामा २ सय ५५ जना सहसचिवको दरवन्दी भए पनि उक्त समूहबाट ४० जना र इन्जिनियरिङ समूहबाट १२ जना सचिव हुने अवसर पाउछन्।
५६ पदमा १ सय ७० दरवन्दी
नयाँ संरचनामा मन्त्रालयमा विभिन्न ५६ पदमा १ सय ७० जनाको दरवन्दीको प्रस्ताव गरिएको छ। हाल कार्यान्वयनमा रहेको संरचना अनुसार मन्त्रालयमा अहिले १ सय ६ जनाको दरवन्दी रहेको छ।
प्रमुख विशेषज्ञ डा प्याकुरेलले विश्व स्वास्थ्य संगठनको सिफारिस अनुसार कम्तिमा १० प्रतिशत बजेट विनियोजना हुने हो भने अहिले प्रस्ताव गरिएको नयाँ दरवन्दी पनि कम हुने बताए। ‘अहिले हामीसँग ४ प्रतिशत हाराहारिमा मात्र बजेट भएर मात्र दरवन्दी धेरै भयो भन्ने कुरा आएको हो,’ उनले भने, ‘तर, आजको अवस्ता भोलीका दिनमा त रहँदैन। भोलीका दिनमा स्वास्थ्यमा कम्तिमा १० प्रतिशत बजेट त विनियोजन हुनैपर्छ। त्यही भएर दीर्घकालिन सोचका साथ नयाँ संरचनाको प्रस्ताव गरिएको हो।’
१२ औं तहको दरवन्दी थप
नयाँ संरचनाको मस्यौदा अनुसार मन्त्रालयमा १२ औं तहका दरवन्दी समेत थप गरिएको छ। मन्त्रालयमा हाल १२ औं तहको २ वटा दरवन्दी छ। तर, नयाँ संरचनामा मन्त्रालयमा उक्त संख्या बढाएर ४ पुर्याइएको छ।
स्वास्थ्य सेवा विभाग नहुने, मन्त्रालयमा ४ विभाग
नयाँ संरचना अनुसार स्वास्थ्य सेवा विभाग खारेज हुने छ। विभागसँगै स्वास्थ्यका विभिन्न केन्द्रहरु समेत खारेज गर्ने प्रस्ताव गरिएको छ। विभाग र माताहतका केही महाशाखा र केन्द्रहरुलाई मिलाएर राष्ट्रिय रोग रोकथाम तथा नियन्त्रण केन्द्र राख्ने प्रस्ताव गरिएको छ। यो केन्द्रको महानिर्देशक १२ औं तहको कर्मचारी हुने छन्।
विभाग र केन्द्रहरु खारेज गरेर रोग नियन्त्रण केन्द्र बनाउँदा पहिला रहेको दरवन्दीबाट ३१ जना दरवन्दी घट्ने छ। हाल विभाग, महाशाखा र केन्द्रहरुमा रहेको २ सय २६ दरवन्दी रहेको छ। रोग नियन्त्रण केन्द्रमा १ सय ९५ जना दरवन्दी राख्ने प्रस्ताव गरिएको छ।
नयाँ संरचनामा स्वास्थ्य मन्त्रालयमा विभिन्न ४ वटा विभाग राख्ने प्रस्ताव पनि गरिएको छ। १२ औं तहका कर्मचारी प्रमुख रहने गरी नयाँ संरचनामा यी ४ विभागको प्रस्ताव गरिएको छ।
१. नीति, योजना, आधारभूत स्वास्थ्य र सूचना प्रविधि विभाग
२. चिकित्सा अनुगमन, गुणस्तर, मापदण्ड तथा नियमन विभाग
३. मेडिकल तथा नर्सिङ शिक्षा, परिषद् र प्रतिष्ठान नियमन विभाग
र,
४. जनसंख्या, वातावरण तथा परिवार कल्याण विभाग
मन्त्रालयमा १३ महाशाखा
नयाँ संगठनको मस्यौदामा मन्त्रालयमा अब १३ वटा महाशाखा राख्ने प्रस्ताव गरिएको छ। हाल मन्त्रालयमा ६ महाशाखा छन्। नयाँ संरचनामा ७ वटा महाशाखा थप गरेर १३ पुर्याउन लागिएको हो।
यी हुन् प्रस्तावित १३ महाशाखा
१ नीति, योजना तथा अन्तर्राष्ट्रिय सहयोग महाशाखा
२ आधारभूत तथा आपतकालिन स्वास्थ्य महाशाखा
३ सरकारी स्वास्थ्य संस्था अनुगमन, गुणस्तर, मापदण्ड तथा नियमन महाशाखा
४ मेडिकल तथा नरसिंग शिक्षा, परिषद र प्रतिष्ठान नियमन महाशाखा
५ स्वास्थ्य समन्वय महाशाखा
६ जनसंख्या व्यवस्थापन महाशाखा
७ स्वास्थ्य सूचना तथा प्रविधि महाशाखा
८ औषधि तथा फार्मेसी महाशाखा
९ गैह्रसरकारी स्वास्थ्य संस्था अनुगमन, गुणस्तर, मापदण्ड तथा नियमन महाशाखा
१० नर्सिङ सेवा तथा सामाजिक सुरक्षा महाशाखा
११ प्रशासन महाशाखा
१२ वातावरणीय तथा प्रबर्धनात्मक स्वास्थ्य महाशाखा
१३ परिवार कल्याण महाशाखा